शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘सुन’ प्रकरण: इल्ताफले भने– ‘पेस्तोल र चाँदी मेरो हैन, भारतीयलाई थाहा छ’

शनिबार, ३१ साउन २०७७, ०० : ४०
शनिबार, ३१ साउन २०७७

काठमाडौँ । सुन्धाराबाट बरामद साढे १४ किलो चाँदी र आधाकिलो सुन तस्करीका योजनाकार मध्येका एक हुन्, बाराका इल्ताफ हुसेन अन्सारी । बाराको कञ्चनपुरमा लुकेर बसेका अन्सारीलाई विहिबार रौतहट जाँदै गर्दा प्रहरीले पक्रियो । 

साउन १३ मा इल्ताफले चलाएको बा.६च ५५१९ नम्बरको स्कोर्पियोबाट भारतीय नागरिक निलेश शखिया सुन्धारामा ओर्लिए । ‘सुन अप्रेशन’मा खटिएका प्रहरी जवान बहादुरसिंह कठायतलाई साढे १४ किलो चाँदी र आधाकिलो सुनको झोला दिएर निलेश भागे । सुन बोक्न प्रयोग हुने ‘विशेष झोला’ बाट प्रहरीले ‘न्यू ब्राण्ड’ २ थान चाइनिज पेस्तोल बरामद गरेको थियो । 

महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरीको ठूलो मेहनतबाट पक्राउ परेका इल्ताफले ‘सुन–चाँदी आफ्नो नभएको र त्यसबारे दुईजना भारतीय नागरिक सञ्जय पटेल र निलेश सखियालाई थाहा भएको’ बयान दिएका छन् । 

‘झोलामा फेला परेको दुई थान पेस्तोलबारे पनि आफूले थाहै नपाएको हामीलाई बताएका छन्,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले रातोपाटीसँग भने– ‘इल्ताफले सञ्जयको अनुरोधमा स्कोर्पियोमा उनीहरुलाई वीरगञ्जसम्म छाड्न लागेको जिकिर गरेका छन् ।’

भारतको रिसर्च एण्ड एनालाइसिस विङ (रअ) र पाकिस्तानी गुप्तचर एजेन्सी इन्टर सर्भिस इन्टेलिजेन्स (आईएसआई) दुवैसँग डबल क्रस भूमिका खेलेपछि बाराका अन्सारी भारतीय खुफियाको ‘मोस्ट वाण्टेड’ सूचीमा छन् । 

त्यसैले उनी भारत जान सकेनन्, बाराको कञ्चनपुरस्थित आफन्तको घरमा लुकेर बसे । आफ्नो लोकेशन प्रहरीले पत्ता लगाएको सुराकपछि इल्ताफ मोटरसाइकल चढेर गौर जाँदै गर्दा पक्राउ परेका हुन् । 

गुजरातका सुन व्यापारी सञ्जय पटेल र इल्ताफको बीचमा १ वर्षअघि चिनजान भएको थियो । भारतीय नागरिक निलेशसँग उनको लकडाउन शुरु हुनुअघि न्यूरोडमा चिनजान भएको महानगरीय अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले बताए ।  

निलेशले प्रहरी र सुनको लगानीकर्ता सञ्जयसँग ‘डबल क्रस’ भूमिका खेलेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । सञ्जयसँग निलेशले सक्कली सुन किन्ने पैसा लिएको तर, देवान र कौशल पटेलसँग मिलेर चाँदीमा सुन लेपन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुनका लगानीकर्ता भनिएका सञ्जय फरार छन् । 

इल्ताफको बयानसँगै सुन प्रकरणमा नयाँ ट्विस्ट आएको छ । निलेशनले सञ्जयसँग सुनको पैसा पहिल्यै लिएको तर, नक्कली बनाएर प्रहरीसँग मिलेर लुटाउन खोजेको अनुसन्धानबाट थाहा भएको छ । 

‘इल्ताफले अस्विकार गरेपनि सञ्जय र इल्ताफलाई झोलामा सक्कली सुन छ भन्ने थियो,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने– ‘तर, निलेश चाहिँ प्रहरी र देवानका दाजुभाईसँग मिलेको देखिन्छ ।’ 

भारतीय नागरिक कौशल पटेल र देवानले चाँदीमा सुनको लेपन लगाउने जिम्मा लिएका थिए । सुन वीरगञ्ज हुँदै भारत जान लागेको सुराक कौशलले दरबारमार्ग प्रहरी वृतका जवान बहादुरसिंह कठायतलाई दिएपछि सो सूचना प्रशन्न श्रेष्ठसम्म पुग्यो । 

अनि, दरबारमार्ग वृत्तका तत्कालिन डीएसपी रञ्जन दाहाल नेतृत्वको टोलीले ‘सुन अप्रेशन’ गरेका थिए । सो अप्रेशन विवादमा परेपछि डीएसपी दाहाललाई त्यहाँबाट हटाइएको छ । 

अपराध र पैसा 

जाली नोट कारोबारका पटके कारोबारी इल्ताफ हुसेन अन्सारी अपराधको दुनियाँमा ‘ब्राण्डेड’ खेलाडीको रुपमा चिनिन्छन् । वीरगञ्ज राधेमाई पछाडी ‘ह्वाईट हाउस’ नामको घर छ, त्यो इल्ताफको घर हो ।  

नक्कली भारतीय रुपैयाँ कारोबारका मुख्य नाइके हुन् डी. कम्पनीका दाउद इब्राहिम । पाकिस्तानमा उनी बस्ने घरलाई ‘ह्वाइट हाउस’ भनेर चिनिन्छ । इल्ताफ आफूलाई ‘नेपालको दाउद’ दावी गर्छन् ।  इल्ताफमाथि तिनै दाउद र पाकिस्तानी गुप्तचर निकाय आईएसआईका सहयोगीको रुपमा काम गर्ने गरेको आरोप छ । 

कतिपय अवस्थामा उनी ‘रअ’को लागि पनि काम गर्थे । भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनालाईसिस विङ (रअ)सँग उनले डबल क्रस भूमिका खेलेपछि ०७६ मा उनको हत्या प्रयास भयो । 

‘रअ’को इशारामा इल्ताफलाई गोली हान्न खोज्ने पर्साका सन्तोष तक्मासँग पर्सा प्रहरीको मुठभेड भयो । त्यतिबेला पर्साका प्रहरी उपरीक्षक (एसपी) थिए सोमेन्द्रसिंह राठौर । हतियार बोकेर हिँडेको भेटेपछि पर्सा प्रहरीले गोली चलायो, सन्तोष तक्मा घाइते भए । अहिले, सन्तोष कर्तव्यज्यान तथा हातहतियार मुद्धामा सुन्धारास्थित केन्द्रीय कारागारमा छन् । 

‘रअ’ र ‘आईएसआई’को बीचमा दोहोरो भूमिका खेलेपछि भारतीय खुफिया एजेन्सीले उनीबिरुद्ध सन्तोषलाई प्रयोग गरेको इल्ताफबारे जानकार एक उच्च प्रहरी अधिकृतले रातोपाटीलाई जानकारी दिए ।  

जाली नोट कारोबारका ‘बादशाह’ मानिने इल्ताफले अपराधबाट मनग्ये पैसा पनि कमाए । करोडौं कालो धनलाई उनले सेतो बनाएका छन् । बाराको जितपुरमा इल्ताफको दुईवटा घर छ । वीरगञ्ज राधेमाईमा ‘ह्वाइट हाउस’ नामको भव्य महल बनाएका छन् । 

सुन तस्करीमा प्रयोग गरेको बा.६च ५५१९ नम्बरको स्कोर्पियो गाडी उनले दिदी फुल्नाज बेगमको नाममा राखेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ । ०६७ मा इल्ताफको नामबाट सो गाडी फुल्नाजको नाममा नामसारी भएको छ ।  

सुन–चाँदी वीरगञ्ज लाँदै गर्दा सो गाडी इल्ताफ आफैंले चलाएको थिए । अगासड सिटमा बसेका सखिया सुनको पोको बोकेर सुन्धारामा झरे । पछाडि सिटमा बसेका सञ्जय र इल्ताफल त्यहाँबाट प्रहरीको आँखा छलेर फरार भएका थिए । 

बाराको परवानीपुरमा उनको पेट्रोल पम्प छ,– ‘अल्ताफ आयल स्टोर ।’ उनको नाममा एउटा पेट्रोल ट्यांकर र ललितपुरको नख्खिपोटमा एउटा घर छ । ०६८ मा काठमाडौँको बिजुली बजारमा बलराम पटवारलाई गोली हानेर हत्या गरेको मुद्धामा २ वर्ष जेल बसेपछि उनले पुनरावेदन अदालतबाट सफाइ पाएका थिए । 

जाली नोट कारोबारमा जिल्ला अदालत ललितपुरले ०६७ जेठ २६ मा इल्ताफलाई ३ वर्ष कैद र २ करोड ६१ लाख  जरिवाना हुने फैसला गरेको थियो । फैसलाको पाँच वर्षपछि ०७२ जेठ ३० मा उनी सातदोबाटोबाट पक्राउ परे । जेलबाट छुटेपछि उनी सुन तस्करीमा सिफ्ट भएका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप