सीआईबीको नाममा ठगी गर्न खोज्ने एक पत्रकार पक्राउ
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नाममा ठगी गर्न खोज्ने एक पत्रकार पक्राउ परेका छन् । आलोचना साप्ताहिकका पत्रकार शंकर प्रसाद अधिकारी पक्राउ परेका हुन् ।
अधिकारीले काठमाडौँका एक व्यवसायीलाई डरधम्की देखाई ठगी गर्न खोजेको अनुसन्धानबाट खुलेको सीआईबीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुल थापाले रातोपाटीलाई जानकारी दिए ।
अधिकारीले ‘अख्तियारमा मुद्दा परेको छ । उक्त मुद्दा सदर भइ पक्राउको लागि सीआईबीमा पत्राचार भएको छ । मुद्दा हेर्ने सीआईबीका इन्सपेक्टरलाई ५ लाख दिएमा मुद्दा ढुस बनाइदिन्छ । नत्र कुनै पनि समयमा तपाईंलाई प्रहरीले पक्राउ गर्छ,’ भन्दै डर धम्की दिने गरेको थापाले बताए ।
सीआईबीको नाममा रकम असुल गरी ठगी गर्न खोज्ने धादिङ निलकण्ठ नगरपालिका–१४ घर भएका २६ वर्षीय अधिकारीलाई सीआईबीको टोलीले बसुन्धाराबाट पक्राउ गरेको हो ।
अधिकारीले विभिन्न बहानामा अन्य व्यक्तिहरुलाई ठगी गरेको हुनसक्ने प्रहरीले जनाएको छ । आवश्यक कारबाहीको लागि अधिकारीलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको थापाले बताए ।