बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जनमैत्री अस्पताल सञ्चालन गर्न आग्रह, महानगरपालिकाले गर्‍यो पत्राचार

शुक्रबार, ३० साउन २०७७, १५ : ५६
शुक्रबार, ३० साउन २०७७

काठमाडौं । करिब ७ वर्षयता बन्द अवस्थामा रहेको राजधानीको बाजालुस्थित जनमैत्री अस्पताल खुलाउन पहल थालिएको छ । विश्वप्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण काठमाडौं उपत्यकाका पनि प्रभावित भएर उपचारका लागि संक्रमितले उपचार पाउन नसकेको भनिएको बेला सो अस्पताल खुलाउन पहल थालिएको हो । काठमाडौं महानगरपालिकाले बन्द अवस्थामा रहेको जनमैत्री अस्पताल सञ्चालन गर्न पहल थालेको हो । 

महानगरपालिकाको तर्फबाट वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले अस्पताल व्यवस्थापनलाई पत्राचार गर्दै अस्पताल सञ्चालन गर्न आग्रह गरेका हुन् । कोभिड–१९ (कोरोनाभाइरस) को संक्रमणका  दिनानुदिन बढ्दै गइरहेको र अस्पताल सञ्चालनमा आए केही भएपनि संक्रमण न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ । 

‘संक्रमणको दर दिनानुदिन बढ्दै गइरहेको र यही क्रममा संक्रमण बढ्दै जाँदा  संक्रमितहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउन समेत कठीन हुने सम्भावना रहेको सन्दर्भमा जनमैत्री अस्पताल हाल बन्द रहेको हुँदा उक्त अस्पताल सञ्चालन गरी कोरोना संक्रमणको सम्भावित जोखिमलाई न्यूनीकरण, नियन्त्रण तथा व्यवस्थापन गर्न सहयोग गरिदिनु हुन अनुरोध छ’, पत्रमा भनिएको छ । 

अस्पताल सञ्चालन गर्दा कुनै समस्या उत्पन्न भए महानगरपालिकाका साथै वडाबाट समेत आवश्यक सहयोग हुने प्रतिबद्धता जनाइएको छ । अस्पताल सञ्चालन गर्न आग्रह गर्दै प्रेषित पत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौंलगायतलाई पनि बोधार्थ गरिएको छ । 

अत्याधुनिक भवन र ३०० शैया क्षमता भएको अस्पताल सञ्चालनमा ल्याउन सकिए बढ्दो कोरोनाभाइरस जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अध्यक्ष रिजालले विश्वास व्यक्त गरे । उनकाअनुसार तत्काल अस्पताललाई कोभिड अस्पतालको रुपमा विकास गर्न सके केही भनेपनि अहिलेको स्वास्थ्य संकटको सामना गर्न सहयोग हुनसक्छ । 

हाल ट्रस्टको रुपमा रहेको अस्पतालसँग पटक पटक सम्पर्कको प्रयास भएपनि सञ्चालनमा चासो नदिइएको रिजालको गुनासो छ । ‘हामीले उहाँहरुलाई सम्पर्कको प्रयास निरन्तर गरेका छौं । तर उहाँहरु स्पष्ट अडानका साथ प्रस्तुत भइरहनु भएको छैन’, रिजालले भने, ‘३०० बेड क्षमताको अस्पताल उहाँहरुले नचलाउने हो भने महानगरपालिकाले लिएर सञ्चालन गर्न पनि तयार छ ।’

कुनै बेला राजधानीको चर्चितमध्ये एक अस्पताल जनमैत्री अहिले प्रयोगविहीन अवस्थामा पुग्दै गर्दा फेरि सञ्चालनको पहल भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप