बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गोङ्गबु हत्याकाण्ड : ऋणमा थिइन् कल्पना, बोहरासँग लेनदेन देखिएन

शुक्रबार, ३० साउन २०७७, १२ : ३६
शुक्रबार, ३० साउन २०७७

काठमाडौँ । गोङ्गबुको नवज्योति मार्गस्थित किरण बस्नेतको घरमा कल्पना पौडेल (मुडभरी) डेरा लिएर बस्न थालेको चार वर्ष पुग्यो । आफन्त, परिवारलाई साक्षी राखेर सिउँदो रङ्ग्याउने मिनबहादुर मुडभरीसँग उनको साइनो टुटेको पनि ठ्याक्कै चार वर्ष पुग्यो ।

कल्पनाको जीवनमा अर्को संयोग छ, दाङका कृष्णबहादुर बोहरासँग उनको ‘दोस्ती’ बढेको पनि चार वर्ष भयो । भिजिट भिसामा दुबई र त्यसपछि अफगानिस्तानमा गएर पसिना बेचेका कृष्णबहादुर र काठमाडौँमा बस्ने कल्पना सामाजिक सञ्जाल (फेसबुक) मार्फत जोडिए । चार वर्षअघिको त्यो दोस्तीको कथा ‘हत्या’ मा पुगेर दुःखद अन्त्य भएको छ । 

शनिवार साँझ (२४ साउन) मा आफ्नो डेरामा आएका कृष्णबहादुरलाई कल्पनाले हत्या गरिन् । आइतबार बोहराको शव सुटकेशमा, टाउको र गोडा जेब्रा झोलामा भेटियो ।

हत्या आरोपमा पक्राउ परेकी कल्पनाको आर्थिक हैसियत कमजोर रहेको पाइएको छ । दुई छोरी र एक छोराको आमा कल्पनाले गत वर्ष जेठी छोरीको बिहेदान गरिन् । छोरीको विहेमा उनले २ लाख रुपैयाँ घरधनी किरण बस्नेतको आमासँग सापटी लिएकी थिइन् । सो पैसा फिर्ता गर्न कल्पनाले चितवनमा माईतीलाई जग्गा बेच्न आग्रह गर्दै आएको उनको बुवाले बताएका छन् । 

नवज्योती मार्गमा ‘झापाली दाई’ भनेर चिनिने किरण बस्नेत अमेरिका बस्थे । काठमाडौँमा उनकी आमा मात्रै बस्छिन् । किरणको आमाले साह्रो–गाह्रो पर्दा कल्पनाकै साथ लिने गर्थिन् ।

एक वर्षदेखि उनले आफ्नो डेरा (दूई कोठा, एक किचन)को भाडा तिरेकी थिइनन् । ‘आर्थिक अवस्था कमजोर देखिन्छ’ गोङ्गबु हत्या अनुसन्धान गरिरहेका एकजना प्रहरी अधिकृतले रातोपाटीसँग भने, ‘नियमित आम्दानीको स्रोत देखिँदैन् ।’

कल्पना र मिनबहादुरले कानुनीरुपमा सम्बन्ध बिच्छेद गरेका छैनन् । कान्छी छोरी गोङ्गबुको मानसिंह स्कूलमा कक्षा १० मा पढ्दै थिइन् । छोरा १३ वर्षका छन् ।

हतियार चलाउन सिपालु

कृष्णबहादुरको घाँटी र गोडा कल्पनाले एक्लै कसरी काटिन् भन्नेबारे प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ । ‘कुखुरा ल्याएर उनले काट्ने, तयार पार्ने गरेको छिमेकीले हामीलाई बताए,’ महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीले भने–‘काट्ने हतियार दाउ चलाउने कुशल शैली हत्या आरोपीमा देखियो ।’ 

कल्पनाको स्थायी पेशा थिएन । नवज्योती मार्गमा बस्ने छिमेकीलाई उनले भन्थिन्–‘म टेलिफिल्म खेल्छु ।’ ऋणमा चलेपनि उनको जीवनशैली भने राम्रै थियो । राम्रो लगाउँथिन, मिठो खान्थिन् । मदिरा पनि पिउँथिन् ।

उनले डिप्रेशनको औषधी पनि खाने गरेको प्रहरी बताउँछ ।


गेष्ट हाउसमा बस्थे बोहरा

मृतक कृष्णबहादर बोहराले दुईवटा बिहे गरेका छन् । कान्छी श्रीमती भारतको फरिदावासमा दुई छोरासँगै बस्छिन् । फरिदावादबाट आएर कान्छी श्रीमतीले बिहीबार पशुपति आर्यघाटमा बोहराको दाहसंस्कार गरिन् ।

दाङमा बोहराको आमा बस्छिन् । कहिलेकाँही आमा भेट्न जाने बोहरा परिवारसँग निकट थिएनन् । बालबच्चा र श्रीमती आफ्नै तरिकाले बसेका थिए । उनी चार बर्षदेखी काठमाडैंमा थिए ।

कृष्णबहादुरको काठमाडौंमा डेरा थिएन् । ०७६ कात्तिकदेखी उनि गोङ्गबु मित्रनगर स्थित नर्सिङ धाम गेष्ट हाउसमा बस्थे ।

नयाँ बजारस्थित एसआई मल्टिपर्पस गार्मेन्टमा मार्केटिङ मेनेजर थिए । कपडा दिने, पैसा उठाउने काम गर्थे ।

शनिवार साँझ ५ बजे बा ७२ प ५६४४ नम्बरको स्कुटरमा उनि कल्पनाको कोठामा गए । सो स्कुटर गार्मेन्ट मालिकको भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

लेनदेन देखिएन

टेलिशृङ्खला हर्के हवल्दारमा दुई ईपिसोड अभिनय गरेकी कल्पनाले दोहोरी साँझ खोल्न भनेर कृष्णबहादुरसँग पैसा लिएको शुरुवाती समयमा आशंका गरिएपनि प्रहरीको अनुसन्धानबाट सो तथ्य खुल्न सकेको छैन् ।

‘आर्थिक लेनदेन भएको कुरा खुलेको छैन’ अनुसन्धानमा संलग्न एक अधिकृतले रातोपाटीसँग भने । चिनजान भएको लामो समय भएपनि कृष्णबहादुर दोस्रो पटक मात्र कल्पनाको कोठामा पुगेका थिए । त्यसअघि उनीहरु बाहिर भेट्थे । पछिल्लो ६ महिनायता उनीहरु ‘रिलेशन’मा रहेको कल्पनाले प्रहरीलाई बयान दिएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप