शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्मचारी र सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ख्याल गरेर सेवा देऊः राष्ट्र बैंक

बिहीबार, २९ साउन २०७७, २२ : १३
बिहीबार, २९ साउन २०७७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नै खर्चमा बैंक तथा वित्तीय संस्थाले कोभिड–१९ सङ्क्रमण भएका र उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षण गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज विशेष परिपत्र जारी गर्दै कोरोनाको सङ्क्रमण दिनानुदिन बढ्दै गएकाले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी र सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमकितामा राखेर बैंकिङ सेवा प्रदान गर्न निर्देशन दिएको हो ।

बैंकले ‘कोभिड–१९ बाट सङ्क्रमित कर्मचारीलाई व्यवस्थितरुपमा घर, अस्पताल वा होटलमा सुरक्षित आइसोलेशनमा राख्न र सङ्क्रमितको  सम्पर्कमा आएकाको ‘कन्टयाक ट्रेसिङ’ गर्न भनेको छ । सङ्क्रमित कर्मचारीलाई  आवश्यकतानुसार घर वा होटलमा सुरक्षित तरिकाले राख्न र त्यसको सम्पूर्ण खर्चसमेत बैंक तथा वित्तीय संस्थाले नै व्यहोर्नुपर्ने निर्देशनमा उल्लेख छ । 

आइसोलेशन तथा क्वारेन्टिनमा रहेका सङ्क्रमित कर्मचारीको पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएपछि मात्र कार्यालय आउने व्यवस्था गर्न आग्रह गरिएको छ ।  केन्द्रीय बैंकले २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला र काठमाडौँ उपत्यकाभित्रका बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत कर्मचारीलाई आलोपालो प्रणालीबाट कार्यसम्पादन गराउनसमेत निर्देशन जारी गरेको छ । यस्तै बाँकी कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउनुपर्ने, हाजिरी हुने व्यवस्था गर्नुपर्ने र पूरा तलब दिनुपर्ने निर्देशनमा उल्लेख छ । 

 बैंकले घरबाटै काम गर्ने कर्मचारीको हाजिरीमा अतिरिक्त बिदा र ‘वर्क फ्रम होम’ उल्लेख गरी हाजिरी गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको आज जारी विज्ञप्तिमा उल्लेख छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप