बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा कोरोनाभन्दा सवारी दुर्घटनाबाट ज्यान गुमाउने ६ गुणा बढी

बिहीबार, २९ साउन २०७७, १९ : २१
बिहीबार, २९ साउन २०७७

विश्वव्यापी बनेको कोरोना भाइरसको संक्रमण दर नेपालमा बढ्दो छ । बिहीबारसम्म ९५ जनाले ज्यान गुमाएका छन । सुदूरपश्चिमको कैलाली जिल्लामा कोरोनाबाट मात्रै ४ जनाको मृत्यु भएको छ । तर त्यहाँ कोरोनाभन्दा यो अवधिमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या ६ गुणाले बढी छ । 

सरकारले गत चैत ११ यता देशव्यापी लक डाउन गरेपनि सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा २ दर्जन बढीले सवारी दुर्घटनामा ज्यान गुमाएका छन ।

अहिलेसम्म त्यहाँ कोरोना भाइरसबाट ४ जनाको मृत्यु भएको छ । भने सवारी दुर्घटनामा परी २७ जनाले ज्यान गुमाएका छन । कोरोना संक्रमणको दर कम त भएको छैन तर कोरोना भन्दा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या चैत यता २७ पुगेकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सरोज कुमार ठकुराठीले बताए ।

सवारी दुर्घटनाको दर कोरोना भन्दा खतरनाक रहेको उनले बताए । विगतमा सार्वजनिक सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढी हुने गरेकोमा लक डाउनको अवधिमा नीजि सवारी दुर्घटनामा बढी व्यक्तिको मृत्यु भएको उनको भनाई छ । लकडाउनको अवधिमा खुला सडक भएका कारण तिव्रगतिमा सवारी हाँक्नु र चेकजाँच केही खुकुलो भएका कारण पनि दुर्घटना भएको उनले बताए ।

आर्थिक वर्ष २०७५/०७६ मा दुर्घटनामा ७० जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष ०७६÷०७७ मा ६९ जनाको मृत्यु भएको थियो । चालु बर्षको श्रावण महिनामा मात्र ५ जनाले ज्यान गुमाएका छन् । कोरोना महामारीका कारण राजश्व संकलनमा भने गिरावट आएको छ । आर्थिक वर्ष २०७५/०७६ मा भन्दा गत आर्थिक वर्षमा कारवाहीमा पर्ने सवारीको संख्या कम रहेको छ ।

फलस्वरुप राजस्व संकलनमा पनि कमि आएको छ । आर्थिक वर्ष २०७५/०७६ मा एक करोड ६३ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएकोमा आर्थिक वर्ष ०७६/०७७ मा एक करोड ४५ लाख २६ हजार रुपैयाँ मात्रै राजश्व संकलन भएको उनले बताए ।

पछिल्लो समय लक डाउन खुकुलो भएसँगै देशका अन्य ठाउँमा पनि सवारी दुर्घटनाका घटनाहरु बढीरहेका छन् । सरकारले जिल्ला भित्र मात्रै सवारी सञ्चालनको निर्णय गरेपनि धेरै ठाउँमा पास लिएर एक जिल्लाबाट अर्को जिल्लामा जानेहरुको संख्या पनि बढिरहेको छ । संक्रमंण देखिएको ठाउँबाट अर्को ठाउँमा मानिसहरुको आवतजावत हुँदा कोरोना संक्रमणको दर पनि बढेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप