बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

चिया श्रमिकले दिए आन्दोलन गर्ने चेतावनी

बिहीबार, २९ साउन २०७७, १४ : २०
बिहीबार, २९ साउन २०७७

इलाम । उद्योगीले माग पूरा नगरे चिया श्रमिक आन्दोलन गर्ने चेतावनी दिएका छन् । दुई÷दुई वर्ष चिया श्रमिकको ज्याला वृद्धि हुनुपर्ने प्रावधान रहेको छ ।  उद्योगीले साविककै ज्याला दिएको र परिश्रमिकबाट तिर्ने सामाजिक सुरक्षा करको सामाजिक भत्ता श्रमिकलाई नै दिनुपर्नेलगायतका माग श्रमिकले राखेका छन् । उनीहरूले कोरोनाको महामारीका समय पनि काममा खटिदा पनि उद्योगीले सुरक्षाका सामग्रीसमेत नदिने गरेको गुनासो गरेका छन् ।
   
कोरोनाका कारण विश्वभरि नै महामारी फैलिए पनि चिया क्षेत्रका लागि भने ‘स्वर्णिम’ समय भएको श्रमिकले बताएका छन् । पछिल्लो समय हरियोपत्तीको मूल्य आकाशिएकाले उद्योगले चियाबाट उल्लेखिय फाइदा लिँदै रहेको श्रमिकले बताएका छन् ।  श्रम ऐन २०७४ को दफा १०६ मा प्रत्येक दुई वर्षमा न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने व्यवस्था छ तर २०७७ साउन १ देखि लागू हुने गरी चिया श्रमिकको पारिश्रमिक वृद्धि गर्नुपर्ने तथा पत्ती डबली समय अनुकूल वृद्धि गरिनुपर्ने व्यवस्था भए पनि अहिलेसम्म नियम कार्यान्वयनमा आएको छैन । 
    
विसं २०७५ साउन १ गतेदेखि वृद्धि भएको दैनिक १०७ रुपैयाँ बराबरको रकम २०७५ साउन १ गतेदेखि २०७६ वैशाख ३० गतेसम्मको २०७६ चैत मसान्तसम्ममा भुक्तानी दिइसक्ने भनी २०७६ वैशाख ३० गते सम्झौता भएकामा हालसम्म पनि चिया श्रमिकले नपाएको श्रमिकको गुनासो छ । 
    
श्रमिकले गत वर्ष श्रम ऐन कार्यान्वयनको माग गर्दै चिया क्षेत्र ठप्प गरी ४४ दिनसम्म सडक आन्दोलन गरेका थिए । विसं २०७६ वैशाख ३० मा चिया उद्योगीले ऐन कार्यान्वयन गर्ने सहमति जनाएपछि आन्दोलन टुङ्गिएको थियो । उक्त सहमतिमा २०७५ साउनदेखि २०७६ वैशाख ३० सम्मको ऐनअनुसार वृद्धि भएको दैनिक १०७ रुपैयाँ बराबरको ज्याला बगान मालिकले श्रमिकलाई २०७६ चैत मसान्तभित्रमा भुक्तानी दिने उल्लेख छ । यसपटक नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ, नेपाल चिया बगान श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदूर सङ्घको केन्द्रीय समितिले आन्दोलनमा जाने जनाएका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप