शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल-भारतबीचको बैठकमा के–के निर्णय होला ?

बिहीबार, २९ साउन २०७७, १३ : २४
बिहीबार, २९ साउन २०७७

काठमाडौं । नेपाल भारतबीच सचिवस्तरीय छलफल हुने भएको छ । सीमा विवाद, अयोध्याको राम मन्दिरलगायतका विवादले दुई देशबीचको दुरी बढिरहेका बेला बस्न लागेको यो बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अगामी भदौं १ गते दुई देश बीचमा छलफल हुन लागेको हो । यो छलफल नेपालमै हुने भनिएको छ । बैठकको नेतृत्व नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी र भारतको तर्फबाट नेपालस्थित भारतीय दूतावासका राजदूत विनयमोहन क्वात्राले गर्नेछन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले दुई देशबीचको बैठक नियमित बैठक भएको बताए । उनले नेपाल र भारतबीच संयुक्त निरीक्षण संयन्त्र अर्थात ज्वाइन्ट ओभरसाइट मेकानिज्मको बैठक बस्न लागेको तर कहिले बस्ने त्यसको मिति तय नभएको बताए ।

उनले भने, बस्ने कुराकानी भइरहेको छ तर कहिले बस्ने मिति तय भएको छैन, बस्ने मिति तय भएपछि मात्र यसको एजेण्डा तय हुनेछ ।’ बैठक एजेण्डाको बारेमा उनले केही बताउन चाहेनन् । तर भारतीय दूतावास स्रोतले भने भदौं १ गतेका लागि बैठक बस्ने तय भइसकेको र त्यसको तयारी भइरहेको जानाकरी दिएको छ । दूतावास स्रोतले पनि यो नियमित बैठक नै भएको बताएको छ । यसमा विकास साझेदारीका विषयमा मात्र छलफल हुने श्रोतको दाबी छ । दूतावास स्रोत भन्छ– ‘बैठकमा दुई जनाका बीचमा अनौपचारिक रुपमा सीमा विवाद, अयोध्यालगायतको विषयमा चर्चा भयो भने छुट्टै कुरा हो तर छलफलमा भारतको तर्फबाट त्यस्तो कुनै एजेण्डा छैन ।’

नेपाल–भारत बीचको अहिलेको हट इस्यु हो सीमा विवाद, छलफलको क्रममा नचाहेर पनि त्यो कुरा उठ्न सक्छ तर भारतले यो विषयमा छलफलकै लागि एजेण्डा नबनाएको दावी गरिएको छ । यद्यपि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा विवादलगायतका विषयमा भारतसँग छलफलका लागि प्रयास जारी राखेका छन् । उनले आफ्ना विभिन्न च्यानल प्रयोग गरेर भारतसँग वार्ताका लागि कुराकानी अगाडि बढाएका छन् ।

यसका लागि उनले नेपालस्थित भारतीय दूतावासलाई पनि माध्यम बनाएको तर भारतको तर्फबाट कुनै रेसपोन्स नआएको गुनासो गर्दै आएका छन् । भारतले लिपुलेकमा एकतर्फी रुपमा सडक निर्माण गरेपछि नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नयाँ नक्सा जारी गर्यो ।

नेपालमा त्यो नक्सा अहिले लागू भइसकेको छ तर भारतले त्यसलाई स्वीकार गरेको छैन । नेपालले आफ्नो भनिएको भूमि भारतले छाडेको छैन । भूमी फिर्ता लिनका लागि नेपालले भारतसँग पटक–पटक वार्ताका लागि पहल गरिरेहको छ तर भारतबाट कुनै रेसपोन्स भइरहेको छैन । यद्यपि भदौं १ गते हुन लागेको ज्वाइन्ट ओभरसाइट मेकानिज्मको बैठकले यसका लागि केही सकारात्मक पहल चाल्ने विश्वास नेपाल पक्षले लिएको छ । यो बैठकपछि अर्को बैठकका लागि वतावरण बन्ने विश्वास लिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप