शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको डेडलाइन : नेकपा विवाद सोमबारभित्र ‘वारपार’ !

नेकपामा काउन्टडाउन शुरु
बिहीबार, २९ साउन २०७७, ११ : २६
बिहीबार, २९ साउन २०७७

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको गतिरोध आगामी सोमबार अर्थात् भदौ १ गतेभित्र ‘वारपार’ हुने भएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको भनाइमा भदौ १ गतेभित्र पार्टीभित्रको विवाद कि त मिलिसक्ने कित फुटिसक्ने दुईमध्ये एकमा छिनोफानो हुनेछ ।

तर ओलीको दाबीमा पार्टी फुट्नेभन्दा जुट्ने सम्भावना नै बढी छ । जसले नेकपा नेता कार्यकर्ता पङ्क्तिमा केही आशा जगाएको छ । ओलीले पार्टी विभाजन रोक्नकै लागि आफू केही दिन मौन बस्नुपरेको समेत बताएका छन् ।

‘हप्ता दस दिन होइन, हप्ताभन्दा यतै । पाँच दिनमा फेरि मसँग प्रश्न गर्नुस्, के हुन्छ सिनारियो ? बिहीबारबाट एकदुई भनेर काउन्टडाउन सुरु गर्नुहोला’, ओलीको ठोकुवा छ ।  यति लामो समयसम्म समस्या समाधानको सूत्र फेला नपरेको नेकपामा अबको ५ दिनमा भने कस्तो सूत्रले काम गर्छ, त्यो भन्ने ओलीले खुलाएका छैनन् ।

बुधबार राति प्रसारित एपी वान टेलिभिजनको ‘द बाभ्रो डेल्टा सो’ कार्यक्रममा पत्रकार भुषण दाहालले गरेको प्रश्नमा ओलीले पार्टीभित्रको विवादलाई अनुचित र असान्दर्भिक तमासाकोे संज्ञा पनि भनेका छन् । उनले पार्टीमा समस्या नभए पनि केही व्यक्तिले समस्या बनाएको सङ्केत गर्दै त्यसलाई उनीहरुले छोड्नुपर्ने बताए । पार्टीमा देखिएको विवाद सबैलाई थाहा भएको भन्दै ओलीले आफू त्यसलाई डोकोले छोप्ने पक्षमा नरहेको जिकिरसमेत गरे ।

अघिल्लो बुधबार अर्का अध्यक्ष प्रचण्डसहितका चार शीर्ष नेताहरुले पत्रकारसँग गरेको अन्तर्क्रियालाई लक्षित गर्दै ओलीले भने, ‘अस्ति पत्रकार सम्मेलन भयो, मैले कुनै जवाफ पनि दिइनँ । तपाईं देखिरहनुभएको छ, अरू साथीहरू बोलिरहनुभएको छ । म चुप लागेर बसेको छु ।’

आफ्नो सम्पूर्ण प्रयास पार्टी मिलाउने, एकताबद्ध राख्ने र फुट्न नदिने रहेको भए पनि कतिपय नेताहरु पार्टी फुटेफुटोस् भन्नेजस्ता अभिव्यक्ति दिइरहेकामा ओलीले असन्तुष्टि देखाए ।


नेता पोखरेलले ओली प्रधानमन्त्री र अध्यक्ष दुुवै भएकाले सबैभन्दा बढी जिम्मेवारी उहाँमै रहेको भन्दै प्रमुख जिम्मेवार व्यक्तिले अड्डी लिने नभई अरूलाई कन्भिन्स गर्नुपर्ने बताए । ‘प्रमुख जिम्मेवार व्यक्तिले अड्डी लिने होइन । अरूलाई बुझाउने हो । आफ्ना काममा कन्भिन्स हुन सकेन भने आफै व्याक हुने हो’, पोखरेलको सुझाव छ ।


‘कतिपय साथीहरू फुटे फुट्छ, आदि इत्यादि अभिव्यक्ति पनि दिए । पत्रकार सम्मेलनमै जुनसुकै परिणामका लागि तयार होऊ भन्ने अभिव्यक्ति दिइरहनुभएको छ । मैले त्यसको कुनै जबाफ दिएको छैन । म के भन्न चाहन्छु भने पार्टी फुट्दैन । पार्टी फुटाउन कसैले सक्दा पनि सक्दैन ।’

ओलीले यसो भने पनि अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले ओलीको कार्यशैली पार्टी विभाजनतर्फ उन्मुख रहेको आरोप लगाउँदै आएका छन् ।

नेकपा स्थायी समिति सदस्य लिलामणि पोखरेल अध्यक्ष तथा प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिलाई नकारात्मक रूपमा लिनु नपर्ने बताउँछन् । उनले ओलीले आफ्नो व्यवहार परिवर्तन गर्न चाहे अघि सारेको डेडलाइनमा पार्टी समस्या समाधान उन्मुख हुनसक्नेमा आफू आशावादी रहेको प्रतिक्रिया दिए ।

पोखरलले यसअघिको केन्द्रीय समिति बैठक पनि बस्न सक्दैन कि भन्ने आशङ्का गरिएको भन्दै त्यसबेला शान्त ढङ्गले बैठक बसेर एजेन्डाहरु पारित गर्न सफल भएको उदाहरण रहेकाले बैठक बस्नै डराउनुपर्ने कारण नरहेको बताए ।

‘म्यानेज गरेर जाँदा कुनै कुरा असम्भव छैन तर इच्छाशक्ति हुनुपर्छ । रियलाइज गरे करेक्सन हुन्छ’, पोखरेलको भनाइ छ ।

‘असम्भव भन्ने हुँदैन तर हामी सबैको भनाइ हरेक समस्या पार्टी बैठकबाट समाधान गरौँ भन्ने नै हो’, पोखरेलले रातोपाटीसँग भने, ‘पार्टी बैठकबाट समाधान गर्ने भनेपछि बैठक त बस्नुपर्यो । छलफल हुनुपर्यो । उठेका विषययमा निराकण गर्ने उपाय खोज्नुपर्यो ।’

पोखरलेले बैठकमा तय गरेका एजेन्डामा छलफल गर्न तयार हुनेवित्तिकै समस्याको आधा समाधानतर्फ जाने पनि बताए ।


नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि अवस्था सकारात्मक बन्दै गएको भन्दै प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच विभिन्न माध्यमबाट समस्या समाधानमा लागिरहेको प्रतिक्रिया दिए  ।


‘एजेन्डामा प्रवेश नै नगरीकन छलफल नै नगरी अब बैठक बस्दैन भन्नु बेठीक हो । त्यसकारण बैठक बसौँ त्यसबाट समाधान हुनसक्छ’, पोखरेलको भनाइ छ ।

नेता पोखरेलले ओली प्रधानमन्त्री र अध्यक्ष दुुवै भएकाले सबैभन्दा बढी जिम्मेवारी उहाँमै रहेको भन्दै प्रमुख जिम्मेवार व्यक्तिले अड्डी लिने नभई अरूलाई कन्भिन्स गर्नुपर्ने बताए । ‘प्रमुख जिम्मेवार व्यक्तिले अड्डी लिने होइन । अरूलाई बुझाउने हो । आफ्ना काममा कन्भिन्स हुन सकेन भने आफै व्याक हुने हो’, पोखरेलको सुझाव छ ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि अवस्था सकारात्मक बन्दै गएको भन्दै प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच विभिन्न माध्यमबाट समस्या समाधानमा लागिरहेको प्रतिक्रिया दिए  । ‘सहमति खोज्न विभिन्न कमरेडहरु लागिरहनुभएको छ । हामी पनि लागि नै रहेका छाँै । दुई जना अध्यक्षले पनि यसलाई पोजेटिभ्ली अगाडि बढाउनका लागि उत्प्रेरित गरिराख्नु भएको छ । त्यसैले सायद आजै उहाँहरुबीच कुराकानी सुरु हुन्छ कि’, नेम्वाङले एक साता लामो ओली प्रचण्डबीचको संवादहीनता तोडिने सङ्केत गरे ।

ओली निकट मानिएका नेम्वाङले यस्तो सङ्केत गरे पनि प्रचण्डको सचिवालयले भने यो समाचार तयार पार्दासम्म दुई नेताबीच वार्ता वा संवादबारे कुनै पहल भइनसकेको र कुनै परिवर्तनको सङ्केत आइनसकेको जनाएको छ ।

‘अहिलेसम्म परिस्थितिमा कुनै परिवर्तन आइसकेको छैन । अवस्था पुरानै हो’, अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले रातोपाटीसँग भने ।

गत असार १० गतेबाट सुरु भएको नेकपाको स्थायी समिति बैठकमा ओलीको राजीनामाको विषय प्रवेश भएपछि नेताहरुबीच विवाद उत्कर्षमा पुगेको थियो । जसले गर्दा स्थायी समिति बैठक नै अनिश्चित भएको मात्रै छैन पछिल्लो पटक ओली र प्रचण्डबीच नै संवाद हुन छाडेको छ । पछिल्लो पटक साउन २० गतेयता ओली र प्रचण्डबीच नै संवाद हुन छाडेपछि नेकपा विभाजन नजिक पुगेको विश्लेषण हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप