शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनको खबर परिवारद्वारा खण्डन

बिहीबार, २९ साउन २०७७, १० : ४३
बिहीबार, २९ साउन २०७७

भारतमा यतिबेला ट्वीटरमा #ripPranabMukherjee ट्रेन्ड भइरहेको छ तर सोसल मिडियामा भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधनको खबरलाई उनको परिवारले खण्डन गरेको छ ।  

प्रणब मुखर्जीकी छोरी शर्मिष्ठा मुखर्जीले ट्वीटरमा यसबारे जानकारी दिएकी हुन् । उनले लेखेकी छिन्, ‘मेरो पितासँग जोडिएको अफवाह गलत हुन् । विशेषगरी मिडियाकर्मी, मलाई फोन नगर्नुहोस् । अस्पतालबाट आउने सूचनाका लागि मैले फोनलाई फ्रि राख्न आवश्यक छ ।’

प्रणब मुखर्जीका छोरा अभिजीत मुखर्जीले ट्वीटरमा लेखे, ‘मेरा पिता श्री प्रणब मुखर्जी जिवित हुनुहुन्छ र रक्त प्रवाहको हिसाबले उनको स्थिती स्थिर छ । केही सम्मानित पत्रकारद्वारा सोसल मिडियामा अड्कलबाजी गर्नु र झुटो खबर फैलाउनुले यो बताउँछ कि भारतका मिडिया झुटो समाचारको कारखाना बनिसकेको छ ।’

समाचार एजेन्सी एएनआईले सेनाको रिसर्च एण्ड रेफरल (आर एन्ढ आर) अस्पताललाई उद्धृत गर्दै भनेको छ, ‘प्रणब मुखर्जी अस्पतालमा भर्ना छन् र उनको स्थितीमा लगातार तेस्रो दिन कुनै सुधार देखिएको छैन । उनको स्थिती नाजुक छ र उनलाई जीवन–रक्षक प्रणालीमा राखिएको छ ।’

८४ वर्षीय मुखर्जीलाई सोमबार सैन्य अस्पतालमा भर्ना गरिएको थियो र उनको मस्तिष्कको शल्यक्रिया हुनु अघि उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप