बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

फेरि ताला लगाउने अवस्थामा पुगे पोखराका होटल व्यवसायी

बुधबार, २८ साउन २०७७, १८ : ०३
बुधबार, २८ साउन २०७७

पोखरा । महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले चार महिना लामो लकडाउन गर्यो । एक महिना अघि सरकारले लकडाउन फिर्ता लिएसँगै जनजीवन सामान्य अवस्थामा फर्किदै थियो । फाट्टफुट्ट रुपमा व्यवसायच चल्न थालेका पनि थिए । 

तर, कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनले आसातित सफलता लिन नसकेपछि कतिपय जिल्ला पुनः लकडाउन गर्नुपर्ने अवस्थामा पुगेका छन् । 
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले बुधबार पुनः नयाँ निर्णय सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक गरेको नयाँ निर्णय अनुसार सञ्चालन अनुमति पाएका केही व्यवसायको सञ्चालनमा अनुमतिमा केहि हेरफेर गरिएको छ । 

सरकारले ल्याएको नयाँ मापदण्डअनुसार होटल तथा रेष्टुरेण्टबाट तयार पारिएको परिकार लैजान (टेक अवे) मात्र पाइने छ । लकडाउन खुलेपनि साउन १५ गतेदेखि होटल तथा रेष्टुरेण्ट व्यवसायीले सञ्चालनको अनुमति पाएका थिए । 
व्यवसायमा पुन नयाँ मापदण्ड तोकिएपछि होटल व्यवसायीहरु अन्यौलमा परेका छन् । चार महिना लामो लकडाउनपछि सटरको चाबीसम्म खोल्न भ्याएका पोखराका होटल व्यवसायीहरु पुनः चाबी लगाउने स्थितिमा छन् ।
होटल बाटिकाका असिस्टेण्ट म्यानेजर अनिल सापकोटाले होटल सञ्चालनको तयारी थाले पनि पुनः बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताए । साउन १५ देखि होटल व्यवसाय सञ्चालन गर्ने अनुमति पाएसँगै बिदामा बसेका कामदारलाई काममा फर्काए पनि फेरि बन्द गर्ने कि नगर्ने अन्यौलको अवस्थामा रहेको बताए । 

एक साताको अवधिमा फाट्टफुट्ट रुपमा पाहुनाहरु आए पनि पुनः बन्द गर्नुपर्ने अवस्थामा पुगको उनले बताए । लकडाउनपछि सामान्य अवस्थामा फर्किने अपेक्षा लिए पनि त्यो अनुसार हुन नसकेको उनले सुनाए । 
कामदारलाई पूरा तलब दिन सक्ने अवस्थामा नरहे पनि योग्यताअनुसार ५० देखि ६० प्रतिशतसम्म तलब दिने गरी सञ्चालन गर्ने योजना बनाए पनि थप जोखिम बढेको हुँदा कामदारलाई काममा फर्काउन सक्ने अवस्थामा नरहेको उनले बताए । 

होटल ल्यान्डमार्कले पनि सरकारले साउन १५ देखि होटल व्यवसाय चल्न दिने निर्णय गरेसँगै सञ्चालनको तयारी थालेको थियो । होटलका लेखापाल छविलाल पाण्डेले पाहुना आई हाले तत्पर भएर बसेको अवस्थामा सरकारको निर्णयले अन्यौल पैदा गरेको बताए । ‘इन्टरनल सरसफाई गरि रहेका थियौं । साउन १५ पछि स्टाफ पनि थपेर पाहुना नआए पनि पाहुना आउनु हुन्छ कि भनेर सेवा दिन तत्पर भएर बसेका थियौं,’ उनले भने, ‘साउन १५ पछि हामीले खोलेपछि अर्कोले पनि खोल्छ भनेर सेवा दिन तयार भएर बसेका थियौं । सरकारले होम डेलिभरी मात्र गर्ने प्याकिङ मात्रै गर्ने निर्णय लिएको छ । त्यसको लागि हामीले ठ्याक्कै निर्णय लिई सकेका छैनौं । भर्खर हिजो मात्रै भएको निर्णय हो ।’ 

होटल सञ्चलानको लागि सुरक्षाका उपाय पूर्ण रुपमा पालना गरेको उनले बताए । 
पोखरा पर्यटन परिषद्को महासचिव दिल गौतमले साउन १५ पछि होटल व्यवसाय सञ्चालनको लागि सर सफाइमा लागे पनि पछिल्लो निर्णयले अन्यौल पैदा गराएको बताए । 
पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले साउन १५ पछि होटल तथा अन्य पर्यटकीय गतिविधि खोल्नको लागि सरकारले अनुमति दिई सकेपछि पर्यटन व्यवसायीले पनि यसलाई सहर्ष स्वीकारेको भएपनि फेरि अनयोलता देखिएको बताए ।

‘करिब १० प्रतिशत क्वारेन्टाइन सहितको सञ्चालनमा आएका थिए । तर, पर्याप्त मात्रामा खुलेका थिएनन् । पर्यटकहरु पनि आएको अवस्था थिएन । काम विशेषले पोखरा आएका आगन्तुकलाई सत्कार दिएको अवस्था थियो,’ उनले भने, ‘पछिल्लो घटनाक्रम अनुसार संक्रमण बढ्दै गयो । हाम्रो अपेक्षा भदौ १ गतेबाट आन्तरिक र बाह्य हवाई सेवा सञ्चालनआ आई सकेपछि लामो दुरीका यातायात पनि खुुल्छ र, त्यसले पनि केही पर्यटनमा टेवा दिन्छ भन्ने हाम्रो विश्वास थियो । तर, सरकारले अब हिजो घोषणा गर्यो । हाललाई त्यो पर सारेको अवस्था छ ।’ अन्तर्राष्ट्रिय उडान पनि पर सारेको हुँदा होटल व्यवसायीलाई थप अन्यौल थपेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप