शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महाधिवेशनबाट देउवाको विकल्प खोजिन्छः  रामचन्द्र पौडेल

बुधबार, २८ साउन २०७७, १४ : २६
बुधबार, २८ साउन २०७७

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति देउवामा विधान मिच्दा बहादुर ठहर्छु भन्ने मानसिकता रहेको टिप्पणी गरेका छन् । सभापति देउवाले विधान मिचेर पटकपटक विभागहरु गठन गरेको सम्बन्धमा ध्यानाकर्षण गराइएको तर उहाँमा विधान जति मिच्न सक्यो त्यति बहादुर र बलवान ठहर्छु भन्ने मानसिकता रहेको पाइएको टिप्पणी पौडेलले गरे ।

बुधबार कुराकानी गर्दै वरिष्ठ नेता पौडेलले विधान मिच्दा आफु बहादुर ठहर्छु भन्ने मानसिकता सभापति देउवामा देखिएको बताएका हुन् । विधान मिचेर बहादुर देखाउन खोज्ने प्रवृत्तिका कारण पार्टी प्रजातान्त्रिक हो कि होइन भन्ने खतरा बढेको उनले बताए ।

उनले भने– ‘हामीले बारम्बार पार्टीलाई विधानमा ल्याउन पार्टी सभापतिलाई ध्यानाकर्षण पटक–पटक गर्दै आयौं । तर नेपाली काँग्रेसभित्र कस्तो भएको छ भने विधान मिच्नु बहादुरी हो जस्तै हाम्रो सभापतिलाई लाग्छ कि ? विधान मैले जति मिच्न सके म त्यति बलवान सभापति ठहर्छु भन्ने उहाँको मानसिकता छ जस्तो मलाई लाग्छ । त्यसले यो पार्टी डेमोक्रयाटिक पार्टी नै हो कि होइन भन्ने खतरातिर जान लाग्यो भनेर हामी चिन्तित भएको हो ।’ 

सभापति देउवालाई विधान मिच्ने बानी परिसकेको पौडेलले बताए । आफु बहादुर हुँ भन्ने भ्रम भएकाले सभापतिले पटक पटक विधान मिचेर विभागहरु गठन गरेको टिप्पणी समेत पौडेलले गरे । उनले भने– ‘यो मिच्ने बानी पर्यो । हाम्रो सभापति मैले जे गरेपनि हुन्छ भन्ने सोच्नुहुन्छ । मलाई सम्झना छ यो देशमा कानून तोड्यो भने गृहमन्त्रीले तोडछ म गृहमन्त्री भएको हुनाले मैले हो तोडने कानून भनेर बोलेर धाक लगाएर हिँड्नुहुन्थ्यो एकताका । उहाँलाई जे बोलेपनि सबैले हाँसेर लिइदिन्थे । अहिले पनि उहाँ त्यही गर्दै हुनुहुन्छ । मैले हो तोडने म त बहादुर नी भनेर यो बहादुरीले काँग्रेसलाई क्षति पुर्यायो । यो बहादुरीले प्रजातन्त्रलाई, लोकतन्त्रलाई अत्यन्त ठूलो घात गर्यो, क्षति पुर्यायो र घायल बनायो ।’

पार्टीको महाधिवेशन समयमै गर्न नसके पार्टी संकटमा पर्न सक्छ भन्दै आफुले ३ वर्ष अघिदेखि कार्यतालिका बनाएर काम गरौं भनेको तर सभापति देउवाले नमानेको पौडेलले बताए । महाधिवेशन गर्ने समयमा असाधारण स्थिति भयो भन्दै पछाडि धकेलेको र अहिलेको असाधारण अवस्थामा गर्न लागिएको महाधिवेशनमा विधान मिच्दै महाधिवेशनलाई प्रभाव पार्न खोजेको उनले बताए । चार वर्षमा महाधिवेशन गर्न नसक्ने सभापति अहिले कामचलाउ मात्रै भएकाले कुनैपनि निर्णय एक्लै गर्न नसक्ने पौडेलले बताए ।

उनले भने, ‘अहिले उहाँलाई धमाधम मान्छे नियुक्त गर्नुछ । मान्छे भर्ना गरेर नाम पत्रिकामा छपाएर, चार वर्षसम्म उहाँको कार्यकाल सकिएपछि, उहाँ कामचलाउ सभापति भइसकेपछि कामचलाउ कार्यसमितिले यो गर्न मिल्छ ? यो कुरा हामी भनिरहेका छौं कि यसरी धज्जी नउडाऔं । विधानको धज्जी नउडाऔं । लोकतान्त्रिक मूल्य मान्यताको धज्जी नउडाऔं । कांग्रेस लोकतन्त्रको प्रयाय जस्तो भएको नेपालमा यसको अस्तित्वलाई नै संकटमा पार्ने कुरा भयो ।’
फागुन ७ गतेका लागि मिति तोकेर महाधिवेशनको तयारी सुरु भएकोले अहिले देखिनै आचारसंहिता सबैलाई लाग्ने उनले बताए । उनले भने, ‘फागुन ७ गतेका लागि महाधिवेशनको मिति तोकेर हामी अगाडि बढिसकेका छौं । महाधिवेशनमा प्रवेश गरिसकेका छौं । यसलाई क्रियाशीलताको अनि वडाको मात्र होइन केन्द्रीय महाधिवेशनको उद्घाटन नभइकन भन्लान् फेरि यो त जाली कुरा हो नी । यस्तो गरेर पार्टीको बैधानिक मर्यादामाथि आँच पुर्याउन पाइन्छ ?’

पार्टीमा विधान मिचेको विषयलाई गम्भिरतापूर्वक उठाउँदै जाने र महाधिवेशनबाट सभापति देउवाको विकल्प खोज्ने पौडेलले बताए । अहिलेको केन्द्रीय समितिमा उनको नै बहुमत भएकाले त्यहाँबाट विकल्प खोज्न नसकिने भएकाले महाधिवेशनमा नै प्रमाणसहित विकल्प खोज्ने उनले बताए । उनले भने– ‘यो विषयलाई हामी गम्भिरतापूर्वक उठाउँदै जान्छौं । यो विषयलाई महाधिवेशन सम्मै उहाँको मनपरी तन्त्रको, स्वेच्छाचारी तन्त्रको प्रमाण यही हो भनेर हामी भन्छौं । त्यसकारण उहाँको विकल्प खोज्नुपर्ने स्थिति जन्माइराखेको छ ।’ 

वरिष्ठ नेता पौडेलले पार्टीको सभापतिमा आफु नै हुनुपर्छ भन्ने दावी नगरेको समेत स्पस्ट पारे । तर पार्टीले आफुलाई न्याय गर्नुपर्ने उनको भनाई छ । पार्टीभित्र सबै नेता तथा कार्यकर्ताले आफ्नो आकांक्षा राख्न पाउने तर उमेरको आधारमा सबैलाई एउटै क्याटोगोरीमा राखेर अन्याय गर्न नपाइने बताए । पटकपटक मौका पाएकाले सत्ताको दुरुपयोग गरे नगरेको हेरेर विवेक पु¥याएर निर्णय गर्नुपर्ने तर्क पौडेलको छ । 

फरक प्रसंगमा वरिष्ठ नेता पौडेलले सरकारले कोरोना संक्रमण रोकथामका लागि प्रभावकारी काम गर्न नसकेको बताए । काँग्रेसले सुरुदेखि नै सरकारलाई भन्दै आएको र आफुले प्रधानमन्त्रीलाई भेटेर नै लिखित रुपमा दिएको तर सरकारले तयारी नगर्दा अहिले संकट देखापरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप