शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीले नै वकिल सेटिङ गरेर मुद्दा मिलाइदिने प्रकरणमा आईजीपीको चासो

तत्काल कानुनअनुसार कारवाही गर्ने डीआईजी धानुकको प्रतिबद्धता
बुधबार, २८ साउन २०७७, ०९ : २८
बुधबार, २८ साउन २०७७

काठमाडौँ । प्रहरीले नै सरकारवादी मुद्दा सेटिङ गरेर वकिललाई पैसा दिने गरेको समाचार रातोपाटीमा सार्वजनिक भएपछि प्रहरीको माथिल्लो निकायबाट चासो सुरु भएको छ । प्रहरी महानिरीक्षक (आईजीपी)लाई नै अधिवक्ताले पत्र नै लेखेर प्रहरीले सेटिङमा मुद्दा वकिललाई दिने गरेको बताएपछि यो प्रहरीभित्रको विकृत्ति दाङबाट सार्वजनिक भएलगत्तै प्रहरीभित्रै हङ्गामा भएको छ ।

तुलसीपुरको बसपार्कवाट पाटेबाघको छालासहित पक्राउ परेका अभियुक्तहरुलाई प्रहरीले नै सुरुमा वकिल राख्न सेटिङ गरिदिएपछि उच्च अदालतमा निवेदन नै दिएर अभियुक्तले प्रहरीले राखेको वकालतनामा हटाइ आफूले चाहेको वकिल राखे ।

प्रहरीभित्रका मुद्दा फाँटका कर्मचारीहरु लामो समय सोही फाँटमा बस्ने र उनीहरुले पक्राउ पर्ने अभियुक्तसँग मिलेर आफ्नै सेटिङका वकिल राखेपछि चौतर्फी चासो र प्रहरीभित्रको बिकृति बारे चिन्ता सुरु भएको हो ।

आईजीपीलाई पत्र लेख्ने उच्च अदालत बार तुलसीपुरका अध्यक्षसमेत रहेका अधिवक्ता रवीन्द्र कुमार धिताल र वरिष्ठ अधिवक्ता डिल्लीराज धितालले प्रदेश ५ का प्रहरी प्रमुख डीआईजी रवीन्द्रबहादुर धानुकलाई भेटेर प्रहरी मुद्दा फाँटका कर्मचारीहरुले निश्चित वकिलसँग मिलेर कमिसन प्राप्तिका लागि प्रहरीकै मिलेमतोमा सेटिङमै वकिल राख्ने गरेको भन्दै यो तत्काल प्रहरीभित्रका विकृत्ति रोक्न आग्रह गरे ।

अधिवक्ता धितालले अहिले पनि दाङ प्रहरीमा सेटिङमा वकिल राखेर गलत काम हुने गरेको भन्दै यसले न्याय सम्पादनमा असर हुने समेत बताए । यस्ता घटनाले प्रहरीप्रति नागरिकको विश्वास टुट्ने भन्दै यस्ता विकृत्ति रोक्न प्रहरीको माथिल्लो निकायबाट चासो व्यक्त गर्न आवश्यक रहेको धितालको भनाइ छ ।


यता, प्रदेश प्रहरी प्रमुख डीआईजी धानुकले यो विषयमा प्रहरी हेडक्वाटरबाटै आईजीपीले चासो दिइसकेको भन्दै आफूले पनि यो वारेमा सत्य तथ्य बुझ्ने काम गरिरहेको बताए ।

उनले आफूलाई पनि यो विषय नौलो लागेको भन्दै आईजीपीबाट चासो भएलगत्तै जिल्ला प्रहरी प्रमुख र इप्रका तुलसीपुरका प्रमुखलाई तत्काल यो बारेमा चासो राख्दै यदि गलत काम भएको भएमा तत्काल कारवाही गर्ने चेतावानी दिइसकेको सुनाए ।

प्रहरीले अभियुक्त समातेपछि अभियुक्तले आफ्नो अनुकुलको वकिल, त्यो पनि छानेरै राख्न पाउने कानुनी व्यवस्था रहेको भन्दै डीआईजी धानुकले प्रदेश ५ का १२ वटै जिल्लामा प्रदेश प्रहरी कार्यालयको तर्फबाट मुद्दाको प्रक्रियामा प्रहरीले आफ्नो काममा बाहेक अरु गलत काममा हात नहाल्ने र यदि प्रहरी अधिकारभन्दा बाहिर गएर काम गरेको फेला परेमा सम्वन्धित प्रहरी प्रमुखलाई तत्काल कारवाही गर्ने गरि निर्देशनसहितको पत्र पठाउने अधिवक्तासामु प्रतिबद्धता पनि जाहेर गरे ।

प्रहरी आफ्नो आचरणमा बसे कसैले केही गर्न नसक्ने भन्दै प्रहरीले चरीत्र र आचरणमा पुरै सुधार गर्नुपर्ने डीर्आजी धानुकको बुझाइ छ । डीआईजी धानुकले आफू जागिरको शिलशिलामा विदाई हुने क्षणमा नै रहेकाले यस्ता गलत कार्यविरुद्ध कुनै प्रलोभनमा नपरी निर्मम भएर कानुन बमोजिम कारवाही प्रक्रिया हुने आश्वस्त पारे ।

उनले आफू रुपन्देहीमा रहँदा गुन्डागर्दी पुरै अन्त्य गरेको र सर्लाहीमा रहँदा अवैध क्रसर बन्द गरेको प्रसंग झिक्दै प्रहरीलाई सवल र सक्षम बनाउन अधिवक्ताहरुले गरेको ध्यानाकर्षणलाई आफूले सुखद रुपमा लिएको भन्दै प्रहरीले गर्ने गलत कुराहरु आफूलाई जानकारी गराए कानुन बमोजिम नियन्त्रण गर्ने बताए ।

प्रहरी नागरीकको भरपर्दो र विश्वासिलो बन्नुपर्ने भन्दै एउटा नागरीकलाई  न्याय पाएको महसुस गराउने सबै प्रहरीको दायित्व रहेको धानुकले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप