शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाँच नम्बर प्रदेशसभामा बेथितिको चाङ

गाडी खरिददेखि मर्मतसम्म अस्वाभाविक बिल, सार्वजनिक लेखासमितिले छानविन गर्ने
बुधबार, २८ साउन २०७७, ०७ : ४९
बुधबार, २८ साउन २०७७

बुटवल । कोराना संक्रमणको त्रासमा जनता पिल्सिरहेको समयमा प्रदेश ५ को प्रदेशसभामा भने बेथितिको चाङ देखिएको छ । जनताका समस्याबारे आवाज उठाउनु पर्ने, प्रदेशका लागि नीति निर्माण गर्नुपर्ने थलोमा कोरोनाकै कहरबीच एकपछि अर्को गर्दै बेथितिका चाङ देखा परेको हो ।

गत वर्ष गाडी खरिद प्रकरणले हङ्गामा भएको प्रदेश ५ को प्रदेशसभामा हिजोआज गाडी मर्मतको बिल अस्वाभाविक बनाउनेदेखि नियमविपरीत घरभाडा लिनेसम्मका काम भएका छन् ।

यतिमात्र होइन, राज्यकोषको ढुकुटी दोहन गर्ने क्रममा प्रदेशसभाका सभामुखलाई दुईवटा गाडी हुँदाहुँदै तेस्रो गाडीसमेत खरिद गरिएको छ ।

सभामुख पूर्णबहादुर घर्तीका लागि बा२झ २२८४ र बा१झ ९७२९ नम्बरका गाडी उपलब्ध गराइएको छ । ती दुवै गाडी चालु अवस्थामै छन् । यसका बाबजुद झण्डै एक करोड रुपैयाँ खर्चिएर सभामुख घर्तीका लागि प्रदेश–३–०१–००२ झ ५२४४ नम्बरको गाडी ल्याइएको छ ।

जनप्रतिनिधिहरू बिलासी बनिरहेको आरोप लागिरहेका बेला प्रदेशसभाले सभामुखका लागि तेस्रो गाडी उपलब्ध गराएको हो । प्रदेशसभाले गत चैत २३ गते टेण्डर आह्वान गरेर असारमा सभामुखका लागि एक करोडको गाडी भित्र्याएको हो ।

सभामुखका लागि दुईवटा गाडी हुँदाहँुदै नयाँ गाडी खरिद गर्नु अनावश्यक खर्चका रुपमा हेरिएको छ । गाडी मर्मतको बिल अस्वाभाविक रुपमा आउनुमा पनि कर्मचारीको मिलेमतोको आशंका गरिएको छ ।

प्रदेशसभामा रहेका गाडी मर्मतबापत यो आर्थिक वर्षमा ४५ लाख रुपैयाँको बिल आएको छ । यतिमात्र होइन, प्रदेशसभा सचिव दुर्लभकुमार पुन, प्रदेशसभाका लेखाअधिकृत आलोक अग्रहरीले कानुन विपरीत घर भाडा रकम बुझेका छन् । उनीहरुले मासिक २५ हजार रुपैयाँभन्दा धेरै रकम लिएका छन् ।

सभामुखका लागिमात्रै होइन, प्रदेशसभाले चालु आर्थिक वर्षमा समेत करिव ६० लाख रुपैयाँ सवारी साधन खरिदका लागि छुट्याएको छ । कार्यालय प्रयोजनका लागि ४५ लाख बराबरको चार पाङ्ग्रे गाडी र मोटरसाइकल तथा स्कुटर खरिदका लागि साढे १२ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।

अर्थशास्त्री मनिकर कार्कीले कम खर्चमा प्रभावकारी काम गर्ने बेलामा अनावश्यक खर्च गर्नुले जनतामा राम्रो सन्देश नजाने बताउँछन् । ‘यस्तो बेला सत्तामा बस्नेहरु जनतालाई राहत दिनभन्दा पनि अनावश्यक तडकझडकतिर ध्यान दिन थालेका छन्,’ उनले भने, ‘केन्द्रमा बस्नेहरुकै सिको गर्दै प्रदेशमा पनि यस्तो हुन थालेको छ, यस्तो बेला कर्मचारीहरु पनि कमिसनतिर ध्यान दिन थालेका छन्, जुन सरकार गलत छ ।’

सचिव दुर्लभकुमार पुनले गाडि गरिदको लागि पूर्ववत् बजेटमा केही रकम थपेर सभामुखलाई नयाँ गाडी खरिद गरिएको बताए । उनले आवश्यक परेरै गाडी खरिद गर्नुपरेको रातोपाटीलाई बताए ।

गाडी पुराना हुँदै जाँदा मर्मतको बिल धेरै आउनु स्वाभाविक रहेको उनको भनाइ छ ।  उनले आफूभन्दा पहिलाका सचिवहरुले घरभाडाबापत रकम लिएको जिकिर गर्दै आफूले पनि सोही आधारमा लिएको बताए । ‘अन्य मन्त्रालयले पनि यसै गरेका छन्, पुरानाले पनि यसैगरी लिएका थिए,’ उनले भने, ‘मैले लिँदाचाहीँ किन विरोध हुन्छ ?’

प्रदेशसभा सचिवालयका अनुसार एक वर्षको अवधिमा गाडी मर्मतका लागि मात्रै सचिवालयले ४५ लाखभन्दा बढी रकम खर्च गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ मा मोटरसाईकल, स्कुटर र चार पाङ्ग्रे सवारी मर्मतका लागि सचिवालयले ४५ लाख १६ हजार ९ सय ९३ रुपैयाँ खर्च गरेको प्रदेश सभाले जनाएको छ ।

गाडी चढ्नेलाई नै थाहा हुँदैन बिल कति आयो भन्ने

प्रदेश ५ प्रदेशसभामा १४ वटा गाडी छन् । ती गाडी सभामुखदेखि विभिन्न समितिका सभापति र कर्मचारी पनि चढ्ने गर्दछन् । आफूले प्रयोग गरेको गाडी बिग्रिएपछि प्रदेशसभाको स्टोरमा ल्याएर मर्मतका लागि छाड्ने चलन छ ।

प्रदेशसभाको स्टोरले गाडी चालकलाई फर्म भराएर गाडी मर्मतका लागि ग्यारेजमा पठाउँछ । त्यहाँबाट के के समान चाहिने, त्यो रेट लिष्टसहित आउँछ । त्यसलाई आधार मानेर प्रदेशसभाको लेखा शाखाले बिल भुक्तानी गर्दछ ।

सचिव दुर्लभ पुनका अनुसार गाडी मर्मत कहाँ भयो, कति खर्च आयो भन्ने कुरा सम्बन्धित प्रयोगकर्ता सभामुख या प्रमुख सचेतकलाई थाहा हुँदैन ।

लेखा समितिका सभापति डिल्लीबहादुर चौधरी पनि यस्तै भन्छन् । ‘गाडी सर्भिसिङका लागि छाड्ने हो, उहाँहरुले कहाँ बनाउनुहन्छ, कति खर्च लाग्छ, हामीलाई बताइँदैन, हामीले पनि सोध्ने काम अहिलेसम्म गरेको छैन ।’

तर मर्मतका लागि भन्दै वर्षेनि लाखौँ रकम खर्च हुँदा मर्मतको रकम नै अस्वाभाविक लाग्ने गरेको सरोकारवालाहरु बताउँछन् ।

प्रदेश सभामुख पुर्णबहादुर घर्तीले प्रयोग गर्ने  बा१झ ९७२९ नम्बरको फोर्ड गाडी मर्मतका लागि गत आर्थिक वर्षमा ४ लाख ६८ हजार रुपैयाँ खर्च भएको छ ।

आर्थिक वर्ष ०७५÷०७६ मा यो गाडी मर्मतका लागि २ लाख ३७ हजार ५ सय ८ रुपैयाँ खर्च भएको थियो । त्यस्तै उनले नै प्रयोग गर्दै आएको अर्को बा१झ १९४८ नम्बरको टाटा स्टोर्म गाडीका लागि पनि गर्त आर्थिक वर्षमा २ लाख ४५ हजार १ सय १९ रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष ०७५÷०७६ मा यही गाडी मर्मतका लागि २ लाख १३ हजार ४ सय ८७ रुपैयाँ खर्च भएको थियो ।

छानविनको तयारीमा लेखा समिति

प्रदेश ५, सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले प्रदेशसभामा भएको सबै बेथितिहरुको विषयमा छानविन गर्ने तयारी भइरहेको रातोपाटीलाई बताए ।

उनले गत वर्ष गाडि खरिदका क्रममा बजारमूल्य भन्दा धेरै रकम राखेको र गाडी पनि प्राविधिक रुपमा कमजोर भएको रिपोर्ट आफूहरुले सार्वजनिक गरेको स्मरण गराउँदै अहिले ती कमजोर गाडीहरु मर्मतमा धेरै खर्च आएकोबारे छानविन गर्नको बैठक बस्ने तयारी गरेको बताए । उनले कोरोना कारणले बैठक राख्न नमिलेको तर स्थिति अलि सहज भएपछि आफुहरुले समितिको बैठक राखेर सबै बेथितिका विषयमा गहन अध्ययन गरी छानविन गर्ने बताए । गतवर्ष गाडी खरिद गर्दा भएको बेथितिमाथि सार्वजनिक लेखा समितिले छानविन गरेको थियो । बजार मूल्यभन्दा धेरै रकम राखेर अनियमितता गर्ने प्रयास सार्वजनिक  लेखा समितिकै कारण रोकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप