केन्द्रीय संस्करण
कोरोना कैरन – २५

कोरोनाको उपचार : राम नाम सत्य हो

person explore access_timeसाउन २८, २०७७ chat_bubble_outline0

 

 

‘सरकारले लाखौँ खर्च गरेर संक्रमितको निःशुल्क उपचार गर्नुपर्ने, जनताले चाहिँ मास्क लगाउने, दूरी कायम गर्ने सामान्य जिम्मेवारी पनि पूरा गर्नु नपर्ने ?’

 — महावाणी

यो महावाणीमा विनम्रता ध्वनित हुन्छ कि दुच्छरपना ? शालीनता कि दम्भ ? करुणाशीलता कि क्रूरता ? म भन्दिनँ, जानिफकार पाठक स्वयं जान्दछ । झट्ट सुन्दा यो महावाणी श्री रामका परम्भक्त केपी शर्मा ओलीको जस्तो लाग्ला । तर होइन । ओली प्रवृत्तिको स्वभाव कोरोनाको जस्तै छ । यो उसैगरी एकबाट अर्कोमा सल्किन्छ । खासगरी उपरवाले ख्वामित्बाट नीचेवाले भक्त र अनुचरमा । कोरोना प्रवक्ता डा. जगेश्वर गौतम कोरोना अपडेटको कर्मकाण्डमा जब बोल्छन्, यिनका मुखबाट ठ्याक्कै ओली बोलेजस्तो लाग्छ । प्रमाण माथिको महावाणी हो ।

यो महावाणीको पछिल्लो अंशमा मेरो खासै विमति छैन । हो, जनतामा हेलचेक्रयाइँ छ, लापर्बाही छ । जनतामा कोरोना अरुलाई सल्किएला, म जोगिन्छु भन्ने शठमति छ, हठमति छ । जनजनमा व्याप्त यो शठमति, यो हठमति किमार्थ अनुमोदनयोग्य छैन । तर महावाणीको अघिल्लो अंशमा मेरो गम्भीर प्रश्न छ । सरकारले लाखौँ खर्च गरेर संक्रमितको उपचार गर्नुपरेको कसको सम्पत्तिले हो ? जनताले तिरेको करबाट सञ्चित राज्यकोषको सम्पत्तिले ? कि ख्वामित् ओलीको निजी सम्पत्तिले ? कि निजका अरौटे यी डा. गौतमको पैत्रिक सम्पत्तिले ? जनताको यो उपचार सरकारको कृपा हो कि कर्तव्य ? यो उपचार सरकारको स्वेच्छिक कर्म हो कि वाध्यात्मक ? यो सम्पत्ति राज्यकोषको हो र यो उपचार सरकारको वाध्यात्मक कर्तव्य हो भने ओलीको बोलीमा डा. गौतमको यो दुच्छर घुर्की किन ? यो तुच्छ दम्भ किन ? जनताले यिनका सामु हात पसारेर यिनको निजी सम्पत्तिले निःशुल्क उपचार गरिमागेका हुन् र ?


यो महावाणीको पछिल्लो अंशमा मेरो खासै विमति छैन । हो, जनतामा हेलचेक्रयाइँ छ, लापर्बाही छ । जनतामा कोरोना अरुलाई सल्किएला, म जोगिन्छु भन्ने शठमति छ, हठमति छ । जनजनमा व्याप्त यो शठमति, यो हठमति किमार्थ अनुमोदनयोग्य छैन । तर महावाणीको अघिल्लो अंशमा मेरो गम्भीर प्रश्न छ । सरकारले लाखौँ खर्च गरेर संक्रमितको उपचार गर्नुपरेको कसको सम्पत्तिले हो ? जनताले तिरेको करबाट सञ्चित राज्यकोषको सम्पत्तिले ? कि ख्वामित् ओलीको निजी सम्पत्तिले ?


आयो अब आजको मूल विषय । सुन्दा मजा लाग्छ—ओली सरकारको बोली फेरिएको छ । र, आफ्नै बोलीले ओली सरकारको धूत्र्याइँ, छल र अहंकार नाङ्गेझार भएको छ । पाँच दिनअघि जगत्छेउ मैले ट्वीट गरेँ— ‘हिजोसम्म प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र प्रवक्ता कोरोना नियन्त्रणको तयारीमा सरकारले विश्व–कीर्तिमान कायम गर्‍यो भन्दैथिए । आज कोरोना प्रवक्ता डा. गौतमले भने— अब अस्पतालका बेड, उपकरण र जनशक्तिको भयावह अभाव हुने छाँट देखियो । दश अर्ब सकेर ओली सरकारले गर्‍यो चैँ के ? केवल भोजन ?’

हो, कोरोनाको सम्भावित खतरा निश्चय नै भयावह छ । यस अर्थमाः डा. गौतमको यो कथन यथार्थपरक छ । तर अचम्म, ओलीभक्तबाट व्यक्त भएको यो कथन ओलीपन्थ विपरीत छ । कोरोनाको आरम्भकालमा ओलीपन्थले भन्यो— नेपालीको प्रतिरोधी क्षमता तगडा छ । तसर्थ हाम्लाई कोरोनाको बाल मतलब नाइँ । त्यो आउँछ, नेपालीलाई यसो सुुँघ्छ र अताल्लिँदै कुलेलम ठोक्छ । त्यसपछि ओलीका बेसारदेखि यार्चागुम्बासम्मका नौरङ्गी आविष्कारहरु प्रकाशमा आए । कोरोनालाई गोपीक्वाँच पार्ने एकसे एक अचुक आविष्कारहरु । त्यसपछि सरकारको आत्म–प्रशंसाले गगनमण्डल गुन्जियोे— हेर, मेरो कोरोना नियन्त्रण कर्मको चमत्कारयुक्त नतिजाबाट जगतै चकित भयो ! त्यसपछि लोकलाई द्रव्यपारखी स्वास्थमन्त्री श्री भानुको सुमधुरवाणी सुन्ने सौभाग्य प्राप्त भयोे— देशावरमा हाम्रो अपूर्व कोरोना कर्मको कत्रो तारिफ भइरहेछ, हेर यता देशमा यो विडम्बना ! देशभित्रका पनि देशबाहिरका पनि नेपालीहरुका आँखा मोतिया बिन्दुले टालिया छन् र पो ! अनि अहिले ? आफ्ना यी सबै अनुपम पौरखविपरीत ड. गौतम भन्दाछन्— कोरोना नियन्त्रणमा अब याबत् कुराको भयावह अभाव हुने छाँट देखियो । डा. गौतमको यो कथनमा ओली सरकारले आफ्नै हातले आफूलाई लोप्य्राएको छ । अरे ढाँट टपर्टुइँयाँ घैँटे, देखियो त तेरा पराक्रम र पौरखको सक्कली अनुहार !

एकातिर कोरोना प्रवक्ताका मार्फत् सरकारको स्वीकारोक्ति यस्तो छ । अर्कातिर सरकार प्रमुख ओलीका बोलीको ताल बेताल छ । सरकारले छाप्रो जलाएको सुुकुमबासीहरु खाना, छाना र नानाविना अपत्र परेका छन्, ओलीलाई राम मन्दिर बनाउन हतार छ । बाढी–पहिरो पीडित जन भोकभोकै रोइरहेछन्, ओलीलाई राम–सीताका अजङ्गका मूर्ति बनाउन रहर छ । अस्पतालमा बेड नपुगेर संक्रमितहरुलाई मर्न घरै पठाइँदैछ, ओलीलाई तिनका जीवनको बाल मतलब छैन । उनलाई मतलब केवल राम मन्दिरको छ । देशैभरिका अस्पतालहरुमा आइसीयु बेड, भेन्टिलेटर, अक्सिन र प्रशिक्षिति जनको हाहाकार हुँदैछ, ओलीलाई कुनै चिन्ता छैन । उनलाई चिन्ता केवल रैथाने श्री रामको आविष्कारको छ । कोरोना आतङ्क उत्कर्षमा पुग्दा देशमा लासको खात हुने खतरा ज्वलन्त छ, ओलीलाई कुनै फिक्री छैन । उनलाई फिक्री केवल रैथाने श्री रामको आविष्कार गरी भगवान्को भव्य मूर्ति खडा गर्नुुको छ । उनलाई फिक्री केवल नवआष्किृत श्री रामलाई नवनिर्मित भव्य मन्दिरमा थन्क्याउनुको छ । उनलाई फिक्री केवल उन्मादी हिन्दुपथमा नश्लवादी मोदीका बासी पाइला पछ्याउनुको छ । र, उनलाई फिक्री, दुनियाँ मरे मरोस्, आफूले अमरत्व प्राप्त गर्नुको छ ।

 


सरकार प्रमुख ओलीका बोलीको ताल बेताल छ । सरकारले छाप्रो जलाएको सुुकुमबासीहरु खाना, छाना र नानाविना अपत्र परेका छन्, ओलीलाई राम मन्दिर बनाउन हतार छ । बाढी–पहिरो पीडित जन भोकभोकै रोइरहेछन्, ओलीलाई राम–सीताका अजङ्गका मूर्ति बनाउन रहर छ । अस्पतालमा बेड नपुगेर संक्रमितहरुलाई मर्न घरै पठाइँदैछ, ओलीलाई तिनका जीवनको बाल मतलब छैन । उनलाई मतलब केवल राम मन्दिरको छ । देशैभरिका अस्पतालहरुमा आइसीयु बेड, भेन्टिलेटर, अक्सिन र प्रशिक्षिति जनको हाहाकार हुँदैछ, ओलीलाई कुनै चिन्ता छैन । उनलाई चिन्ता केवल रैथाने श्री रामको आविष्कारको छ ।


कुरो गजप छ बा ! श्री खड्गप्रसाद शर्मा ओली परे नेकपा डबलका सर्वोच्च नेता । लिखितम्को स्रेस्तामा माक्र्सवादी, भौतिकवादी र आस्तिक । आफूसँग र जगत्सँग गरेको आस्थाजन्य वाचा यस्तो छ, ओली धर्मको झुत्रो झण्डा हल्लाउँदै चरम् वैचारिक पतनको नग्न नृत्यमा मग्न छन् । आश्चर्य, आफ्ना नेताको यो वैचारिक पतनबारे नेकपा डकलको कुनै कार्यकर्ता चुँसम्म पनि बोल्दैन । मानौँ नेताश्रीको यो निर्लज्ज वैचारिक पतनमा उसको भावनात्मक साथ छ । मानौँ ख्वामितको यो जघन्य वैचारिक भ्रष्टाचारमा उसको मौन समर्थन छ । मानौँ नेकपा डबल जिउँदा जनको क्रान्तिकारी पार्टी होइन, यो दिग्भ्रमित गिनीपिगहरुको निरीह बगाल हो ।

ओलीले हिन्दु उन्मादी मोदीको लघु औतार धारण गरुन् वा गाईछापे कमल थापाको विशाल औतार, मलाई यसमा खासै चिन्ता छैन । तर नूतन आस्थाका दृष्टिले जोगी हुनुपर्ने ओली अझै मोदी मुद्रामा सिंहासनमा विराजमान छन् । त्यसैले उनीसँग केही अपेक्षा गर्न नागरिक विवश छ । मचाहिँ यहाँ एउटा कुरामा ओलीपथको झुत्रो झण्डा बोक्न अभिशप्त छु । नागरिक प्रश्नको प्रत्युत्तरमा ओलीको एउटा प्रिय वचन छ । नागरिक सोध्छ— खोटा स्वास्थ्य सामग्री किनेर कमरेड ओम्नीसँग खाएको कमिशनको पैसो कति हो ? ओली भन्छन्— कोरोनाकालमा कोरोनाकै कुरा गरौँ, पैसाको कुरो पछि गरौँला । यसको अर्थ हो— हाललाई पैसो खान पाऊँ, पछि देखा जायगा ! नागरिक फेरि सोध्छ— दश अर्ब रकमको त्यत्रो रासमध्ये खर्च भयो कति, खाइयो कति ? ओली भन्छन्— कोरोनाको याममा कोरोनाकै कुरा गरौँ, पैसाको कुरो पछि गरौँला । यसको अर्थ हो— हाललाई पैसो खान पाऊँ, पछि देखा जायगा ! ओलीको यही तर्क वा जिरहलाई विस्तार गर्दै म निवेदन गर्छु— श्री रामभक्त मान्यवर ! हुन त भगवान् श्री रामको जाज्वल्यमान् जीवनसामु सामान्य जनका जीवनको मूल्य कति नै होला र ? तथापि अणृ बराबरै भए पनि यो केही त हो । ठीक छ, पैसाको कुरो पछि गर्दै गरौँला । हाललाई दश अर्बमा अर्को दशै अर्ब थपिएछ रे लौ, सामान्य जनको जीवन त जोगिनै पर्‍यो । तसर्थ मोदीपथगामी ओली मान्यवर ! महामारीको भयावह खतरा ढोकैसामु आइपुगेको छ । यो खतरालाई दृष्टिगत गरी अस्पतालहरुमा यथेष्ट आइसीयु र भेन्टिलेटर बेड तत्काल थपिपाऊँ । कृपा गरी पर्याप्त अक्सिजनको तुरुन्त व्यवस्था गरी पाऊँ । संक्रमित जनलाई संक्रमण फैलाउन र मर्न घर पठाउन थालिएको छ । तिनलाई घर पठाउनु नपर्ने गरी प्रचूर क्वारेन्टिन र आइसोलेशन स्थलको शीघ्र जाँचो मिलाई पाऊँ । जनी गरेर सङ्कटसँग जुध्ने मनोबल, कौशल र त्यागको भावनाले ओतप्रोत मनग्गे स्वास्य–जनशक्ति अविलम्ब तयार गरिपाऊँ । यति गरे, मोदीपथगामी मान्यवर ! अमरत्व प्राप्त गर्न दक्षिणपन्थी मोदीका बासी पाइला सुँघ्नै पर्दैन ।

म अज्ञानीका यी सांसारिक भावनाहरु देखेर श्री रैथाने रामभक्त खड्गप्रसाद शर्मा ओली सके उपहासयुक्त अट्टहास गर्लान्— हा, हा, हा, हा ! अब कोरोनाको एउटैमात्र उपचार छ— राम नाम सत्य हो !

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.