शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आर्थिक प्रलोभनमा पर्ने ६ प्रहरी निलम्बन

मङ्गलबार, २७ साउन २०७७, १९ : ५५
मङ्गलबार, २७ साउन २०७७

काठमाडौँ । बागमती प्रदेश प्रहरी कार्यालय, मकवानपुर हेटौंडाले आर्थिक प्रलोभनमा पर्ने ६ जना प्रहरीलाई निलम्बन गरेको छ । प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत प्रहरी निरीक्षक रोशन थापाले ६ जनालाई निलम्बन गरिएको जानकारी दिए ।

प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा उनीहरुलाई साउन २१ गते नियन्त्रणमा लिएको थापाले बताए । 

प्रहरी निरीक्षक थापाका अनुसार जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ५ जना र जिल्ला प्रहरी कार्यालय काभ्रेका एक जना गरी ६ जना निलम्बनमा परेका हुन् । निलम्बनमा पर्ने २ हवल्दार र चार प्रहरी जवान रहेका छन् । 

निलम्बनमा पर्नेमा हवल्दारद्वय राजकुमार श्रेष्ठ र डोरबहादुर कार्की तथा प्रहरी जवानहरु कुमारबाबु सिंह, धिरेन्द्र साह, रामकुमार थापा, नवीनबहादुर थापा छन् । नवीन थापा काभ्रेस्थित इलाका प्रहरी कार्यालय मंगलटारमा कार्यरत थिए ।

सवारी चालकसँग विभिन्न वहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा लिएर उनीहरुलाई प्रदेश प्रहरी कार्यालयमा झिकाइएको थियो । थप छानबिन गर्नका लागि उनीहरुलाई निलम्बन गरिएको बागमती प्रदेशका प्रमुख वसन्त लामाले बताए । 

निलम्बन गरिएका प्रहरीहरुको सम्बन्धमा थप छानविन गर्न प्रदेश प्रहरी कार्यालयले प्रहरी नायव उपरीक्षक विज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली पनि गठन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप