शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

को हुन् गोंगबुमा हत्या गरी फालिएका कृष्णबहादुर बोहरा ?

मङ्गलबार, २७ साउन २०७७, १४ : ०३
मङ्गलबार, २७ साउन २०७७

बुटवल  । गत शनिबार राति काठमाडौंको गोंगबुस्थित नवज्योति मार्गमा हत्या गरी शव टुक्र्याएर सुटकेशमा हालेर फालिएका दाङका कृष्णबहादुर बोहरा घोराही उपमहानगरपालिका वडा नम्बर ११ बगाले टोलका बासिन्दा भएको दाङ प्रहरीले जनाएको छ । दाङ बसाइसराइ भएको भएपनि उनको नागरिकताको स्थायी ठेगाना भने रोल्पा हाे ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार बोहराका दुई श्रीमती छन् । जेठी श्रीमती घोराही मै छाडेर उनले कान्छी श्रीमती विवाह गरेका थिए । उनकी कान्छी श्रीमती भारतको फरिदावादमा बस्ने गर्दछिन् । बोहराले सात-आठ वर्षसम्म अफगानिस्तानमा बसेर फर्किएपछि काठमाडौंमा कपडाको ब्यवसाय गर्दै आएका थिए । 

उनी गत फागुनमा दाङस्थित घरमा आई केहीदिन बसेर फर्किएका थिए । घोराही–११ का वडाध्यक्ष कुलबहादुर लामिछानेले कृष्णबहादुर बोहरा साविक हापुर गाविस वडा नम्बर ६ निवासी जुद्धबहादुर बोहराका कान्छा छोरा भएको बताए । जुद्धबहादुरको मृत्यु भइसकेको छ भने उनकी पत्नी अर्थात् कृष्णबहादुरकी आमा भने दाङ मै बस्दै आएको प्रहरीले जनाएको छ । अंश लिएर उनका दाजुभाइहरु रोल्पाको रुन्चगढी गाउँपालिका वडा नम्बर ६ मा बसोवास गर्ने गरेको वडाध्यक्ष लामिछानेको भनाइ छ । 


रोल्पा जिल्ला प्रहरी कार्यालयसँग बुझ्दा उनकी दिदी कल्पना र भिनाजु भक्तबहादुर घर्ती त्यहाँ बसोबास गर्दै आएको जानकारी प्राप्त भएको छ । प्रहरी निरीक्षक क्षेत्रीले पनि कृष्णबहादुर बोहरा अफगानिस्तानबाट फर्केपछि भारतमा गएका र केही दिनपछि फर्किएको जानकारीमा आएको बताए । 

क्षेत्रीका अनुसार बोहराका चार दाजुभाइमध्ये जेठा र साईला दाजुको मृत्यु भइसकेको छ भने माईला दाजु विदेशमा छन् । प्रहरीका अनुसार काठमाडौंमा बस्ने चितवनकी कल्पना मुडवरीसँग उनको फेसबुकमार्फत सम्पर्क भएको थियो । फेसबुकमा कल्पनाको आईडी ‘कल्पना पौड्याल’ रहेको छ ।

उनले आफूलाई कल्पना शाहीका रुपमा पनि चिनाउने गर्दथिन् । उनले आफ्नो फ्ल्याटमा आएका बोहरालाई नशालु पदार्थ खुवाएर लठ्ठ पारेपछि घुँडा र ह्याम्मरले संवेदनशील अंगमा हानेर ढाल्दै हत्या गरेको बताएको काठमाडौँ प्रहरीले जनाएको छ ।

आफैले हत्या गरिसकेपछि बाथरुममा लगेर बोहराको खुट्टा र टाउको काटेर सुटकेश र जेब्रा झोलामा हालेर फालेको उनले प्रहरीसमक्ष बयान दिएकी छन् । शव फाल्नमा उनकी १६ वर्षीया छोरीले सघाएको र त्यसदिन राती नै एम्बुलेन्स बोलाएर कल्पना चितवन हिँडेकी थिइन् । प्रहरीले उनलाई चितवनबाट पक्राउ गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप