बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस्: स्वास्थ्यमन्त्री ढकाल

मङ्गलबार, २७ साउन २०७७, १३ : ५२
मङ्गलबार, २७ साउन २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् भन्दै शुभकामना दिएका छन् । उनले पार्टीभित्र र बाहिरबाट मति बिग्रिएकाहरुले कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यमा आलोचना गरेका भन्दै श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबैको मति सप्रियोस् भन्ने शुभकामना दिएका हुन् । मंगलबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मति बिग्रिएर सरकारको आलोचना गर्ने सबैलाई महामारीविरुद्ध लडन मति सप्रियोस् भन्दै शुभकामना दिएका हुन् ।

उनले भने– ‘आजको यो कृष्णअष्टमीको दिन मति बिग्रिएकाहरुका लागि पनि यो महामारीका विरुद्ध लडनका निमित्त मति सुध्रियोस् भन्ने शुभकामना दिन चाहन्छु । चाहे ती मेरा घरभित्र बसेका हुन् चाहे ती मेरा छिमेकमा बसेका व्यक्तिहरु हुन् । सरकारको आलोचना गरेर लडाईको अभियानमा लागेको योद्धाहरुको खुट्टा तानेर त्यसले कुनै राष्ट्र निर्माण गर्ने कुरामा र महामारीलाई कमजोर बनाउनका निम्ति योगदान पुर्याउन सक्दैन् ।’

उनले महामारीबाट बाँचियो भने सत्ताको लडाई फेरि पनि खेल्न सकिने भन्दै सकारलाई सघाउन नेताहरुलाई आग्रह गरे । सरकारलाई जनताले पाँच वर्षको म्याण्डेट दिएकाले पाँच वर्षपछि नै सत्ताको खेलमा लाग्न समेत उनले आग्रह गरे । उनले भने– ‘बाँचियो भने सत्ता प्राप्ति गर्ने लडाई फेरिपनि खेल्न सकिन्छ । किनभने सत्ताका निमित्त लडने यो नै अन्तिम युद्ध होइन् । पाँच वर्ष जनताले म्याण्डेट दिएकै छन् । म्याण्डेटपछि त्यो खेलमा लाग्दाखेरी पनि केही बिग्रिँदैन । स्थिरताको नारा दिएर अस्थिरताको योजना बनाएर हिँडने मित्रहरुलाई पनि म आग्रह गर्न चाहन्छु बेलाअनुसार हाम्रा बचन र व्यवहार गरिएन भने जनताले त्यहि ढंगले हामीलाई निगरानी गरिराखेका हुन्छन् । जनताको नजरमा हामी परीक्षणमा नै छौं । सबैले जनताबाटै उत्तिर्ण हुनुपर्छ भन्ने कुरालाई मध्यनजर राखेर नै हामीले काम गर्न सकियो भने हामी यो लडाईलाई सहजतापूर्वक समाधान गर्न सक्छौं ।’

उनले कोरोना रोकथामका लागि सरकारको विरोध विभिन्न तरिकाबाट हुने गरेको बताए । कुनैबेला पीपीइ भएन भने सामूहिक राजीनामा दिन्छौं भन्नेहरु अहिले चुप लागेको उनले बताए । त्यस्तै गीतबाट समेत सरकारको आलोचना गरिएको तर अहिले त्यसको जवाफ सरकारले दिइसकेको उनले बताए । अहिलेसम्म पीपीई र पीसीआरको गीत आएको र अब ती चल्न छाडेपछि औषधि र भेन्टिलेटरका गीत आउने बताए । जस्तोसुकै गीत आएपनि त्यसको जवाफ सरकारले सिद्धान्तबाट नभई व्यवहारबाट दिने प्रष्ट पारे ।

उनले भने– ‘गीतहरु बदलीबदली आउने छन् । एक जमना थियो पीपीई भएन भने हामी राजीनामा दिन्छौं भन्ने थियो । अब त्यसको अभाव छैन भनेपछि अहिले त्यसको गीत बजेन, त्यसपछि पीसीआर परीक्षणको गीत आयो । अब औषधिको आउने छ र भेन्टिलेटरको गीतहरु आउनेछन् । ती गीतका भाकाहरुलाई पनि कसरी समाधान गर्नुपर्छ भन्ने विषयमा सिद्धान्तमा होइन व्यवहारमा जवाफदेहिताका साथ जनताको स्वास्थ्यको सुरक्षा गर्ने जिम्मेवारी अहिले नेपाल सरकारले लिएको छ ।’

मन्त्री ढकालले नेपालमा अहिलेपनि कोरोना संक्रमणको स्थिति नियन्त्रण भित्रै रहेको बताएका छन् । संक्रमणको अवस्था समुदाय स्तरमा देखिएपनि नियन्त्रणको स्थितिमा नै रहेकोले आतिनुनपर्ने उनले बताए । अन्य मूलुकहरुको तुलनामा पनि नेपालमा संक्रमण नियन्त्रणका लागि गरिएका कार्यहरु प्रभावकारी भएको उनको भनाई थियो । अप्ठेरो यो अवस्थामा संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारलाई सकारात्मक र रचनात्मक सहयोग गर्न उनले सबै पक्षसँग आग्रह समेत गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप