धनगढी आसपासका क्षेत्र जलमग्न

कैलाली । गएराति देखिको लगातारको वर्षाका कारण धनगढी आसपासका क्षेत्र जलमग्न भएका छन् । धनगढीको विशालनगर, मिलनचोकलगायत बस्ती, २ को मालिका टोल, कृष्णनगर, सरस्वती टोल, पुरानो भन्सार कटान गाउँको दक्षिणपट्टिको बस्ती, ४ को उत्तरबेहडी र शिवनगरलगायत बस्ती जलमग्न भएका हुन् ।
भारी वर्षाले सडक तथा नाली पूरै भरिएर सडकमा हिँड्ने अवस्थासम्म नभएको धनगढी उपमहानगरपालिका–२ का स्थानीयवासी दिजराज अवस्थीले बताए । उनले भने, “अव्यवस्थित तथा पुराना नालीका कारण अलि बढी पानी परेपछि निकासा हुन नसकेर हरेक वर्ष बर्सातमा यस्तो अवस्था सिर्जना हुने गरेको छ ।”
पानी निकासा हुने गरेका जमानादेखिका खोला, नालाहरु अतिक्रमण भएका कारण पनि वर्षैपिच्छे यहाँका बस्ती डुबानमा पर्ने गरेको स्थानीयवासीको भनाइ छ । कतिपयले ढलको व्यवस्थापन नभई सडक पिच हुने गरेका कारण पनि बस्ती अक्सर डुबानमा पर्ने गरेको औँल्याएका छन् । डुबानबाट सुरक्षित रहन सर्वप्रथम पानी निकास हुने नाला, ढलहरुको उचित व्यवस्थापन हुन जरुरी रहेको स्थानीयवासीको भनाइ छ ।
धनगढी उपमहानगरपालिका–३ का अध्यक्ष बलबहादुर ऐरले सोही वडाको गुरुद्वारादेखि मिलनचोकसम्मको बेल्ट हरेक वर्ष बर्सातका समयमा डुबानमा पर्ने गरेको बताए । उनले वडामा आएको बजेटले समस्याको समाधान गर्न सम्भव नभएकाले प्रत्येक वर्ष निरन्तर रुपमा प्रदेश, स्थानीय र सङ्घीय सरकारलाई वडाको ढल निकासका लागि योजना बनाई पठाएको तर त्यो कार्यान्वयन हुन नसकेको बताए । पुराना खोलानाला मासिँदै गएकाले हरेक वर्ष डुबानको समस्या दोहोरिँदै गरेको वडा नं २ का अध्यक्ष नरबहादुर बमको भनाइ छ ।
निरन्तर वर्षाले यहाँ बजार आसपासका बस्ती मात्रै नभई बजारका मूल सडकसमेत जलमग्न भएका छन् । यसरी मूल सडकमा पानीको तलाउ जम्मा भई आवतजावतमा समस्या भएको छ । स्थानीयका धानबाली डुबानमा परी जलमग्न भई तलाउमा परिणत भएका छन् ।
त्यस्तै धनगढीमा निर्माणाधीन अवस्थामा रहेको छलेन सडक र अर्कोतिर रिङरोड निर्माणसँगै पानीको उचित निकासको व्यस्थापन हुन नसकेका कारण पनि थप समस्या निम्तिएको छ । उपमहानगरभित्र भएका प्राकृतिक खोलानाला अतिक्रमण भएपछि डुबानको समस्या बर्सेनी दोहोरिने क्रम बढ्दै गएको छ ।
यसअघि पनि झण्डै दुई साताअघि परेको अविरल वर्षाका कारण पनि यहाँका अधिकांश बस्ती जलमग्न हुनाका साथै दर्जनौँ बढी घर तथा पसल डुबानमा परेको थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)