बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमै मानिसहरु मास्क लगाउन जान्दैनन्

३१.२५ प्रतिशत स्थानमा मात्रै सामाजिक दुरी कायम
सोमबार, २६ साउन २०७७, ०९ : ०५
सोमबार, २६ साउन २०७७

काठमाडौंमा कोरोना संक्रमितको संख्या बढिरहेको बेला उपत्यकावासीले पूर्ण रुपमा सावधानी नअपनाएको एक अध्ययनले देखाएको छ । उपत्यकामा संक्रमितको संख्या १ हजार १३६ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९२ जनामा कोरोनाभाइरसको संक्रमण भेटिएको छ । कोरोनाभाइरस संक्रमित ५ सय जनाभन्दा बढी भेटिएका जिल्लामध्ये काठमाडौं पनि एक हो । ५ सय जनाभन्दा धेरै संक्रमित भएका जिल्ला काठमाडौंसँगै पर्सा, रौतहट, महोत्तरी पनि हो ।

यसरी दिन प्रतिदिन संक्रमितको संख्या बढिरहँदा सार्वजनिक स्थल तथा कार्यालयमा संक्रमणबाट जोगिन सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड नअपनाएको नेपाल स्वास्थ्य  अनुसन्धान परिषद् (एनएचआरसी)को अध्ययनले देखाएको छ । एनएचआरसीले जनस्वास्थ्य मापदण्ड कार्यान्वयनका सम्बन्धमा काठमाडौंको २३ स्थानमा गरेको अध्ययनमा ७२.१ प्रतिशतले मात्रै मास्कको प्रयोग गरेको पाइएको परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले बताए । स्वास्थ्य मन्त्रालयले परिपत्र गरेअनुसार व्यक्तिगत र सार्वजनिक स्थानमा गरिएको अध्ययनमा प्रभावकारी तरिकाले मास्क प्रयोग नगरेको, सामाजिक दूरी कायम नगरेको, सेनिटाइजरको प्रयोग नगरेको तथा साबुनपानीले हात नधोएको देखाएको सदस्यसचिव डा. ज्ञवाली बताउँछन् ।

एनएचआरसीले उपत्यकाको २३ वटा सार्वजनिक  स्थानमा उक्त अध्ययन गरेको थियो । तरकारी बजार, शपिङ मल, बैंक, मठमन्दिर, सार्वजनिक यातायात लगायतका स्थलमा ६ विज्ञसहित ३९ जनाको टोलीले अध्ययन तथा अवलोकन गरेको उनको भनाइ छ ।

सार्वजनिक स्थलहरूमा २ हजार ७ सय ३ जनामा सर्वेक्षण गर्दा ७२.६६ प्रतिशतले मास्कको सही प्रयोग गरेको अध्ययनले देखाएको छ । मास्क लगाए पनि अन्यले भने नाक नछोप्ने, चिउँडो मुनि झुण्ड्याउने, हातमा राखेर हिँड्ने गरेको पाइएको उनले बताए ।

व्यक्तिगत रुपमा ४ हजार ५ सय २ जनामा गरेको सर्वेक्षणमा ७२.१ प्रतिशतले मात्रै मास्क प्रयोग गरेको पाइएको छ । १५.८ प्रतिशतले कपडाको मास्क प्रयोग   गरेको उनको भनाइ छ । यस्तै ३१.२५ प्रतिशत स्थानमा मात्रै सामाजिक दुरी कायम गरेको अध्ययनले देखाएको छ । अस्पतालका कुनै पनि चमेनागृहमा सामाजिक दूरी कायम नगरिएको अध्ययनको निष्कर्ष छ । ६० प्रतिशत ठाउँमा साबुनपानीको व्यवस्था गरिएको थियो भने ३० वटा सार्वजनिक यातायातमध्ये ५० प्रतिशतभन्दा कम यातायातमा एउटा सिटमा एक जना   राखेको पाइएको उनले बताए । 

तरकारी बजार, बैंक, शपिङ मल, यातायात लगायतका स्थानमा न्यून संख्यामा मात्रै सावधानी अपनाएको पाइएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनले देखाएको डा. ज्ञवाली बताउँछन् । संक्रमणबाट बच्नका लागि अनिवार्य रुपमा मास्कको प्रयोग, सामाजिक दूरी कायम, साबुनपानी तथा सेनिटाइजरको प्रयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सबैलाई आग्रह गरे । कोभिड–१९ को उपचार नभएकाले वर्तमानमा आफै सजग बन्नुको विकल्प नभएको उनको भनाइ छ । घर बाहिर अत्यावश्यक काम नपरिकन ननिस्कन पनि उनले आग्रह गरे ।

घरबाहिर निस्कदा जनस्वास्थ्यका मापदण्ड नमान्नेलाई सम्वन्धित निकायले कडाइ तथा कारवाहीको व्यवस्था  गर्न सदस्यसचिव डा. ज्ञवालीले सुझाव दिए । मास्क सही तरिकाले लगाएर संक्रमणबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन सबैले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

मास्क कसरी लगाउने ?

कोरोना संक्रमणबाट जोगिनका लागि सडक चोक, बजारमा निस्कँदा मास्क लगाए पनि कयौँले सही तरिकाले प्रयोग नगरेको जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे बताउँछन् । मास्क लगाउँदा वा फुकाल्दा सावधानी अपनाउनुपर्नेमा जोड दिँदै उनले भने, ‘अन्यथा मास्क लगाउनु–नलगाउनुको कुनै अर्थ रहँदैन ।’

प्याकेटबाट मास्क निकाल्दा मास्कको भित्रपट्टी नछोइकन दुईवटा डोरीलाई समातेर लगाउनुपर्ने उनले बताए । ‘मास्क लगाएपछि पटक–पटक हातले छुने फुकाल्ने गर्नु हँुदैन, मास्क भनेको नाक–मुख छोप्नको लागि प्रयोग गर्ने हो, त्यसलाई घाँटीमा झुन्ड्याउनु हुँदैन,’ डा. पाण्डेले भने ।

‘युज एण्ड थ्रोे’ मास्क एक पटक लगाएपछि पुनः प्रयोग गर्न नहुने उनले बताए । प्रायः मेडिकल मास्क चारदेखि ६ घण्टासम्म लगाउन सकिन्छ । एन ९५ मास्कमध्ये कुनै–कुनै चाहिँ धोएर पुनःप्रयोग गर्न मिल्ने उनी बताउँछन् ।

कस्तो–कस्तो मास्क लगाउने ?

उपलब्ध र सम्भव भएको खण्डमा एन ९५ मास्क लगाउनु राम्रो, किनभने यस मास्कले सामान्यतः ९५ प्रतिशत किटाणु रोक्छ । तर एन ९५ मास्कको प्रयोग गर्न सक्ने अवस्था नभए घर बाहिर भिडभाडमा निस्कँदा ‘युज एण्ड थ्रोे’ मास्क तथा कपडाले बनाइएका मास्क भएपनि लगाउनु संक्रमण रोकथामको हिसाबले निक्कै राम्रो हुने डा. पाण्डे बताउँछन् ।

रुघाखोकी अथवा श्वास–प्रश्वाससम्बन्धी समस्या भएकाले हाच्छ्यु गर्दा, खोक्दा र बोल्दा निस्किने कणलाई रोक्ने काम मेडिकल मास्कले गर्छ । मेडिकल मास्कले पनि एकबाट अर्कोमा कोरोना संक्रमणबाट जोगाउन सक्ने उनी बताउँछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप