‘यो वर्ष त पाल्छु, अर्को वर्ष थाहा छैन’
पोखरा । लेकसाइडमा यतिबेला विदेशी पर्यटक छैनन् । लडाउनले यतै रोकिएकाहरुलाई पनि अन्र्तराष्ट्रिय उडान खोल्ने बित्तिकै जानुपर्ने छ ।
जानै नपरे पनि के गरुन् ! खर्च सकिएर बेखर्चि जो बनेका छन् । लक्ष्मण गौतम घरि खल्तिबाट मोबाइल झिक्छन् । एकै छिन हेर्छन् अनि खल्तिमै हाल्छन् । हामी पुग्दा लक्ष्मण घोडालाई दानापानी खुवाउँदै थिए । एकै छिनमा घोडालाई लेकसाइडको क्याम्पिङ चौरमा लगिदै रहेछ । एकै छिनपछि लक्ष्मणका छोराले घोडा अघि लगाएर क्याम्पिङ चौरतिर हिडें । उनका आफ्नै छोरा होइनन् । छोरा जस्तै हुन् ।
पोखरा महानगरपालिका वडा नम्बर १८ सेदीमा उनको फार्म छ । ‘फामर्स हाउस एण्ट पोनी ट्रेक’ । लेकसाइड वपरपर देखिने घोडा उनैका हुन् । २६ वर्षदेखि उनी यो व्यवसायमा छन् । व्यवसायीक घोडा पालनमा लागेका पोखरामा कमै छन्, सायद ! पोखरा घुम्न आएका विदेशीलाई घोडामा पोखराको पानारोमा भ्यु देखाउनको उनको व्यवसाय अहिले ठप्प छ । करिब ३ दशक देखि निरन्तरता दिंदै आएको व्यवसायमा लकडाउनले नराम्रोसँग धक्का पु¥यायो ।
यसरी, हेरचाह मात्रै गरेर घोडा धेरै दिन पाल्न सकिन्न कि जस्तो लाग्न थालेको छ आजकाल लक्ष्मणलाई । जेनतेन यो वर्ष पालि हाले पनि अर्को वर्षदेखि घोडा घटाउने सोचमा छन् लक्ष्मण ।
‘यो वर्ष त पाल्छु अर्को वर्षदेखि त के गर्ने यस्तै अवस्था रह्यो भने,’ अलिअलि अंग्रेजी मिसाउँदै उनले भने, ‘स्टाफ पाल्नु प¥यो, घोडालाई औषधि उपचार पनि गनै प¥यो । थाहै छैन । तर केही चाही पाल्छु ।’
गएको ४ महिना अलि गाह्रै गरि बित्यो उनको । दैनिक ५, ६ वटा ग्राहक पाएकै हुन्थे । आम्दानी पनि राम्रै भई रहेको थियो । अहिले त घोडालाई हेरचाह गर्ने र दानापानी खुवाउने बाहेक अर्को कुनै कामै भएको छैन । कामै बन्द भएपछि उनले आफ्ना कामदारहरुलाई भनेका रहेछन्,.‘अब म तलब दिन सक्निँ, खाने बस्ने सम्म सक्छुँ ।’
उनकोमा ६ जना कामदार छन् । लक्ष्मणको प्रस्तावमा सबै जना सहमत भए । काम सुरु भएपछि तलब लिउँला भनेर कामदारहरु पनि काम गरि रहेका छन् ।
एघार वर्षको उमेरमा पोखरा झरेका लक्ष्मणले सानैमा पढाई छोडे । कास्कीकोटबाट पोखराका झरेका लक्ष्मणले १२÷१३ वर्ष त होटलमै काम गरें । होटलमा काम गर्दागर्दै ट्रेकिङ गाइड बनेका हुन् रे, लक्ष्मण ।
‘ट्रेकिङ गाइड गर्दागर्दै घोडा पाले राम्रो हुन्थ्यो कि भन्ने लागेर घोडा पाल्न सुरु गरें । घोडा पाल्ने, ट्रेकिङ पनि गर्छु,’ घोडापालन व्यवसायबारे सुनाउँदै उनले भने ।
साथीभाइले विदेश जाऔं नभनेका पनि होइनन् उनलाई । विदेशीले पनि लैजान्छु भनेका थिए रे ! तर, गरे नेपालमै केही हुन्छ भन्ने विश्वास लिएका लक्ष्मणले यहीं केही गर्ने अठोट गरे । अनि सुरु भयो ‘फामर्स हाउस एण्ट पोनी ट्रेक ।’
लकडाउन अघि दैनिक ६ चलाए पनि ग्रुप बढी हुँदा ८, १० जना पनि पुग्ने । घण्टाको ८ सयको दरले लिन्छौं । होटलबाट आउँदा कतिमा आउछ भन्ने थाहा नभए पनि हामीले ८ सय प्रति घण्टाको दरले लिन्छौं ।
घोडामा पर्यटक लिएर मनाङ, मुस्ताङसम्म पनि पुग्थे रे लक्ष्मण ।
‘घोडाको हकमा धम्पुस, घान्द्रुक, पञ्चासे, कहिलकाही मुस्ताङ, जोमसोम, मनाङसम्म पनि पुग्छौं,’ उनले भने, ‘स्तुपा, सराङकोट, अराउन्ड द लेक, वाटर फल, म्युजियम यतैै यतै घुमाई रहेका हुन्थ्यौं ।’
घोडामा पुस्ताङ पुग्न कति दिन लाग्दो रहेछ ? हामीले सोध्यौं । घोडामा मुस्ताङसम्म पुग्न ८ देखि ९ दिनसम्म लाग्दो रहेछ । ‘दिनमा ६ देखि साढे ६ घण्टा सम्म हिडाउँछौं, एनिमल हो धेरै हिडाउँदा थाकि हाल्छ,’ उनले भने ।
उनी कहाँ धेरै जसो मान्छे फ्रान्स, इटली, जर्मनी, जापान, अमेरिका, अष्ट्रलिया, कम्बोडिया, थाइल्याण्ड, बैंकक, बेल्जियम लगायतका देशबाट पर्यटकहरु घोडा चढ्न आउँछनु् । नेपाली पनि फाट्टफुट्ट आउछन् । तर, धेरै विदेशी पर्यटक नै हुन्छन् ।