बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शब्द र यसको नियतार्थ

आइतबार, २५ साउन २०७७, १४ : ०२
आइतबार, २५ साउन २०७७

म यहाँ शब्दको निहितार्थको कुरा गर्दै छैन । कुनै पनि शब्दको निहितार्थ त शब्दकोशमा भेट्न सकिन्छ, नियतार्थ शब्दकोशमा भेटिँदैन । त्यसलाई वक्ताको नियतमा खोज्नु पर्छ । नियत उसका व्यवहारमा भेटिने कुरा हो । 
यही श्रावण ३० गते बिहान कोभिड–१९ को अद्यावधिक जानकारी पस्किने क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक, डाक्टर जागेश्वर गौतमले भन्नुभयो, “अहिले कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ‘यथेष्ट’ छ ।” यस वाक्यमा परेको ‘यथेष्ट’ शब्दले मलाई निक्कै झकझक्यायो । यथा+इष्ट= यथेष्ट । यो संस्कृत शब्द हो र यसको अर्थ हो– चिताए जति, चाहे जति । यस शब्दार्थका आधारमा प्रस्तुत वाक्यको मजबुन हुन आउँछ, ‘अहिले मुलुकमा कोराना सङ्क्रमितहरुको सङ्ख्या सरकारले चाहेकै मात्रामा बढेको छ ।’ प्राडा. गौतमजीका भनाइको तात्पर्य त्यही हो भने अब प्रश्न बन्छ, सरकारले चाहेको सङ्ख्या कति हो ? यत्ति नै कि अझ बढी ? बढी हो भने कति बढी ? आजको सरकार मुलुकमा कोराना सङ्क्रमितहरुको सङ्ख्या कतिसम्म पुगोस् भन्ने चाहन्छ ? 

‘यथेष्ट’ शब्दको मूल, व्युत्पत्ति र निष्पाद्य अर्थ अर्को छ भने सरकारले  सप्रमाण स्पष्ट पार्नु पर्ला कि ? अन्यथा सरकारको आधिकारिक प्रवक्ता । त्यो पनि जनसाधारण नभएर असाधरण जन । प्राध्यापक भएका । विद्यावारिधि गरेका, हरेक पटक प्रवचनक्रममा आफैलाई “म प्राडा जागेश्वर गौतम” भनिआएका प्रबुद्ध व्यक्तित्वबाट अभिव्यक्त वाक्यमा व्यक्त शब्द । उहाँले अर्थ नबुझीकन ‘यथेष्ट’ शब्द प्रयोग गर्नु भएको भन्न मिल्दैन । अरूले लेखेको पढ्नु भएको हो भने पनि सुगाले जसरी बुझ्दैनबुझी पढिदिनुभयो होला भन्न पनि मिल्दैन ।

बुझ्दैनबुझी पढिदिनुभयो होला भनिदिँदा उहाँका नाम अगाडि उभिँदै आएका डबल पगरीको अपमान हुन सक्छ । बरु कोरोना फैलिँदै गएपछि सरकारले नै नेपाली भाषामा प्रचलित शब्दहरुको अर्थ फेरिदिएको पो हो कि ? त्यसै हो भने पनि जनताले सुसूचित हुन त पाउनु पर्यो नि । ‘यथेष्ट’ शब्दको मात्र अर्थ बदलिएको कि अरू शब्दहरुका पनि अर्थ बदलिएका  छन् ? जनतालाई थाहा चाहियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुक्तिबन्धु
मुक्तिबन्धु
लेखकबाट थप