मन्त्री कोइरालाद्वारा ३७ बुँदे कार्ययोजना सार्वजनिक
काठमाडौं–महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले आफ्नो डेढ महिने कार्यकालको बारेमा जानकारी गराएकी छन् ।
मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले मन्त्री पदमा नियुक्ति भएदेखि अहिलेसम्म गरेको कामको फेहरिस्त सुनाउँदै ३७ बुँदामा समेटिएको आगामी कार्ययोजना समेत प्रस्तुत गरिन् ।
मन्त्री कोइरालाले जेष्ठ नागरिकहरुको सम्मानका लागि सबै प्रदेशमा कम्तीमा १/१ वटा जेष्ठ नागरिक आश्रम स्थापना गर्ने, सार्वजनिक स्थलमा हुने लैंगिक हिंसा अन्त्य गर्न लागि पर्ने, छाउपडी, कमलरी, प्रथालगायतका कूरीति हटाउन विशेष कार्यक्रम नै संचालन गर्ने कार्ययोजना सुनाइन् ।
यस्तै महिलाको क्षेत्रमा ठूलो चुनौति रहेको भन्दै नवनिर्वाचित महिलामा प्रशासनिक , न्यायिक समिति निर्माण, समग्र नगर तथा गाँउपालिकाको नेतृत्व ,निति नियम र कानुन र लैगिंक हिंसा लैगिंक समानताको विषयलाई कसरी लिने भन्ने ठूलो चुनौतीको रहेको उनले बताइन् ।
स्थानीय तहमा निर्वाचित महिलाहरुलाई क्षमतावान बनाउन नसकेको खण्डमा महिला नेतृत्वले काम गर्न सकेन भन्ने प्रश्न उठ्ने भएको हुँदा सबै विषयमा जानकारी गराउनु पर्ने उनको भनाई थियो । यसको लागि निर्वाचित महिलालाई चरण÷चरणमा क्षमता विकासको तालिम प्रदान गरिने भन्दै आफ्नै कार्ययोजनामा समेटेकी छिन् ।
पहिलो चरणमा ७ वटा प्रदेशका प्रमुख तथा उपप्रमुख पदमा निर्वाचित भएका पदाधिकारीको लागि प्रशिक्षण दिइने छ । यस्तै दोश्रो र तेश्रो चरणमा वडा अध्यक्ष र आम निर्वाचित वडा सदस्यहरुको लागि प्रशिक्षण संचालन गरिने छ ।
ग्रामिण इलाकाका महिलाहरुको अवस्थामा खासै परिवर्तन नआएको हुँदा ,विपन्न ,हिंसा र पीडामा रहेको महिलाहरुको लागि कार्यक्रम केन्द्रित हुने पनि कार्ययोजनामा उल्लेख छ ।
तत्काल उद्धार कार्य समुह संचालन ,बालबालिका ,महिला,जेष्ठ नागरिक,अपाङगता भएका नागरिक र राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाहरुको कार्यक्रमलाई कार्ययोजनामा समावेश गरिएको छ ।
यस्तै महिला तथा बालबालिकाको क्षेत्रमा संचालन गरिने विभिन्न कार्यक्रममा ऐन संशोधन गर्नुपर्ने भएको हुँदा क्याविनेटबाटनै निर्णय गराउन पहल गर्ने पनि कार्ययोजनामा समेटिएको छ ।
मन्त्रालयबाट ७ सय ५३ वटा स्थानिय तहमा गएको कार्यक्रम सञ्चालनको लागि स्थानिय तहमानै महिला बालबालीका तथा समाज कल्याण शाखा गठन गरिने छ भने महिला,बालबालिका,जेष्ठ नागरिक ,समाज कल्याणको काम पनि स्थानिय तहबाट हुने मन्त्री कोइरालाले बताइन् ।
आर्थिक,सामाजिक र समाजमा हुने हरेक क्रियाकलाप र गतिविधिहरुमा महिलाको नेतृत्वदायि भूमिका निर्माण कसरी गर्ने भन्ने विषयमा राष्ट्रपति महिला उत्थान कार्यक्रम संचालन गरिने छ । यो कार्यक्रम दशैँ पछि सुरु हुने छ ।
मन्त्री भएसँगै आफूले महिला तथा बालबालिका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने काम गर्न सुरुवात गरेको भन्दै कार्ययोजना अनुसार चरणबद्ध रुपमा पूरा गर्न लागिपर्ने मन्त्री कोइरालाले बताइन् ।