केन्द्रीय संस्करण

ओलीतन्त्रको सन्त्रासमा लोकतन्त्र

person explore access_timeसाउन २४, २०७७ chat_bubble_outline0

विश्व कोरोनाका कारणले तहसनहस भएको छ । विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्ड धेरै देशले पालना गर्दै कोरोनासँग भिडिरहेका छन् । तर नेपालमा भने विश्व स्वास्थ्य सङ्गठनले लागू गरेका नियम आफूखुसी व्याख्या गर्दै पालन गर्ने र नगर्ने भइरहेको छ । सरकारको नेतृत्व गर्ने नेकपाका अध्यक्ष केपी ओलीले र उनको समूहले कोभिड–१९ का सर्वमान्य सिद्धान्तहरू पालना गरिरहेका छैन ।

स्थायी समिति बैठक फेस गर्न नसकेर कार्यकर्ता सडकमा ओली आफैले निर्देशन दिएर झारे । सबैले देख्यौँ तर अहिले प्रचण्ड–नेपाल समूहलाई गैरजिम्मेवार भएको आक्षेप लगाउँदै यो महामारीमा भीडभाड गर्नु हुन्न भनेर दर्शन दिरहेका छन्, केवल आफ्नो कर्सी र पद सुरक्षित राख्न । तर नेकपा ओलीको अगाडि गरुडको छायामा परेको सर्प जस्तो किन भएको छ ? एउटै उत्तर छ, बालुवाटारले शीतल निवासबाट अक्सिजन पाएको छ, जसले यो व्यवस्थाभित्र नै दुर्गन्ध फैलाएको छ । 

यसमा ओलीलाई हेरौँ । ओलीको दिमागमा जनता नै छैनन् । पार्टीको जनमत कब्जा गरेर अहिले पार्टीले पाएको मत उनको कारणले हो भनिरहेका छन् । व्यवहार पनि उनी सदाका लागि नियुक्ति पाएका प्रधानमन्त्री भए जस्तोे गरेका छन् । उनी निर्वाचित प्रधानमन्त्रीभन्दा जन्मसिद्ध सर्वाेत्कृष्ट नेता भएको ठानिरहेका छन् । अहिले समकालीन नेताहरुलाई गरेको तल्लो स्तरको व्यवहारले यसैलाई पुष्टि गर्छ । आम नेपाली जनताले धेरै समस्याबाट गुज्रिरहेको बेला उनलाई तत्कालीन विषयभन्दा अन्य कुरामा जोड दिन भ्याइनभ्याइ छ ।

सायद सत्ताको स्वाद र शक्तिको भोको भएर होला । कोरोना महामारीबाट उत्पन्न आर्थिक र मानसिक समस्याका कारण करिब १५ सय गरिब नेपालीले आत्महत्या गरे । प्रकृतिक विपद्ले तहसनहस पारेको बेला पार्टी र सरकारलाई सही ढङ्गले जनतामा केन्द्रित गर्नभन्दा कुर्सी केन्द्रित व्यवस्थापनमै दिन बिताइरहेका छन् । यो कुरालाई आन्तरिक पार्टी संरचनाले लगाम लगाउन र व्यवस्थित गर्ने कार्य गर्न सकिरहेको छैन । 

ओलीको मनोविज्ञान सकारात्मक प्रभावभन्दा नकारात्मक सोच र चिन्तनले ग्रस्त छ । यिनी सत्ताको बन्दुकले लोकतन्त्रका नमुनाहरु माथि बालुवाटारबाट हानिरहेका छन् । सिपालु पनि छन् । राष्ट्रिय परिवेशमा कुन कुरा चर्चित छ र त्यसलाई कसरी आफ्नो पद सुरक्षित गर्न प्रयोग गर्न सकिन्छ भनेर मात्र लागि रहेका छन् । 

उनले स्थायी समिति र केन्द्रीय समितिको सान्दर्भिकता छैन भन्ने देखाउन ‘अहिले सरकारले २५ जना भन्दा बढी भेला नहुन भनेको छ तर हाम्रा साथीहरु ४५० जनाको बैठक मागिरहेका छन्’ भन्दिए । क्या चलाखी र धूर्त प्रतिक्रिया ! आफ्नै कार्यकर्ता आफ्नै नेताहरुलाई गालीगलौज गर्दै सडकमा रमिता प्रदर्शन गरेको नदेखे झैँ गरेका छन् । गज्जब हुन ओली । 

फेरि पनि भाग्यमानी ओली 
ओलीले जेजसो गरे पनि कुर्सीबाट ओर्लिन परेको छैन । बैठक मान्दिनँ, बस्दिनँ, निर्णय मान्दिनँ भन्दा पनि समस्या परेजस्तो देखिन्न । यस्तो निरङ्कुश व्यक्ति र प्रवृत्ति देशलाई र जनतालाई घातक छ । 

ओली चरित्रमा व्यक्तिवादी, अलोकतान्त्रिक र मनोगत छन् । आफैले नेतृत्व गरेको सरकारले धेरै विवादित निर्णयहरु गर्याे । पार्टीभित्र छलफल नगरी आफूखुसी निर्णयमा पुग्दा आम जनता विपक्षमा उभिने स्थिति देखेपछि पछिहट्नु पर्याे । जस्तै गुठी विधेयक । त्यस्ता कम्तीमा दर्जन निर्णय गर्दै पछि हट्दै गरेका उदाहरण छन् । त्यसका बाबजुत ओलीलाई उनको समूहले महान नेता मान्छ ।

अचम्म के छ भने ओलीको सरकारले जतिसुकै विवादित निर्णय गरे पनि सूर्य थापा, गोकुल बाँस्कोटा, प्रदीप ज्ञवाली, ईश्वर पोखरेल जस्ता नेताहरु खरो रूपमा प्रतिरक्षा गर्छन् । उनीहरू ओलीका यस्ता गुलाम भएका छन् जसको राजनीतिक भविष्य ओलीको कृपा र आशीर्वादमा मात्र छ, जनतामा छैन । त्यसो नगरी ओलीलाई लोकतान्त्रिक बनाउँदै पार्टीमा अधिनस्त बनाउन उनको समूह लाग्ने हो भने अवस्था कस्तो हुन्थ्यो ? यसमा ओलीको भन्दा ओलीको चाप्लुसी गर्न समूहको भूमिका बढी छ, जसले ओलीलाई गलत काम गर्न उक्साइरहेका छन् । 

ओली भाग्यमानी ठहरिएका ऐतिहासिक अवस्था पनि छ । उनी गणतन्त्रविरोधी हुँदाहुँदै पनि गणतन्त्रको चाबी कब्जा गरेका छन् । कुनैबेला गणतन्त्रका लागि आन्दोलन हुँदा उनी कुनै दरबारमा शौखिन निन्द्रामा डुबिरहेका हुन्थे । तर समयले ओलीलाई त्यस्तो ठाउँमा पुर्यायो कि उनले गणतन्त्रको गर्दनमा प्रतिक्रान्तिको खुकुरी राखेर कुर्सीको बार्गेनिङ गरिरहेका छन् । 

अर्काे परिस्थिको फाइदा पनि लिएका छन् । नेकपा एमाले र एमाओवादी मिलेर बनेको नेकपाको सङ्क्रमणकालीन एकता प्रक्रियाबाट गुज्रिएको छ । महाधिवेशनमा सर्वसम्मत नेतृत्व निर्माण गर्ने र विचारको संश्लेषण गर्ने भनिएको हुँदा सबै कुरा महाधिवेशनमा टुङ्ग्याउनुपर्ने बाध्यता छ । तर ओलीले प्रचण्डको मुटुको आयतन र दिमागी हैसियत बुझेर आफू अनुकूल पार्टी र सरकार चलाइरहेका छन् । तँ तँ र म म जति गरे पनि ओलीको मनोविज्ञानले के भन्छ भने प्रचण्ड अब छोडेर जाँदैनन् । अब प्रचण्डलाई घुँडा टेकाउने समय यही हो । तर प्रचण्डले लिन सक्ने सम्भावित निर्णयले ओली र ओली समूहको दुखद् अन्त्य हुन सक्छ । किनभने ओली न विचार हुन् न आदर्श हुन् न कुनै दार्शनिक । 

उनी केवल एउटा ग्याङको नेता हुन् जसले डर र धम्कीको भरमा जे पनि गर्न सकिन्छ भनेर निकृष्ट व्यवहार देखाइरहेका छन् । आजसम्म यसरी चलेकै छ भनेर सधैँ यो नरहन सक्छ भन्ने सामान्य ज्ञानको अभाव ओली र ओली समूहमा देखिन्छ । 

ओलीको निरङ्कुश शैली र व्यक्तिवादी सोच
जब राष्ट्रपतिबाट प्रधानमन्त्रीले प्रस्ताव गरेका सबै कुराहरू शब्द र भावको प्रभाव नबुझी प्रमाणित र लागू गर्ने स्थिति बन्यो तब ओलिका लागि महाराजको अभिनय गर्ने सौभाग्य खुल्यो । ओलीले प्रचण्डलाई– निहुँ खोज्ने ? मेरो विरुद्धमा निर्णय भए म पार्टी विभाजन गर्दिन्छु । म अध्यक्ष र प्रधानमन्त्री दुवै पद कुनै हालतमा छोड्दिनँ । यही विषयमा छलफल गर्न बालुवाटार आइरहनुपर्दैन । 

मबाट सम्झौता हुन्न, जेजे छोडेर आउने हो आउनुस् भनेर ठाडै हकार्छन् । खै कुन्नि, शङ्कर पोख्रेलदेखि ईश्वर पोखरेलसम्म र सूर्य थापादेखि सुवास नेम्वाङसम्मका नेताहरु कसरी ओलीलाई अनुसरण गरिरहेका छन् र राजनीतिक भविष्यको डकार मारिरहेका छन् ? कि राजनीतिमा चेतना र विवेकको स्थान हुँदैन ? शासकीय शैली र चिन्तन गलत हुँदाहुँदै त्यसलाई सहयोग गर्नु राजनीतिक अपराध हो । जुन तरिकाले जान खोजेका छन्, त्यो सरासर गलत छ । ओली अनुकूल व्याख्या गर्दा स्थापित मूल्य मान्यता धरापमा पर्ने र विस्थापित भएको प्रतिक्रान्तिकारी र प्रतिक्रियावादी तत्वले ठाउँ पाउने हुन सक्छ । यसमा ओलीले कुनै ख्याल गरेको देखिन्न । खालि उहाँ आफूलाई गड फादर भनेर नतमस्तक हुने झुण्ड खोजिरहेका हुन्छन् । उनलाई आफ्नो नाम कसरी आउँछ भन्नेमा मात्र ध्यान छ । 

नाक बन्दीको समयमा भारतलाई जबरजस्त जवाफ दिएर एकाएक भाइरल हुँदै चर्चाको शिखरमा पुगेका ओलीलाई अन्ध राष्ट्रवाद जस्तै अमूर्त कुरामा खेलेर सोझा मान्छेको मन जित्न आउँछ । उनी दुई चार जना भेला भएर ओलीले जे गरेका छन् बहुत राम्रो गरेका छन् भन्ने हो भने उनको नजरमा परिहाल्छन् । सार्वजनिक नजर कब्जा गर्न र माहोल बनाउन धेरै सिपालु ओली आफूलाई चर्चामा ल्याउन धेरै कार्डहरू प्रयोग गरिसकेका छन् । विगतमा जस्तै राष्ट्रवादी बन्दै सबैलाई चकित पार्न आफू मार्क्सवादी कम्युनिस्ट हुँदाहुँदै पनि रामको जन्मभूमिको विषयमा प्वाकक बोलेर नजर खिचिदिए ।

फेसबुकका भित्तामा, ट्विटरका आँगनमा र युट्युबका खोल्सामा ओलीको चर्चा भयो । यो चर्चा र परिचर्चा देखेर ओलीलाई सूर्य थापा र गोकुल बास्कोटा जस्ता नेताहरुले, आम जनता तपाईंको पक्षमा छन् ढुक्कसँग अगाडि बढ्नुस् भनेर चाप्लुसी गरे होलान् । होइन अमूर्त कुरा गरेर जनताको विवेकमा झारको बीउ रोप्न सकिन्छ र भन्या ? जनतालाई जे भने पनि हुन्छ ? जे गर्दिए पनि हुन्छ ?

ओली समूहले जनताको अस्तित्व स्वीकार्दैन । उनीहरूलाई जनता भेँडा हुन यिनीहरूको भावनामाथि खेलेरै सत्ता चलाउनुपर्छ भन्ने लागेको भान हुन्छ । ओलीको पक्षमा कुतर्कसमेत महान वाणी ठानेर प्रचारप्रसार गर्ने समूह केबाट चल्छन् ? ओली आजलाई भन्दा भोलिलाई झन् समस्या हुन । आज ओलीलाई महान देख्ने फेसबुक पोस्टहरु सेयर गर्ने कार्यकर्ताहरु ५ वर्षपछि यो कुर्सीका लागि बुद्धि र विवेक बन्दकी राख्ने लिलाममा दिने अवसरवादी गवार नेता भन्नेछन् । त्यस्ता कार्यकर्ता ओलीको सफलताबाट राजनीतिक पहुँच विस्तार गर्ने मात्र ध्यानमा छन् ।

यो देशमा बालुवाटारको मिसन सूर्य थापाको फेसबुक वालबाट सम्प्रेषण भइरहेको छ । उनी माधव नेपाल र नाराणकाजीभन्दा शक्तिशाली नाटक गरिरहेका छन् । उनको स्वभाव र चिन्तन व्यक्तिवादी चरित्रलाई आश्रय दिने र पहुँच पुर्याएर लापेट्ने मात्र त हो ? ओली यस्तै मनुष्यबाट प्रेरित भएर अटेर गरिरहेका त छैनन । ओलीले लक डाउनकै बीचमा पार्टी विभाजन गर्ने अध्यादेश पनि ल्याए । बिना छलफल संसद्को हिउँदे अधिवेशन बन्द गर्दिए । अब आफ्नो अनुकूल माहौल नबनुन्जेल संसद नबोलाए पनि भयो । स्थायी समिति र केन्द्रीय समिति छोडेर सचिवालय ताकिरहेका छन् । 

गत हप्ता जब नेता वामदेव गौतमले एकाएक ओलीलाई समर्थन गरेर पार्टी एक बनाउने नाम जप्दै ६ बुँदे प्रस्ताव बाहिर ल्याए । वामदेवले विश्वसनीयता गुमाएका मात्र छैनन् पार्टीमा उनलाई विश्वास गर्ने आधार लगभग समाप्त भएको छ । किनभने ओली गलत हुँदाहुँदै पनि ओलीलाई सिंहासनमा राखेर पार्टी र देशको भविष्य बन्दकी राख्न उनले भूमिका खेलेका छन् । तर पनि वामदेवले ओलीको चर्काे आलोचना गरेको नाटक पनि प्रस्तुत गर्दछन् । एकाएक वामदेव ओलिको लागि खम्बा बन्ने देखेपछि बिरामीको नाटक रच्दै बालुवाटार नछाड्ने ओली आफै वामदेवको घरमा रात्रि भोज खान गए । 

भविष्यका लागि केके खिचडी पकाए बाहिर आउँदै गर्ला तर तत्कालका लागि ओलीलाई काँध थापेर सूर्य थापा मात्र होइन सुवास नेम्वाङ, प्रदीप ज्ञवालीसम्मका नेताहरु खुब राष्ट्रवादी भएका छन् । बाहिर चर्चा छ वामदेवलाई महाधिवेशनमा अध्यक्ष र अर्काे चुनावमा प्रधानमन्त्री बनाउने उधारो ललिपप दिइएको छ । समस्या जहाँको त्यहीँ छ, व्यवहार र शैली जस्ताको तस्तै छ । तर पनि ओली अझै गज्जब तुरूप प्रयोग गरिरहेकै छन् । 

  प्रचण्डले के गर्लान् ?

गणतन्त्रका लागि करिब ४ दशक सङ्घर्ष गरेर यहाँसम्म आएका प्रचण्डलाई समयले जटिल मोडमा ल्याइपुर्याएको छ । धम्कीको भरमा सत्ता चलाइरहेका ओलीलाई पार्टी मातहतमा ल्याउन जरुरी छ । सरकार सञ्चालनका सन्दर्भमा ओलीलाई पार्टीसँग समन्वय गरेर जाने बनाउनु छ । विभिन्न महत्त्वपूर्ण नियुक्तिहरु सोच विचार गरेर पार्टी नेतृत्वसँग विमर्श गरेर गर्ने गराउनु छ ।

सबै बहस र छलफल ओलीलाई विधि र प्रक्रियाभित्र ल्याउन केन्द्रित छन् । तर ओलीले कोभिड–१९, राष्ट्रवादी छवि र राष्ट्रपति दाहिना हुनुलाई आफू अनुकूल प्रयोग गर्ने र अरूलाई सिध्याउने प्रपञ्चमा लागेका छन् । अब प्रचण्डले राजनीतिक क्षेप्यास्त्र प्रयोग नगरी नहुने भएको छ । जसले बालुवाटार र शीतलनिवासको गरिमा कायम गराउने छ । 

शीतल निवास पुर्याएर प्रचण्डलाई जबजको विचार बोक्न लगाउने ओली प्रयास ओलीबाटै भएको हो  । राष्ट्रपति पक्षपाती नभए हुन्थ्यो । जुन कुरा एकता प्रक्रियासँग जोडिएको छ र महाधिवेशनमा गएर टुङ्ग्याउनुपर्ने छ, त्यो बालुवाटार र शीतल निवासको बन्द कोठामा मिलाउन खोज्नु राजनीतिक स्खलनको उदाहरण हो । 

प्रचण्डसामु धेरै विकल्प छन् । अब एकता प्रक्रिया पूरा गर्दै पार्टीको नेतृत्व लिने तयारी गर्नै पर्दछ । फेरि यो ओलीको कारणले दीर्घकालीन तरिकाले असम्भव पनि देखिन्छ । 

प्रचण्डले पहिला जारी बैठक र छलफलमार्फत आफू महाधिवेशनबाट सर्वसम्मत पार्टी अध्यक्ष र भावी प्रधानमन्त्रीका रूपमा मात्र सम्झौता गर्नुपर्छ । यसका लागि समय छ । यो विवादको घेरामा परेको असफल सरकार यसै छाड्ने हो भने अर्काे चुनावमा जनमत अन्तै जान सक्छ । आगामी दिनमा आफू अध्यक्ष र प्रधानमन्त्री हुने सम्झौता गरेर सरकार र पार्टी गतिशील बनाउन पहल गर्नुपर्दछ । यो प्रचण्डको आँटमा भर पर्छ । 

ओलीले विधि, पद्धति र पार्टी निर्णय मान्दिनँ भनेर भनिरहेका सन्दर्भमा अब ओलीलाई बालुवाटारमा राख्नु गम्भीर भूल हुन्छ । त्यसैले ओलीका सीमाहरू भित्रबाटै अन्तिम प्रहार नगर्ने हो भने अवस्था बिग्रन सक्छ । 

प्रचण्डले बुझ्नुपर्ने कुरा के हो भने एकता गलत विचार प्रवृत्ति र नेतृत्वको रक्षाको निमित्त हुन सक्दैन । ओली आम रूपमा बढी सहानुभूति पाएको भए पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा कूटनीतिक हिसाबले इतिहासकै कमजोर प्रधानमन्त्री हुन् । ओलीमा काँग्रेस र जसापासँग त सम्बन्ध बनाउने क्षमता छैन भने भारत, चीन र अमेरिकासँग शक्ति सन्तुलन मिलाएर जाने कुरा असम्भव छ । कोभिड–१९ नियन्त्रण आएर दैनिक जीवन सहज हुने बेलासम्म प्रचण्डको सक्रियता जरुरी छ ।  गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्ष जस्ता आधारभूत परिवर्तनलाई संस्थागत विकास गर्न पनि प्रचण्डले सक्रियता लिनै पर्छ  । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.