तीज गीतमा पुरुष हावी, पैसाले बिगार्यो
काठमाडौं । हिन्दु धर्मावलम्बी महिलाले श्रद्धापूर्वक मनाउने पर्व ‘तीज’ आउन करिब दुई साता बाँकी छ । तीज भित्रिन लाग्यो भन्नासाथ महिलाहरु रोमाञ्चित हुन्छन् र माइती–साथीसंगीसँग भेटघाट गर्न पाउने खुशीबाट पुलकित हुन्छन् । हुन पनि, तीज हिन्दु धर्मावलम्बी महिलाको विशेष पर्व हो । दर खाने, व्रत बस्ने, नाचगान गर्ने तीजका विशेषता हुन् । हरेक वर्ष तीजलाई लक्षित गरेर बजारमा दर्जनौँ नयाँ गीत–संगीत भित्रिने गरेका छन् ।
यसरी भित्रिएका गीतमध्ये केही मौलिक पनि हुन्छन् भने धेरैजसो उच्छृङ्खल, अश्लील पाइन्छन् । केहीले चर्चा बटुल्नकै लागि उच्छृङ्खल र अश्लील गीतको सहारा लिएका हुन्छन् भने केहीले सांस्कृतिक महत्व नबुझेर त्यस्ता गीत ल्याउने गरेको पाइन्छ । कयौँ त्यस्ता गीत छन्, जसका शब्दबारे विवाद भएको छ । उच्छृङ्खल, अश्लील गीतले तीजको सांस्कृतिक पाटोलाई नै विकृत तुल्याउँदै गएको धेरैको गुनासो छ ।
लोकगायकका रुपमा ख्याति कमाएका बमबहादुर कार्की तीजको नाममा जस्ता पनि गीत–संगीत बन्न थालेकामा चिन्तित छन् । उनी नेपालमा तीजको गीत रेकर्डिङको सुरुवात गर्ने ब्यक्तिसमेत हुन् । यस कारण पनि उनी तीज गीतको मौलिकता हराउने पो हो कि भन्नेमा चिन्तित देखिएका हुन् ।
पहिले तीजको माहोल साउने सङ्क्रान्तिपछि सुरु हुने गर्दथ्यो अर्थात्, साउने सङ्क्रान्तिपछि मात्र बजारमा तीज गीत भित्रिन्थे । अचेल भने चैत–वैशाखतिरै तीज गीत बजारमा आउँछन् । गीत चाँडो बजारमा आएकोमा लोकगायक कार्कीको आपत्ति छैन । तर तीज गीतका नाममा जस्तो पनि गीत आउन थालेकोमा भने उनको आपत्ति छ । त्यस्ता गीतले संस्कृति बिगार्न थालेकोमा उनलाई चिन्ता छ ।
पहिलो तीज गीत
बमबहादुर कार्कीले रेडियो नेपालको स्टुडियोमा २०४४ सालमा ‘दिदीबहिनी’ बोलको तीज गीत रेकर्ड गराएर नेपालमा तीज गीत रेकर्डिङको सुरुवात गरेका थिए ।
कार्कीले त्यतिबेला तीज गीत बनाउनुको पछाडि एउटा कथा छ । त्यतिबेला उनी रेडियो नेपालका जागिरे थिए । जागिरको सिलसिलामा वर्षेनि तीजका समाचार रिपोर्टिङका लागि उनी पशुपति जानुपथ्र्यो ।
त्यतिबेला तीजका गीतहरु नभएकाले महिलाहरु काठमाडौंका काठे भाकाका गीतमा नाचेर रमाइलो गर्थे । त्यो देखेर उनलाई दिक्क लाग्थ्यो । महिलाहरुको चाड तीजमा उनीहरुकै गीत भए कति बेस, कति सजिलो हुन्थ्यो होला ! उनको मनमा यस्तै कुरा खेल्थे ।
त्यतिबेला तीज गीतको आवश्यकता महसुस गरेर आफूले ‘दिदीबहिनी’ बोलको तीज गीत रेकर्ड गराएको उनी बताउँछन् । उनले भने, ‘त्यो समय तीज गीत बनाउँदा चुनौती त धेरै थिए तर इतिहास पनि त निर्माण भयो नि !’
गीत २०४४ मा रेकर्ड भए पनि २०४५ मा मात्र बजारमा आएको थियो । गीत रेकर्ड सकिने बित्तिकै पूर्वाञ्चलमा ठूलो भूकम्प गएका कारण एक वर्ष ढिलोगरी गीत सार्वजनिक गरेको कार्कीले सुनाए ।
रेडियो नेपाल मै गीत रेकर्ड गर्नुपर्ने भएकाले त्यहीँबाट स्वर परीक्षा पास भएका महिला कलाकारहरु तारादेवी, मीरा राणा लगायतका कलाकारको स्वरलाई उनले गीतमा समेटेका थिए ।
शब्द तथा संगीत कार्कीकै रहेको उक्त गीतले नेपालमा तीजको गीत निर्माणको परम्परा सुरु ग¥यो । बालिकाहरुको चाहना के हुन्छ ? युवतीको इच्छा के रहन्छ ? विवाहित महिला तथा बुढाबुढीको समस्या के छन् भन्नेजस्ता विषय उक्त गीतमा समेटिएको उनको भनाइ छ ।
रेडियो नेपालमा रेकर्ड भए पनि उक्त गीतको एल्बम भने म्युजिक नेपालले बजारमा ल्यायो । त्यो एल्बममा ‘दिदी बहिनी’ सहित १४ वटा गीत समेटिएको कार्कीले बताए ।
अहिलेको तीज गीत ‘बामरी’
शीरैमा मेरो गुर्दाैली फूल,
दिदीबहिनी हो कानैमा बामरी
धेरै सालपछि हो भेट भयो बल्ल
दिदीबहिनी हो नाँचीदेऊ राम्ररी
माथिका शब्द कार्कीले यो बर्ष बजारमा ल्याएको ‘बामरी’ बोलको तीज गीतको हो । मौलिक तीज गीतको रुपमा आफूले यो गीत ल्याएको उनको भनाइ छ ।
यो वर्ष पनि तीजका लागि भनेर विभिन्न विकृत गीतहरु बजारमा भित्रिएका छन् । त्यस्तो विकृति, विसंगतिले भरिएको गीत विरुद्धको अभियानस्वरुप पनि यो गीत बनेको उनको भनाइ छ ।
शिवा आले कार्की र गीता श्रेष्ठको स्वर रहेको गीतमा लय, शब्द, संगीत भने बमबहादुर कार्की कै छ । गीतमा संगीत संयोजन महेन्द्र भण्डारीले गरेका हुन् ।
गीतको भिडियोसमेत बनेको छ । भिडियो निर्देशन भने प्रकाश भट्टले गरेका हुन् । कोरोनाको विषम परिस्थितिमा पनि केही दिदीबहिनी भेला गरेर भिडियो बनाइएको छ ।
‘यतिबेला विश्वमा कोरोनाको त्रास छ । नेपालमा पनि सरकारले सर्वसाधारणको सुरक्षाका लागि कहिले लकडाउन, कहिले जोर–बिजोर प्रणालीलगायतका सुरक्षाका विभिन्न सजकता अपनाइरहेको छ,’ कार्की भन्छन्, ‘जमघट हुने, रमाइलो गर्न मिल्ने वातावरण अहिले छैन । यस्तो माहोलमा यो पटकको तीज कस्तो होला, के होला भन्ने खुलदुली अधिकांश दिदीबहिनीको छ । यो समय एउटा समवेदनशील तीजको गीत दिनुपर्छ भनेर बामरी बोलको गीत बनाएको हो ।’
तीजको सांस्कृतिक पक्षलाई जीवन्त राख्ने गरी तीज गीत ल्याएको उनको भनाइ छ ।
तीज गीतले सीमा नाघे
हुन त तीजका गीत केही वर्ष अगाडिदेखि बहकिँदै जान थालेका छन् । पछिल्लो समय तीज गीतमा महिलाभन्दा पनि पुरुष बढी हावी भएको देख्न सकिन्छ । भड्किला र अश्लिल गीतले पनि पछिल्लो समय बजारमा प्रवेश पाएका छन् । यस कारण पनि शिष्ट हुनुपर्ने आवाज उठ्दै आएको छ । उनको बिचार पनि यस्तै छ ।
बाबुआमा, सासुससुरा, दिदीबहिनी, बाबुछोरीलगायत परिवारभित्र र बाहिरका सबै नातागोता, मान्यजनहरुसँग बसेर निर्धक्क सुन्न सक्ने र समाज परिवर्तनमा सकारात्मक भूमिका निर्वाह गर्ने गीत बन्नुपर्ने उनको जोड छ ।
तीजका गीतसंगीतले पछिल्लो समय बाटो बिराउँदै गएकोमा चिन्तित छन् कार्की ।
‘समय अनुसार केही परिवर्तन आवश्यक त थियो । तर, अहिलेजस्तो विकृत गीत चाहिएको थिएन,’ उनले पहिलेका दिन सम्झिए, ‘महिलाले आफ्ना मनमा लागेका, दुःख, पीडा, खुशी निर्धक्क पोखेका तीज गीत हुन्थ्यो पहिले । यिनै भावना पोख्ने माध्यम हुन्थ्यो तीज, त्यसैले यसको महत्व पनि हुन्थ्यो ।’
विवाहको बेलामा खेल्ने रत्यौली, बारैमासमा गाइने लोकगीत अहिले तीज गीत बनेर भित्रिएको उनको भनाइ छ । बाजा, लय र शब्दको समेत कुनै तालमेल नभएका गीतलाई समेत तीज गीत भनेर बजारमा ल्याउने होड चलेको उनी बताउँछन् । तीजका भेषभुषा, प्रस्तुतिको त कुरै छाडौँ, सीमाभन्दा बाहिर गएका यस्ता गीतलाई दिदीबहिनीले बोलेर तह लगाउनुपर्ने उनले बताए ।
पैसाले बिगा-यो गीत
तीजको गीतमा विकृति ल्याउने काम धेरै हदसम्म पैसाले गरेको उनको बुझाइ छ । पैसा आउने भएकोले अचेल टिकाउभन्दा पनि बिकाउ गीत बन्न थालेको उनले बताए ।
‘कतिपय तीज नमनाउने समुदायका मानिसले पनि तीज गीत निकाल्न थालेका छन् । यस्ताले तीजको संस्कार बुझेनन्, उनीहरुलाई तीज गीत कस्तो हुनुपर्छ भन्ने थाहा भएन,’ उनले भने, ‘कोही बुझेर पनि विकृतितिर जानाजान गइरहेका छन् । केहीको क्रियाकलाप देख्दा यस्तो लाग्छ, हाम्रो संस्कारमाथि प्रहार गर्न प्रायोजित हुन् ती ।’
कतिपय तीज गीतमा महिलाको पोशाक लगाएर पुरुषसमेत नाच्न थालेका छन् अचेल । यतिबेला गायक–गायिकाले जे गरे पनि हुनेजस्तो देखिएको छ । यस्तालाई छुट दिन नहुने आवाज समेत उठिरहेका छन् । उनी पनि सहीलाई स्वीकार र गलतलाई तिरस्कार गर्नुपर्ने खाँचो औंल्याउँछन् ।
गीत–संगीतमा विकृति भित्र्याउने काम नयाँ कलाकारले बढी गरेको उनी बताउँछन् । गीत–संगीतमा आफू आर्थिक लाभले भन्दा पनि यसको विकास र विस्तारका लागि भनेर लागेको बताउने कार्की मिहिनेत नगर्ने, ज्ञान थोरै राख्ने र पैसा कमाउने उद्देश्यले गीत–संगीतमा लागेकाहरुका कारण विकृति भित्रिएको आरोप लगाउँछन् ।
‘जसरी सफा कपडामा थोरै हिलो प-यो भने पनि पुरै फोहोर देखिन्छ । गीत–संगीतमा पनि त्यस्ता केही मानिस छन्, जसले पुरै सांगीतिक क्षेत्रलाई बद्नाम गराएका छन्,’ उनले भने ।
संस्कार र संस्कृति राष्ट्रको ढुकढुकी
संस्कार र संस्कृति राष्ट्रको ढुकढुकी पनि हो । संस्कृतिका लागि अरु देशमा कलाकारहरु, आमनागरिक मरिमेटेर लाग्ने गरेको भए पनि नेपालमा बिगार्नतिर लागेको परिदृष्य देखिएको उनको भनाइ छ । संस्कृति जोगाउन राज्य खरो उत्रिनुपर्ने माग पनि उठ्ने गरेको छ ।
त्यसो त कला, संस्कृति सम्बर्द्धनका लागि संस्कृति मन्त्रालय र संस्कृतिक संस्थान नभएको होइन । सांस्कृतिक विकृतिको मामिलामा संघसंस्थाको भूमिका शुन्य रहेको उनी सुनाउँछन् ।
‘संचार मन्त्रालयबाट पनि गीत–संगीतको विकृति विसंगतिमा रोक लगाउन मिल्छ होला । हैन भने सेन्सरको ब्यवस्था गर्नुप-यो,’ उनले अगाडि थपे, ‘पब्लिकले पनि बहिस्कार गरेर त्यस्तालाई अब लखेट्नु पर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने