मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्राधिकरणको रु ४१ अर्ब ११ करोड बजेट

शुक्रबार, २३ साउन २०७७, २१ : ५६
शुक्रबार, २३ साउन २०७७

नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यानं)ले चालु आर्थिक वर्ष २०७७/०७८ का लागि रु ४१ अर्ब ११ करोड तीन लाख बजेट बिनियोजन गरेको छ । प्राधिकरणले आज सार्वजनिक गरेको चालु आवको बजेट तथा नीति कार्यक्रममा निर्माणाधिन अन्तरराष्ट्रिय विमानस्थललाई प्राथमिकता दिइएको छ । 

प्राधिकरणले अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ का लागि रु ४६ अर्ब ९६ करोड ५० लाख ९९ हजार बजेट विनियोजन गरेको थियो । यसपटक कोभिड–१९ का कारण विमानस्थलको आय घटेकाले प्राधिकरणले चालु आवका लागि अघिल्लो वर्षको तुलनामा केही कम बजेट विनियोजन गरेको हो ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले यस पटकको बजेटमा नयाँ कार्यक्रम नभई निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताए । प्राधिकरणले संस्थागत सुधार, विमानस्थल विकास तथा स्तरोन्ति, सञ्चार उपकरण, सुरक्षा उपकरण तथा मौसमी उपकरण जडान, अन्तरराष्ट्रिय विमानस्थल विस्तार र जनशक्तिलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ ।

विमानस्थल पूर्वाधारतर्फ प्राधिकरणले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थको निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । गौतमबुद्ध विमानस्थलको लािग अधिग्रहण गरिएको जग्गाको मुआब्जाका लागि प्राधिकरणले रु दुई अर्ब १६ करोड ८३ लाख विनियोजन गरेको छ । 

त्यस्तै पोखरा विमानस्थलको लागि गरिएको जग्गा अधिग्रहणलाई  रु  ७८ करोड विनियोजन गरिएको छ । निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणको लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणलाई रु २० करोड व्यवस्था गरिएको छ । यो विमानस्थलको गुरुयोजना तयार गर्ने जनाइएको छ ।

यसैगरी गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा प्रमाणित गर्ने, अन्तरप्रदेश उडानमा प्रोत्साहन दिने, आइटी नीति तयार गर्ने, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई २४ घण्टा नै सञ्चालन योग्य बनाउने प्राधिकरणको योजना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप