मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

स्वास्थ्यकर्मी सङ्क्रमित, सरकारी र निजी अस्पताल बन्द

शुक्रबार, २३ साउन २०७७, २१ : ४३
शुक्रबार, २३ साउन २०७७

सप्तरी । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र छिन्नमस्ता अस्पताल आजदेखि बन्द भएको छ । गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षका चार जना अहेब र छिन्नमस्ता अस्पतालको शल्यक्रिया कक्षमा कार्यरत सल्यक्रिया सहायकमा आज कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल बन्द भएको हो । 
    
अस्पताल निसङ्क्रमण गर्नुपरेको र ठूलो सङ्ख्यामा अन्य स्वास्थ्यकर्मीलाई होम क्वारेन्टिनमा राख्नु परेकाले आकस्मिक कक्ष, ‘सर्जरी’ र ‘ओपिडी’ सेवासमेत बन्द गरिएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजितकुमार झाले बताए । आकस्मिक कक्षमा तीन जना अहेव यसअघि नै सङ्क्रमित भएर आइसोलेशनमा छन् भने सरसफाइ कर्मचारी र अस्पतालकै पोषण गृहमा कार्यरत नर्स दुई दिनअघि मात्र निको भई घरमा आराम गरिरहेका छन् । 
    
आकस्मिक कक्षका सात जना अहेब आइसोलेशनमा भएको र शङ्कास्पद तीन चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी, कर्मचारी होम क्वारेन्टिनमा बस्नु परेकाले आकस्मिकका साथै ‘सर्जरी’ र ‘ओपिडी’ सेवासमेत बन्द गर्नुपरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर झाले बताए । आकस्मिक कक्ष निसङ्क्रमण गर्न पूरा दिन लाग्ने भएकाले आवतजावत बन्द गरी दिनभरि सेवा ठप्प हुने भएको छ ।
    
सामान्य हुँदै गएका आकस्मिक कक्षमा उपचाररत बिरामीलाई होम क्वारेन्टिनमा बस्न घर पठाइएको र निगरानीमा राख्नुपर्ने सर्पदंश, विष सेवनसहितका पाँच÷छ जना बिरामीलाई बरण्डामा छुट्टै राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । 

आकस्मिक कक्षमा उपचाररत राजविराज नगरपालिका–६ का ५५ वर्षीया एक बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मीको पिसिआर परीक्षण गरिएको थियो । जसमा चार जना अहेबमा आज सङ्क्रमण पुष्टि भएको हो । उनको सम्पर्कमा आएका दुई चिकित्सकसहित १४ जना होम क्वारेन्टिनमा छन् ।
    
त्यसअघि पिसिआर परीक्षण नगरी एक महिनाअघि मलेशियाबाट आएर घर बसेका रूपनी गाउँपालिका–५ धुरगाउँका ४५ वर्षीय पुरुषको गत मङ्गलबार मृत्यु भएपछि बुधबार गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको थियो । उनको उपचारमा संलग्न आकस्मिक कक्षमा कार्यरत शङ्कास्पद स्वास्थ्यकर्मीको स्वाब सङ्कलन गरिएको छ । 

धरान लैजाँदै गर्दा बाटोमा मृत्यु भएका उनलाई धरान लैजानुअघि गनासिं अस्पतालमा दुईपटक भर्ना गरिएको एक अहेबले जानकारी दिनुभयो । सो क्रममा उपचारमा संलग्न भएका सात जना स्वास्थ्यकर्मी पनि होम क्वारेन्टिन भएको अस्पतालले जनाएको छ ।
    
सात जना अहेबमा सङ्क्रमण पुष्टि भएपछि र तीन चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी, कर्मचारीलाई होम क्वारेन्टिन गर्नु परेपछि अस्पतालका अन्य सेवासमेत प्रभावित भएको छ । राजविराजमै रहेको छिन्नमस्ता अस्पताल (निजी) को ‘अपरेशन थेटर’मा कार्यरत सिरहा नगरपालिका–१७ का ३३ वर्षीय शल्यक्रिया सहायकमासमेत आज कोरोना सङ्क्रमण पुष्टि भएको सो अस्पतालले जनाएको छ ।

दुई दिनअघिबाटै नयाँ भर्ना लिन बन्द गरेको छिन्नमस्ता अस्पतालमा हाल अस्पतालका एक कैदीसहित शल्यक्रिया र प्लाष्टर गरेका तीन बिरामी उपचाररत छन् । सो अस्पतालका चिकित्सकसहित ७० जना कर्मचारीलाई होम क्वारेन्टिन गरिएकाले अस्पताल पूर्णरूपमा बन्द गरिएको प्रशासन प्रमुख राजेश झाले जानकारी दिए ।
    
केही चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी दुवै अस्पतालमा कार्यरत छन् । दुवै अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएपछि अस्पताल बन्द हुँदा उपचार सेवाबाट जिल्लावासी वञ्चित हुनुपरेको छ ।
    
गनासिं अस्पताल प्रशासनका अनुसार नयाँ बिरामी भर्ना लिन नसकिए पनि भर्ना भएका बिरामीको भने उपचार यथावत रहने छ । “निसङ्क्रमण गरेर आकस्मिक कक्ष सुरक्षित बनाएपछि सेवा सञ्चालन हुनेछ”, अस्पतालका दीपेन्द्र सिंहले भने, “अस्पतालबाट अन्यत्र सङ्क्रमण फैलिन नपाओस् भनेर सावधानी अपनाएको र निसङ्क्रमण नगरुञ्जेल सेवा बन्द गर्नुपरेको हो ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप