मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सरकारको प्रभावकारी कदमका कारण अनुमान गरेजस्तो सङ्क्रमित बढेनन्

शुक्रबार, २३ साउन २०७७, २१ : १८
शुक्रबार, २३ साउन २०७७

कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका नखेलेको भए आइतबारसम्म ९१ हजार सक्रिय सङ्क्रमित हुनसक्ने आँकलन गरेको थियो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खराब अवस्थामा साउन २५ गतेसम्म सक्रिय सङ्क्रमित ९१ हजार र मध्यम अवस्थामा भदौ २ गतेसम्म ३९ हजार हुन सक्ने अनुमान गरेको थियो । तर कोभिड– १९ रोकथाम र नियन्त्रणका लागि सरकारले खेलेको प्रभावकारी कदमका कारण त्यति ठूलो सङ्ख्यामा सङ्क्रमित हुन पाएनन् । आजको दिनसम्म छ हजार ३३० जना सक्रिय सङ्क्रमित रहेका छन् । 

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सङ्घ, प्रदेश र स्थानीय तह तथा आम नागरिकले कोभिड– १९ नियन्त्रण गर्न खोलेको प्रभावकारी कदमकै कारणले अनुमान गरिएको सक्रिय सङ्क्रमितलाई सीमितमा राख्न सकिएको बताए ।

सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र गठन गरेको छ । सङ्घमा एउटा र प्रत्येक जिल्लामा जिल्लास्तरीय केन्द्र गठन भएको छ । त्यो केन्द्र पनि कोभिड– १९ रोकथाम र नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको छ । 

यस्तै नेपालमा चैत ११ गते बन्दाबन्दी, सरकारको प्रभावकारी कदम, स्थानीय तह गर्दा अनुमान गरेजस्तो सङ्क्रमित बढ्न नपाएका हुन् । साउन ६ गतेसम्म भएको बन्दाबन्दीमा नागरिकले घरभित्र बसेर कोभिड– १९ को रोकथाम र नियन्त्रणमा भूमिका खेलेका थिए । 

यस्तै स्थानीय तहले विदेशबाट आउने मानिसको तथ्याङ्क सङ्कलन गरेर क्वारेन्टिन निर्माण गरी उनीहरुलाई १४ दिनसम्म त्यहाँ राखेका थिए । त्यसले पनि रोकथाम र नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सबैको सहयोगले प्रक्षेपण गरिएको भन्दा कम सङ्क्रमित रहेको बताए ।

“हामीले सोचेभन्दा कम सङ्क्रमित रहेका छन् । तर कम सङ्क्रमित भयो भन्दैमा हामी जोखिम हटेको भन्न मिल्दैन”, उनले भने, “हामी जोखिममा नै छौँ । कोभिड– १९ रोकथाम र नियन्त्रण गर्न अझै प्रभावकारी कदम चाल्नुपर्दछ ।” 

सरकारले सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि देशभरमा २५ कोभिड– १९ अस्पताल ‘डेडिकेटड’ र ११५ कोभिड– १९ क्लिनिक सञ्चालन गरेको थियो । 

नेपालमा पहिलोपटक माघ ९ गते चीनको वुहानबाट आएका विद्यार्थीमा सङ्क्रमण देखिएको थियो । नेपालमा पहिलो सङ्क्रमितको कोभिड– १९ को पुनःपरीक्षण गर्न विदेश लगिएको थियो । 

त्यतिबेला नेपालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामात्र कोभिड– १९ को सङ्क्रमण परीक्षण गरिन्थ्यो । अहिले नेपालमा ३७ प्रयोगशालाबाट कोभिड– १९ को परीक्षण गरिन्छ । ती प्रयोगशालामा दैनिक २२ हजार पिसिआर परीक्षण गर्ने क्षमता छ । 

मन्त्रालयले सम्भावित सङ्क्रमण बढ्नलाई मध्यनजर गर्दै २५ केन्द्र अस्पताल र २० शिक्षण अस्पतालले तुरुन्तै परिचालन गर्नसक्ने गरी विशेषज्ञसहितको टिम तयार पारेको र आवश्यकताअनुसार परिचालनसमेत गरिएको मन्त्रालयका प्रवक्ता डा गौतमले बताए । 

कोभिड– १९ रोकथाम र नियन्त्रणका लागि सातवटै प्रदेशमा सात हजार श्यया निर्माण गर्नका लागि रु ३८ करोड निकासा गरिसकेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । उनका अनुसार प्रदेश नं २ र ५ नम्बरका लागि रु सात÷सात करोड, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई रु छ÷छ करोड तथा प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशलाई रु चार÷चार करोड बजेट निकासा गरिसकेको छ । मन्त्रालयले गम्भीर प्रकृतिका एक हजार ५०० सङ्क्रमितका लागि सघन उपचार कक्ष र औषधिको व्यवस्थासमेत गरेको छ । 

यस्तै दुई महिनासम्मका लागि परीक्षण गर्ने किट प्रयोगशाला सामग्री र व्यक्तिगत सुरक्षा कवच ९पिपिइ०कोसमेत व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकरी दिए ।

एक हजार ७५ टिम परिचालन

यसैगरी हरेक स्थानीय तहमा सङ्क्रमित व्यक्तिको खोज गर्नका लागि टिम गठन गरेको छ । मन्त्रालयले कन्ट्याक्ट टे«सिङका लागि एक हजार ७५ टिम स्थानीय तहमा गठन गरेको छ । उनका अनुसार सङ्क्रमित व्यक्तिको पत्ता लगाउन गाउँपालिकामा एक, नगरपालिकामा दुई, उपमहानगरपालिकामा तीन र महानगरपालिकामा पाँच टिम गठन गरिएको छ । ती टिममा विशेषज्ञसहित तीन जना स्वास्थ्यकर्मीको हुनेछन् । 

यसैगरी मन्त्रालयले भौतिक पूर्वाधार निर्माणमा जोड दिएको छ । अहिलेसम्म दुई हजार ६०० सघन उपचार कक्ष र ९०० भेन्टिलेटर निर्माण गरिएको छ । मन्त्रालयका प्रवक्ता डा गौतमले थप २५० सघन उपचार कक्ष र भेन्टिलेटर निर्माण गरिएको तथा २४० सघन उपचार कक्ष निर्माण गर्ने प्रक्रियामा रहेको जानकारी दिए । 

उनले सङ्क्रमित बढिरहेकाले लक्षण भएका सङ्क्रमितलाई मात्र अस्पतालमा भर्ना गरिने बताए । लक्षण नभएका ६० वर्ष मुनिका व्यक्तिलाई अस्पतालमा भर्ना नगरी घरमै आइसोलेशनमा राखिने बताए ।

अहिलेसम्म ३७ प्रयोगशालाबाट चार लाख २७ हजार ५०१ जनाको पिसिआर परीक्षण गरिएका छन् । अहिलेसम्म २२ हजार २१४ जनामा सङ्क्रमण, छ हजार ३३० सक्रिय सङ्क्रमित र १५ हजार ८१४ जना निको भएर घर फर्किसकेका छन् । निको हुने दर ७१.२ प्रतिशत रहेको छ  भने ७० जनाको कोभिड– १९ का कारणले मृत्यु भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप