केन्द्रीय संस्करण
समाचार

'यसकारण स्तनपान जरुरी छ'

कोरोना संक्रमित आमाले ढुक्कसँग शिशुलाई स्तनपान गराउन सक्छन्

person explore access_timeसाउन २३, २०७७ chat_bubble_outline0

‘विश्व स्तनपान सप्ताह २०२०’

काठमाडौं । स्तनपान शिशुको जन्मसिद्ध अधिकार हो । ६ महिनासम्म पूर्ण स्तनपान र २ वर्षसम्म थप खानासहित स्तनपान आमा र शिशु दुवैको स्वास्थ्यको बलियो आधार हो भन्ने सत्यलाई स्थापित गर्न हरेक वर्ष अगस्ट १ तारिखलाई विश्व स्तनपान दिवसको रुपमा मनाउने गरिन्छ । 

विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९० देखि हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाउन शुरु गरिएको हो । विश्वभर स्तनपान सप्ताहको विश्व स्वास्थ्य संगठन र युनिसेफले अगुवाई गर्दै आइरहेका छन् ।
‘स्वस्थ र सुन्दर संसार, स्तनपान एकमात्र आधार’ भन्ने मूल नाराका साथ यस वर्षको स्तनपान दिवस सप्ताहव्यापी रुपमा मनाइएको छ । 

नेपाललगायत विश्वका १७० भन्दा बढी देशले एक हप्तासम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउने गरेका छन् । नेपाल सरकारले पनि यो वर्ष साउन १७ गतेदेखि २३ गतेसम्म स्तनपान सप्ताह मनाएको छ । 

स्तनपान सप्ताहकै बीचमा नेपाल सरकारका प्रतिनिधिले स्तानपानको अवस्थाबारे बुझ्न केही अस्पतालको अवलोकन भ्रमणसमेत गरेका छन् । स्तनपानलाई प्रवर्द्धन गर्न कै लागि अस्पतालहरुको भ्रमण गरिएको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गत पोषण शाखा प्रमुख केदार पराजुली बताउँछन् ।

उनले गत सालबाट स्तनपानलाई प्रोत्साहन र प्रवर्धन गर्न कै लागि पाँचवटा सरकारी अस्पताललाई ‘मातृशिशु मैत्री’ अस्पतालको रुपमा अभियानमार्फत अगाडि बढाएको बताए ।

परोपकार प्रसुति गृह थापाथलीमा कार्यरत बालरोग विशेषज्ञ डा. कल्पना सुवेदी स्तनपानलाई प्रवर्धन र प्रोत्साहन गर्न स्तनपान दिवसलाई सप्ताहव्यापी रुपमा मनाउनु सकारात्मक भएको बताउँछिन् । 

स्तनपान सप्ताहले वर्षभरी हुने गरेका विभिन्न कामकार्वाहीको समीक्षा गर्ने, स्तनपान र यसबारे जनमानसमा चेतना अभिवृद्धि कुन स्तरमा भएको छ वा छैन भन्ने निगरानी गरिने र भइ–गरेका नीति नियममा समीक्षा तथा परिमार्जन गर्न पनि सप्ताह फलदायी हुने डा. सुवेदीको भनाइ छ ।

बालरोग विशेषज्ञ डा. कल्पना सुवेदी 

तर, शिशु जन्मेपछि उसको हरेक विकासको मेरुदण्ड स्तनपान भएकाले यसलाई विशेष महत्व दिएर सरकारले एक सातामात्रै होइन, हरेक दिन स्तनपान दिवस मनाउनु पर्ने डा. सुवेदीको तर्क छ । विगतका कमी कमजोरीलाई औँल्याएर नीजि तथा सरकारी सवै स्वास्थ्य संस्थाले समान रुपमा स्तनपानलाई महत्व दिनुपर्ने उनी बताउँछिन् । 

सुवेदी भन्छिन्, ‘सरकारले कुरामात्र गर्ने होइन, काम गरेर देखाउनुपर्छ । एक सातामात्र निगरानी गरेर हुँदैन । दुरदराजमा स्तनपानबारे चेतना जागृत गर्नुपर्छ साथै स्नतपान गर्न नसक्नुको पछाडीको कारण पत्ता लगाई त्यस्ता आमाहरुलाई सहयोग गर्नुपर्छ । त्यसैले, म भन्छु स्तनपान दिवसलाई एक सातामात्र होइन ३६५ दिन नै मनाइनुपर्छ यसले गर्दा दूरदराजसम्म सरकारको निगरानी पुगोस् ।’

शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराईसक्नु पर्ने भए पनि नेपालमा ४५ प्रतिशत सुत्केरी आमाहरुले सो अवधीभित्र स्तनपान गराएको पाइँदैन । शिशुका लागि आमाको पहिलो दूध पहिलो खोप बराबर भएकाले पनि बालबालिकाको रोग प्रतिरोधी क्षमता अभिवृद्धिका लागि यो अत्यन्त आवश्यक छ । 

बालरोग विशेषज्ञ डा. सुवेदी शिशुलाई ‘एक्सक्लुसिभ ब्रेष्ट फिडिङ’ (शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनु) गराउनु पर्ने बताउँछिन् । ६ महिनासम्म आमाको दूधबाहेक पानी पनि खुवाउन पर्दैन । अझ, शिशु जन्मेको एक घण्टाभित्र आमाको दूध खुवाइसक्नुपर्छ तर हाम्रो समाजमा अझै पनि बच्चा जन्मेपछि मह, घिउलगायत चटाउने चलन छ यो विल्कुलै गलत हो । बच्चालाई जन्मेने वित्तिकै आमाको दूध खुवाउनु पर्छ । यदि आमाको अवस्था दूध खुवाउन सक्ने छैन भने चिकित्सकको सल्लाहमा अन्य दूध खुवाउन सकिन्छ ।

यो पनि पढ्नुहोस्  
स्तनपानका फाइदाहरु र आमाले जान्नैपर्ने तथ्यहरु

हाल नीजि अस्पतालहरुमा शल्यक्रियाबाट सुत्केरी गर्ने ट्रेन्ड बढेको छ । शल्यक्रियापछि आमा र शिशुलाई २४ घण्टासम्म अलग राखिन्छ । यसरी आमा र शिशुलाई अलग राख्दा शिशु आमाको दूध खानबाट बञ्चित हुने गरेको डा. सुवेदी बताउँछिन् । 

उनकाअनुसार जन्मने वित्तिकै शिशुलाई आमाबाट पर राख्ने अनि दूध चुसाउने कोशिस नै नगरी बोटल फिडिङ गराउँदा शिशुको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले शिशुलाई आमासँगै राख्नु पर्छ । नेपालमा प्रसुति गृह र केही सरकारी अस्पताल बाहेक नीजिले शल्यक्रियाबाट जन्मिएका शिशुलाई एक्सक्लुसिभ ब्रेष्ट फिडिङ नगराउँदा शिशु आमाको दूध खानबाट बञ्चित हुने गरेको डा. सुवेदीको भनाइ छ । 

शल्यक्रियालगत्तै पनि सहयोगीमार्फत शिशुलाई स्तनपान गराउन सकिने डा. सुवेदी बताउँछिन् । तर यस्तो अभ्यास नीजिले गर्दैनन् भने सरकारी अस्पतालले गर्ने गरे पनि जनशक्तिको अभावमा कहिलेकाँही सम्भव नहुने गरेको उनको भनाइ छ ।

यता स्वास्थ्य मन्त्रालय पोषण शाखको तथ्याङ्कअनुसार शिशु जन्मेको एकघण्टाभित्र स्तनपान गराउने सार्क मुलुकहरुमा नेपाल चौथो स्थानमा पर्छ । श्रीलंका पहिलो स्थानमा छ, जहाँ ९० प्रतिशत सुत्केरीले शिशुलाई जन्मेको एकघण्टाभित्र स्तनपान गराउँछन् । नेपालमा अहिले ५५ प्रतिशत सुत्केरी आमाहरुले मात्र एक घण्टाभित्र आफ्ना शिशुलाई स्तनपान गराउने गरेको तथ्याङ्कले देखाएको छ । 

पोषण शाखा प्रमुख केदार पराजुली

नेपालमा स्तनपानको अवस्था सन्तोषजनक नभएकै कारण सरकारले विश्व स्तनपान दिवसलाई आत्मसात् गर्दै मनाउन थालेको हो । तर स्तनपान नगाराउनुको पछाडिका विभिन्न कारणबारे भने सरकारले खासै चासो दिएको पाइँदैन । जस्तोः स्तनपानबारे आमा जानकार नहुनु, पोषणको कमी, बालबालिकामा दूध चुस्ने क्षमता नहुनुलगायतका विविध कारणले पनि स्तनपानमा कमी देखिन्छ । यसबारे सवै सचेत हुन जरुरी छ ।

शिशुको मानसिक र शारीरिक विकासको सवैभन्दा महत्वपूर्ण तत्व भनेको आमाको दूध हो । आमाको दूधले रोगबाट बच्चालाई सुरक्षित गर्न, बाल मृत्युदर घटाउन, विभिन्न रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ । स्तनपान गरेका बालबालिकामा पुड्को, लुलो, विभिन्न रोगको जोखिम कम हुन्छ । 

बालरोग विशेषज्ञ डा. सुवेदी स्तनपानबारे गर्भावस्थादेखि नै परामर्शको जरुरत पर्ने बताउँछिन् । गर्भावस्थामा नै स्तनपानको महत्व, स्तनपानका फाइदा, स्तनपानका विधिलगायत कुरामा आमालाई परामर्श दिने र स्तनपानका लागि पहिलेदेखि नै तयारी गर्ने हो भने जन्मने वित्तिकैबाट आमाले आफ्ना शिशुलाई दूध चुसाउन थाल्छन् । यसले शिशु र आमाको स्वास्थ्य पनि राम्रो हुन्छ ।

अहिले शहरीया आमाहरु, अझ भन्नुपर्दा आधुनिक बन्ने नाममा स्तनपान नगराउने गरेको पाइन्छ । वास्तवमा स्तनपानले शारीरिक बनावटलाई बिगार्ने होइन बरु सुधार्नेबारे आमाहरु आफै सचेत हुनु अत्यन्त जरुरी छ । आजभोलि शहरीया बालबालिकामा पुड्कोपना देखिनु स्तनपान नगराउँदाको असर भएको स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख पराजुली बताउँछन् ।

अहिले विश्व महामारीको रुपमा फैलिएको कोभिड १९को संक्रमण भएका आमाले पनि सुरक्षा सतर्कता अपनाएर स्तनपान गराउन सकिने विश्व स्वास्थ्य संगठनले बताएको छ । पोषण शाखा प्रमुख पराजुली स्तनपानका कारण अहिलेसम्म कोभिडको संक्रमण सरेको भन्ने तथ्याङ्क नभएको बताउँछन् । उनी भन्छन्, ‘संक्रमित आमाले मेडिकल मास्कको प्रयोग गरी, सरसफाईमा विशेष ध्यान दिएर सुरक्षित तवरले स्तनपान गराउन सक्छन् ।’

त्यसैगरी, बालरोग विशेषज्ञ डा. कल्पना सुवेदी कोभिड–१९बाट संक्रमित आमाबाट जन्मिएका शिशुमा संक्रमण नसर्ने र आमाको दूधबाट पनि संक्रमण नसर्ने अध्ययनले देखाइसकेकोले संक्रमित आमाले ढुक्कले स्तनपान गराउन सक्ने बताउँछिन् । 

डा. सुवेदी भन्छिन्, ‘कोरोना संक्रमण स्वासप्रस्वासबाट, थुकका छिटाबाट सर्ने हुँदा सुरक्षा सतर्कता अपनाएर जस्तोः आमाले मास्क लगाउने तारन्तार साबुनपानीले हात सफा गर्ने गर्दा संक्रमण सर्ने खतरा हुँदैन । त्यसैगरी, सुत्केरी आमाले प्रशस्त झोलिलो र पोषिलो खाने कुरा खाने अनि सकभर बाहिरी सम्पर्कमा नरहने हो भने संक्रमणको जोखिम कम हुन्छ ।’ 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.