शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आफैं ढंग नपुर्‍याई चिउँडोमा मास्क लगाइरहने अनि सरकारलाई गाली गर्ने ? (फोटोफिचर)

शुक्रबार, २३ साउन २०७७, १७ : १८
शुक्रबार, २३ साउन २०७७

काठमाडौं । बिहिबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गरुञ्जेल सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले मास्क लगाएका थिएनन् । निर्णय सुनाएर सरकारी सञ्चारमाध्यमका केही पत्रकारको प्रश्नको जवाफ दिएर बाहिरिने क्रममा उनले मास्क लगाए । तर उनले नाक नछोपी मुख मात्र छोपिनेगरी मास्क लगाएर हिँडेको फेसबुक लाइभ गरेको भिडियोमा देख्न सकिन्छ । 

कोरोना भाइरसको जोखिम बढिरहेका बेला सावधानी अपनाउने एउटा महत्वपूर्ण विधि नाकमुख छोपिने गरी मास्क लगाउनु हो । तर उच्चपदस्थ चेतनशील व्यक्तिदेखि सडक बजारमा हिँडिरेहेका सर्वसाधारणले समेत ढंग नपु¥याई मास्क लगाउने गरेका छन् ।  

कतिपयले मुख छोप्ने तर नाक नछोपी मास्क लगाउने गरेका छन् भने कतिपयले नाक मुख खुल्ला राखी चिउँडोमा मास्क लगाउने गरेका छन् । मास्क लगाउने यी दुवै गलत तरिका हुन् ।  सरकारका कतिपय मन्त्री तथा सांसदहरुले समेत ढंग नपुर्याई नाक मुख नछोपी मुखमा वा नाक मुख नछोपी चिउँडोमा मास्क लगाउने गरेका छन् । सडक, बाटो, चोक, बजारमा रहेका अधिकांश सर्वधारण तथा व्यापारीले चिउँडोमा मास्क लगाउने गरेका छन् ।

 जनस्वास्थ्यविद् भन्छन्: चिउँडोमा मास्क लगाउनु घातक

 जनस्वास्थ्यविद् डा.रवीन्द्र पाण्डे नाक–मुख नछोपी चिउँडोमा मास्क लगाउँदा कोरोना संक्रमणको जोखिम बढ्ने बताउँछन् ।  उनले भने– ‘अध्ययनअनुसार के देखिएको छ भने कोरोना संक्रमण सबैभन्दा बढी नाकबाट सर्छ । दोश्रो मुखबाट र त्यसपछि आँखाबाट सर्छ । पहिलो दायित्व त नाकलाई बचाउने हुनुप¥यो । जुनबेला नाकलाई बचाउनेगरी हामीले मास्क लगाउँछौँ त्यतिबेला स्वभाविक रुपमा मुख त सुरक्षित हुन्छ । चारैतिरबाट हावा नछिर्नेगरी र नाकलाई बचाउने गरी मास्क लगाउनुपर्छ ।’

बेलायतले सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई १ सय पाउण्ड जरिवाना गर्ने नियम लगाएको र विश्वका अन्य धेरै देशमा पनि मास्क नलगाउनेलाई कडा सजायको व्यवस्था गर्न थालेको उनले बताए ।   उनले भने–‘हामीसँग यति धेरै प्रहरी, नगर प्रहरी छन्, कहाँ धेरै भीडभाड भइरहेको छ, मास्क लगाएको छ कि छैन अनुगमनको व्यवस्था छैन । चोकहरु तरकारी पसल, मासु पसलहरु जहाँ–जहाँ भीड हुनेगर्छ त्यहाँ अनुगमन भएको छैन । यसले संक्रमणको जोखिम बढाएको छ ।’ 

उनले सहि तरिकाले मास्क लगायो भने ५० देखि ७५ प्रतिशतसम्म कोरोनाको जोखिमबाट बच्न सकिने उल्लेख गरे । उनले भने–‘पन्ध्र बीस रुपैयाँको मास्क सहि तरिकाले लगाउने हो भने आफूपनि सुरक्षित भइन्छ, परिवार र समाज पनि सुरक्षित रहँदै कोरोना नियन्त्रण गर्न सकिन्छ ।’

देशका मुख्य शहरहरुमा यतिबेला कोरोना संक्रमणको दर बढिरहेको छ । पहिले विदेशबाट आएकाहरुमा संक्रमण भेटिएपनि अहिले समुदायस्तरमा संक्रमण बढेको छ । हामीले काठमाडौंमा विभिन्न क्षेत्रमा अवलोकन गर्दा उल्लेख संख्याका सर्वसाधारणले चिउँडोमा मास्क लगाएको भेट्यौँ । के यसरी चिउँडोमा मास्क लगाएर कोरोनाबाट बच्न सकिन्छ ? वा तपाईलाई संक्रमण भएको छ भने तपाई नजिक भएकाहरुलाई संक्रमणबाट जोगाउन सकिएला ?
हेर्नुहोस् तस्बिरहरु: 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप