शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँदेखि हेटौंडा जोड्ने कान्ति लोकपथमा पहिरो

शुक्रबार, २३ साउन २०७७, १५ : १३
शुक्रबार, २३ साउन २०७७

काठमाडौं । काठमाडौँदेखि हेटौंडा जोड्ने छोटो दूरीको कान्ति लोकपथका ठाउँठाउँमा पहिरो गएको छ । यही साउन १९ गतेदेखि आएको अविरल वर्षाका कारण गोदावरी नगरपालिका–६ टीकाभैरवदेखि वाग्मती गाउँपालिका–७ गिम्दीसम्मको मुख्य सडक अवरुद्ध भएको हो । 

टीकाभैरवदेखि सिउरानीसम्म झण्डै २५ किलोमिटर सडकका ठाउँठाउँमा पहिरो खसेर अवरुद्ध भएको स्थानीयवासी दीपक घिमिरेले बताए । उनले भने, “हामीले चारपाँच वटा स्काभेटर लगाएर बाटो पन्छाउँदा पनि माटो फाल्न सकेका छैनौँ, यहाँका १० ठाउँमा पहिराले असर गरेको छ, वाग्मतीबाट दैनिक रुपमा ढुवानी हुने पाँचदेखि ७०० लिटर दूध र तीनदेखि चार गाडी तरकारीसमेत किसानले बजारीकरण गर्न पाएका छैनन् ।” कान्ति लोकपथका ठाउँठाउँमा पहिराले बिजुलीका खम्बा ढलाउँदा विद्युतीय सेवाका साथै इन्टरनेटको पहुँचबाट समेत स्थानीयवासी वञ्चित भइरहेको घिमिरेले जानकारी गराए ।

यसैगरी पहिरो र वर्षाका कारण टीकाभैरवदेखि गिम्दीसम्म लगभग ७० किलोमिटर मुख्य सडक नै अवरुद्ध भइरहेको बिहिबार मात्रै त्यस खण्डबाट गोदावरी–१३ झरुवारासी फर्किएका यात्री सन्तोष दाहालले बताए । वाग्मती–३ भट्टेडाँडास्थित भालुखोला, झाँक्रीडाँडा र छपेली, वडा नं ६ आश्राङस्थित रुम्बा र घिसिङमा ठूलो पहिरो गएर मुख्य सडक नै अवरुद्ध भइरहेको अर्का यात्री प्रकाश थिङले बताए ।

कान्ति लोकपथ राष्ट्रिय राजमार्गअन्तर्गत पर्छ । करिब ९० किमी सो सडकमध्ये ललितपुरतर्फ ३९ र मकवानपुरतर्फ ५१ किमी  छ। सो सडकको मर्मतसम्भार, पर्खाल लगाउने र कालोपत्र गर्ने काम भने कतै समाप्त त कतै हुन बाँकी नै  थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप