बालगृह : उपयोगी कि हानिकारक ?
![बालगृह : उपयोगी कि हानिकारक ?](https://rpcdn.ratopati.com/media/albums/child_Iq9BPzAdXW.jpg)
राष्ट्रिय बालअधिकार परिषद्का अनुसार नेपालमा अनाथ बालबालिकाको पालनपोषण, हेरचाह तथा संरक्षणका लागि पहिलो बालगृहको संस्थागत व्यवस्था वि.सं. २००८ सालमा परोपकार अनाथालयको स्थापनापछि भएको हो । त्यसपछि राष्ट्रिय निर्देशन ऐन २०१८ अन्तर्गत बाल मन्दिरको रूपमा नेपाल बाल सङ्गठनको स्थापना २०२१ सालमा भएको देखिन्छ । यस सङ्गठनबाट बाल मन्दिरको विस्तार देशव्यापी भएसँगै अनाथ बालबालिकाको शिक्षा र हेरचाहको व्यवस्थापन हुँदै आएको छ ।
२०४६ सालपछि अर्थात् प्रजातन्त्रको पुनस्र्थापनापछि त बालगृहरू ह्वात्तै बढेको देखिन्छ । राष्ट्रिय बालअधिकार परिषद्ले प्रकाशन गरेको नेपालमा बालबालिको स्थिति २०७६ प्रतिवेदनअुनसार हाल नेपालका ४६ वटा जिल्लाहरूमा ५३३ वटा बालगृह सञ्चालनमा रहेको पाइएको छ । तिनमा १५,०४५ जना बालबालिका आश्रित छन् ।
संयुक्त राष्ट्र सङ्घको बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ को धारा २० मा अनाथ बालबालिकाको संरक्षण हुने व्यवस्था गर्नु राज्यको दायित्व हुने उल्लेख छ । यही दायित्व अनुकूल हुने गरी आवासीय बालगृहको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०६९ मा आमाबाबु दुवै नभएका वा भएर पनि हेरचाह गर्ने शारीरिक वा मानसिक अवस्थामा नभएका परिवारका बालबालिकाको हेरचाह सकेसम्म उसको नातेदारहरू बीच गरिनु पर्दछ । राज्यले त्यसमा सघाउनु पर्छ भन्ने व्यवस्था गरिएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ८६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरीे विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको लागि प्रदेश एवं स्थानीय तहले आवश्यकताअनुसार बाल गृहको स्थापना, सञ्चालन र व्यवस्थापन गर्न बालगृह सञ्चालन नमुना कार्यविधि, २०७५ जारी गरेको छ ।
बालगृहहरूले पवित्र हृदयका साथ राम्रा काम गरेका प्रशस्तै उदाहरणहरू छन् । बालगृहमा हुर्किएका कति बालबालिकाहरू नेपाल सरकार तथा गैह्र सरकारी निकायहरूमा समेत गरी उच्च ओहदामा रहेर देशको सेवा गरेका धेरै उदाहरण छन् ।
बालगृहका सञ्चालकहरूले पवित्र हृदय राखेर बालबालिकाको सेवा गरे पनि कतिपय अवस्थामा बालगृहरू विवादमा परेको घटना बाहिर आउने गरेको छ । बालबालिकाको सेवा गर्नु अति महान कार्य भए पनि बालगृमा बालबालिकालाई राखेर खाना वा विद्यालयमा पठाउँदैमा बालबालिकाको पूर्ण सेवा हुँदैन भन्ने कुरा विभिन्न अध्यायनले देखाएका छन् ।
माओवादी सशस्त्र द्वन्द्वकालमा त झन् धेरै बालबालिका बालगृहमा आश्रित हुन बाध्य भएको थियो ।
बालगृहका सञ्चालकहरूले पवित्र हृदय राखेर बालबालिकाको सेवा गरे पनि कतिपय अवस्थामा बालगृहरू विवादमा परेको घटना बाहिर आउने गरेको छ । बालबालिकाको सेवा गर्नु अति महान कार्य भए पनि बालगृमा बालबालिकालाई राखेर खाना वा विद्यालयमा पठाउँदैमा बालबालिकाको पूर्ण सेवा हुँदैन भन्ने कुरा विभिन्न अध्यायनले देखाएका छन् ।
जति नै राम्रो विद्यालयमा पढाए पनि वा ५ तारे होटलको जस्तै खाना वा सुविधा दिए पनि ती बालबालिकाहरूले परिवारमा बसेर दुःखसुख साटसाट गरी आफ्नो बुबाआमासँग रहेर हुर्किएको जस्तो बिल्कुलै हुँदैन । बालबालिकालाई बुबाआमा नै चाहिन्छन् तर कतिपयको विभिन्न कारणले बुबाआमा हुँदैनन् । यस्ता बालबालिकाका लागि अर्को विकल्प अवश्य चाहिन्छ । अन्तर्राष्ट्रिय तथा नेपालको कानुनअनुसार त्यस प्रकारका बालकालिकाको रेखदेखको व्यवस्था मिलाउने जिम्मा पहिलो राज्यको हो र राज्यले उनीहरूको नजिकका नातेदारहरूले पालनपोषण गर्नका लागि सघाउ पुर्याउनु पर्दछ । यी नातेदारहरूले पाल्न सक्दैनन् वा नातेदार नै छैनन् भने मात्र बालगृहमा राख्न पाइन्छ तर त्यो पनि छोटो समयका लागि । लामो समयका लागि बालगृहमा राख्न नै पाइँदैन वा हुँदैन ।
जति लामो समयसम्म बालबालिकालाई बालगृहमा राखियो त्यति नै बालबालिकालाई हानि हुन्छ भन्ने कुरा विभिन्न अध्यायनले प्रष्ट पारेका छन् । किनकि लामो समयसम्म बालगृहहरूमा रहेका बालबालिकाहरूले आफ्नो गाउँ वा आफन्तहरू नै बिर्सने प्रबल सम्भावना हुन्छ । साथै उनीहरूको पैतृक सम्पत्ति पनि गुमाउनुपर्ने हुन सक्छ । उनीहरूले आफ्नो पहिचान पनि गुमाउने खतारासमेत हुन्छ ।
त्यति मात्र होइन कि एक परिवारमा बसेका बालबालिकाले दुःखसुखको अनुभव गर्न पाउँछन् र बुबाआमाको माया पाउँछन् । बुबाआमाको काखमा लडीबडी गर्न पाउनु उनीहरूको अधिकार हो । उनीहरूको त्यो अधिकार खोस्न कसैले मिल्दैन । पछिल्लो समय नेपालका विकट जिल्लाहरूबाट काठमाडौँका बालगृहरूमा बालबालिकाहरू ओसारपसार भएको विभिन्न सञ्चार माध्यमले बाहिर ल्याएका छन् । बालबालिकालाई परिवारबाट छुटाएर बालगृहमा राख्ने चलनले पनि बालबालिकाहरू अति कमजोर वा त्रसित अवस्थामा रहेका हुन्छन् । नेपालको कानुनअनुसार दुवै आमा र बुबा नभएका बालबालिकालाई मात्र बालगृहमा राख्न पाइन्छ । तर विडम्बना नै मान्नुपर्छ कि नेपालका अधिकांश बालगृहरूमा बुबा र आमा दुवै भएका बालबालिका नै आश्रित छन् । बुबाआमा दुवै नभएका बालबालिका धेरै छैन तर बालगृहलाई बालबालिका चाहिन्छ र बालगृहहरूले बालबालिकालाई अनाथ बनाउन भन्ने आरोप लगाइन्छ ।
बीबीसीको एक अध्ययनअनुसार बालगृहमा रहेका बालबालिकाहरूको मस्तिष्का सामान्य परिवारमा हुर्किएका बालबालिकाभन्दा ८.६ प्रतिशतले साना हुन्छन् । यसको निचोड के हो भने गरिब परिवार भए पनि बालबालिकालाई आफ्नो परिवार नै चाहिन्छ । बालगृहमा हुर्किएका बालबालिका समय तालिका अनुसार चल्नुपर्छ । उनीहरूको मनमा सधैँ नै “म त बालगृहमा छु, मेरा कोही पनि छैनन्” भन्ने सोचाइले बालबालिकालाई पिरोलिराखेको हुन्छ ।
यसैगरी बालगृहका सञ्चालकले बालबालिकालाई आफ्नै छोराछोरी हुन् भने पनि आफ्नै छोराछोरी जस्तो कदापि गर्न सक्दैनन् । उनीहरूका पनि आफ्नो छोराछोरी हुन्छन् । उनीहरूले यसो भनेमा वा गरेमा उनीहरूका आफ्नै छोराछोरीहरू बिग्रन सक्ने प्रबल सम्भावना हुन्छ । किनभने उनीहरूले पाउनुपर्ने माया अरूसँग बाँढ्नुपर्ने हुन्छ । यो छोराछोरीका लागि असह्य हुन्छ । त्यसैले अधिकांश बालगृहका सञ्चालकको भान्सा छुट्टै हुन्छ । यो गर्न उनीहरूको बाध्यता हो । बालगृहका सञ्चालकले यसो गर्दा बालगृहमा रहेका बालबालिकाले भने नकारात्मक रूपमा लिने गर्दछन् ।
यसरी नै बालगृहमा आश्रित बालबालिकालाई बालगृहका सञ्चालकहरूले विभन्न प्रकारका शोषण वा दुव्र्यवहार गरेको कुरा विभिन्न समयमा समाचारमा आउने गरेको उदाहरण धेरै छन् । ती शोषणमध्ये प्रमुख रूपमा यौन शोषण नै अग्रस्थानमा छन् । पछिल्लो समयमा नेपालको प्रतिष्ठित मानेको बालमन्दिरका उच्च पदाधिकारीहरू नै बालबालिका बेचबिखनमा संलग्न भएको पाइएकाले प्रहरीले पक्रउ गरेको छ ।
पछिल्लो समयमा कपनस्थित केयर बालगृहले पैसा तथा नाम कमाउने जुन जुक्ति निकाल्यो त्यसले मानिसमा मानवता भन्ने कुरा नै हराएको हो कि भन्ने शङ्का पैदा गरेको छ । यो अति निन्दनीय र घृणित कार्य भएको छ । यसमा सम्बन्धित निकायले सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउनु नै पर्छ किनकि समाज सेवा एक पवित्र कार्य हो ।
त्यसरी नै धेरै बालगृहहरू चिडियाखाना जस्तै भएको गुनासा आउनेगरेका छन् । चिडियाखानामा मानिसहरूले पैसा तिरेर जनावारहरूलाई हेर्न जान्छन्, त्यसरी नै धेरै व्यक्तिहरू बालगृहमा पैसा वा केही खानेकुरा लिएर बालबालिकालाई हेर्न जान्छन् र बालगृहका सञ्चालकहरू मालमाल हुने गरेको तथ्य पनि छन् । यस्तो अवस्थामा त्यहाँका बालबालिका भने आधारित हुने गरेको पाइन्छ । गृहमा आउने आगन्तुकका लागि नाच्नु वा गीत गाउनुपर्ने वा केही भन्नुपर्ने हुन्छ । यसो गर्दागर्दा उनीहरू वाक्क दिक्क भएका हुन सक्छन् तर गृहका सञ्चालकले भनेपछि गर्न मन नभए पनि गर्नु नै पर्छ । धेरैजसो बालगृहहरूले बालबालिकालाई पाल्नेभन्दा पनि बालबालिकाले बालगृहका सञ्चालकलाई पालिरहेका हुन्छन् ।
पछिल्लो समयमा कपनस्थित केयर बालगृहले पैसा तथा नाम कमाउने जुन जुक्ति निकाल्यो त्यसले मानिसमा मानवता भन्ने कुरा नै हराएको हो कि भन्ने शङ्का पैदा गरेको छ । यो अति निन्दनीय र घृणित कार्य भएको छ । यसमा सम्बन्धित निकायले सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउनु नै पर्छ किनकि समाज सेवा एक पवित्र कार्य हो । यस प्रकारका घृणित कार्य गरी समाज सेवालाई अपवित्र तथा बद्नाम बनाउने कार्य भएको छ । दिने हातहरूलाई शङ्क गर्नुपर्ने बाध्यता सिर्जना गरेको छ । यस प्रकारको कार्य कोही वा कतैबाट हुनुहुँदैन । यो त थियो बाहिर आएका केही प्रतिनिधि घटनाहरू तर यस प्रकारका कैयौँ घटना बाहिर आउनु नै पाउँदैनन् ।
बालगृहमा बालबालिकाहरूलाई राख्नुभनेको बालबालिकाका लागि उपयोगीभन्दा पनि हानिकारक छ भन्ने कुरा विभिन्न घटनाबारे गरिएका अध्ययनहरूले प्रष्ट पारेको छ ।
त्यसैले नेपालमा बालगृहको विकल्प अविलम्ब खोजी गर्नु आवश्यक रहेको छ । सञ्चालनमा रहेका बालगृहलाई पनि प्रभावकारिताका साथ नियमन गर्नु जरुरी रहेको देखिन्छ । नियमन निकायलाई पनि पूर्ण जिम्मेवार बनाउनु र श्रोत साधनले सुसज्जित बनाउनु आवश्यक छ । कहीँकतै बालबालिकासम्बन्धी कुनै घटना घटेमा दातृनिकाय वा अन्य सङ्घसंस्थाको मुख ताक्नुपर्ने अवस्था सरकारी नियमन निकायको हालको अवस्था रहेको पाइन्छ । यसप्रकारको घटना घटेमा तत्काल कार्य गर्ने क्षमता नियमन निकायको हुनु नै पर्छ ।
बालबालिका कुनै खेलौना होइनन् वा पैसा कमाउने माध्यम नै । जोखिममा रहेका वा अनाथ बालबालिकाको रेखदेख वा हेरविचार गर्नु राज्यका साथै आम नागरिकको जिम्मेवारी हो । बालबालिकालाई देखाएर कसैले पनि फाइदा लिने चेष्ट नगरियोस्, यस्तो गर्नु अपराध हो । कलिला मस्तिष्कलाई माया, हेरचाहका साथै उचित शिक्षादीक्षा चाहिन्छ । बालबालिकाको सेवा गर्नुपर्दा बालगृह नै खोल्नुपर्छ भन्ने छैन । उनीहरू जहाँ छन् त्यहीँ नै सेवा दिन सकिन्छ । उनीहरूको गाउँ वा परिवारबाट टाडा पुर्याउन कदापि हुँदैन ।
समाज सेवा भनेको मन, वचन र कर्मले गर्ने कुरा हो । यसमा प्रष्ट दृष्टिकोण र समर्पण चाहिन्छ । कसैले दिन्छ वा पैसा आउँछ भनेर यतातिर लाग्नु हुँदैन । समाज सेवालाई विवादरहित तथा पवित्र बनाउनु हामी सबैको दायित्व हो ।
(लेखक बाल अधिकारकर्मी हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङको लुरी गुम्बा ओझेलमा
-
प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?
-
स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने ट्रम्पको घोषणा, अस्ट्रेलियाप्रति नरम
-
दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी
-
‘मच्छिन्द्रनाथको रथ बनाउने बेत सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध’
-
मलोर्का र ओसासुनाले अंक बाँडे