मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जर्मनीमा आधा सेकेन्डमा २ बिस्फोट, आवाज २७५ किमीसम्म सुनिएको थियोः चीनमा ३ सय भवन, १२ हजार कार ध्वस्त भएको थियो

शुक्रबार, २३ साउन २०७७, १० : ०४
शुक्रबार, २३ साउन २०७७


लेबनानको राजधानी बेरुतमा १ सय ३५ जनाको ज्यान लिएको बिस्फोटको  कारण अमोनियम नाइट्रेट हो जुन एक भण्डारमा पछिल्लो ६ वर्षदेखि जम्मा गरेर राखिएको थियो । यसै गोदाममा राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेटमा आगो लाग्यो र जोडदार गरिकाले बिस्फोट भयो । यो बिस्फोट यति भयानक थियो कि यसको आवाज २ सय ५० किलोमिटर टाढासम्म सुनियो ।

अमोनियम नाइट्रेट सबैभन्दा खतरनाक बिस्फोटक रसायन हो जुन विभिन्न कामका लागि प्रयोग गरिन्छ । तर साधारणतया यसको प्रयोग कि त खेतीमा कि त बम बनाउन लागि गरिन्छ । यदि यसमा थोरै मात्र पनि आगलागी भए यसमा जोडदार तरिकाले बिस्फोट हुन्छ । साथै नाइट्रोज अक्साइड र अमोनियाजस्ता खतरनाक ग्यास पनि निस्कन्छन् ।

लेबनानमा भएको यो बिस्फोटपछि उक्त भण्डारमा यतिधेरै अमोनियम नाइट्रेट कसरी जम्मा भयो र त्यसमा आगो कसरी लाग्यो भन्ने अनुसन्धान भइरहेको छ ।

यद्यपि, अमोनियम नाइट्रेटका कारण यति ठूलो बिस्फोट भएको यो पहिलो घटना भने होइन । यसअघि पनि थुप्रै घटना भइसकेको छन् । तिनै दुर्घटनामध्ये यस्ता ७ दुर्घटना छन् जो यति खतरनाक थिए कि जमिनमा भएको बिस्फोटले आकाशमा उडिरहेको विमानसमेत खसेको थियो ।

. २१ सेप्टेम्बर १९२१: ओपो, जर्मनी

कति खतरनाकः २७५ किमि टाढासम्म सुनेको थियो बिस्फोटको आवाज

सन् १९११ मा सुरु भएको यो प्लान्टमा अमोनियम नाइट्रेट र अमोनियम सल्फेटको साढे चार हजार टन मिक्सचर स्टोर गरेर राखिएको थियो । २१ सेप्टेम्बर बिहान करिब ७ बजेर ३२ मिनेटमा आधा सेकेन्डभित्र दुई शक्तिशाली बिस्फोट भए । यो बिस्फोटमा ४५० टनको फर्टिलाइजरमा बिस्फोट भएको थियो । यो बिस्फोट यति शक्तिशाली थियो कि यसले प्लान्टको भित्र नै ९० मिटर खाल्डो बनायो । यो खाल्डोको चौडाई १२५ मिटर र गहिरो १९ मिटर थियो ।

यो बिस्फोट यति शक्तिशाली थियो कि यसको आवाज म्यूनिखसम्म सुनिएको थियो । म्यूनिखको दुरी यो पलान्टभन्दा २ सय ७५ किमी थियो । यतिमात्रै होइन, यो बिस्फोटमा ओपोको ८० प्रतिशत भवन ध्वस्त भएको थियो जबकी साढे ६ हजार बढी मानिस घरबार बिहिन भएका थिए । २५ किमीको दायरमा रहेका घरको झ्याल फटे । बिस्फोटपछि ओपोका २० किमीको दायरको ट्राफिक रोकिएको थियो । बिस्फोटका कारण थुप्रै घरको छत उडेका थिए ।

त्यतिबेला उक्त घटनाले १७ लाख डलरको क्षती भएको थियो जुन अहिलेको हिसाबले २.५२ करोड डलर हुने थियो । बिस्फोट भएको ४८ घण्टाभित्र ५ सय शव भेटिएको थियो । पछि मृतकको संख्या ५ सय ६१ सम्म पुग्यो ।

बिस्फोटमा मारिएकाहरुको अन्तिम संस्कारमा जर्मनीका तत्कालीन राष्ट्रपति फ्रेडरिक एबर्ट र प्रधानमन्त्री ह्यूगो लेरचेनफेल्डसमेत ७० हजार जर्मन नागरिक समावेश भएका थिए ।

२. २९ अप्रिल १९४२ः टेसेंडेर्लो, बेल्जियम

कति खतरनाकः बिस्फोटमा ७० मिटर चौडा र २३ मिटर गहिरो खाल्डो बन्यो

त्यतिबेला दोस्रो विश्वयुद्ध चलिरहेको थियो । बेल्जियममा जर्मनीले कब्जा जमाएको थियो । बेल्जियमको टेसेंडेर्लोमा एउटा केमिकल फ्याक्ट्री थियो, जुन बन्द गरिएको थियो । तर पछि बेल्जियमको आत्मसमर्पणपश्चात्, यो कारखाना पुनः सुरु गरिएको थियो । २९ अप्रिलमा यो कारखानामा बिस्फोट भएको थियो ।

जुन दिन बिस्फोट भएको थियो त्यो दिन अन्य दिनको तुलनामा हल्का चिसो थियो र सबैजना आफ्नो काममा जाँदै थिए । बिहान ११ बजेर २७ मिनेटमा कारखानामा राखिएको १५० टन अमोनियम नाइट्रेट बिस्फोट भयो । निमेषभरमै सयौं मिटरको उचाईसम्म धुँवा मात्रै देखिएको थियो । बिस्फोटका कारण ८० मिटर चौडा र २३ मिटर गहिरो खाल्डो बनेको थियो ।

यो बिस्फोटमा १ सय ९० जना मारिएका थिए जबकी ९ सय जना घाइते भएका थिए । मारिएका १९० जनामध्ये ११९ जना कारखानामा काम गर्ने मजदुर थिए ।

३. १६ अप्रिल १९४७ः टेक्सास, अमेरिका

कति खतरनाकः दुई उडिरहेका विमान खसे, जहाज टुक्रा–टुक्रा भएर हावामा उड्न थाल्यो

दोस्रो विश्वयुद्धमा अमेरिकी सेना अमोनियम नाइट्रेटको प्रयोग बिस्फोटकको रुपमा गर्दथ्यो । पछि यसलाई फर्टिलाइजरको रुपमा प्रयोग गर्न थालियो । १६ अप्रिल १९४७ मा नेब्रास्का र लोवामा बनेको अमोनियम नाइट्रेट रेलमार्फत् टेक्सासा सिटी पुग्यो । त्यसपछि यसलाई जहाजमा लोड गरिँदै थियो । यो जहाजमा २३ सय टन अमोनियम नाइट्रेटका साथै सूर्ती र गोला–बारुद थिए ।

बिहान करिब ८ बजे कार्गोबाट धुँवा आइरहेको देखियो । आगो निभाउने कोसिस गरियो तर आगो निभ्न सकेको थिएन । ९ बजेर १२ मिनेटमा अमोनियम नाइट्रेट बिस्फोट भयो । यसले पोर्ट पूर्ण रुपमा ध्वस्त भयो । यो बिस्फोटपछि १५ फिट माथिसम्म धुँवा उठेको थियो जुन १६० किलोमिटर टाढाबाट पनि देखिएको थियो ।

यो बिस्फोट यति जोडदार थियो कि यसले जहाज स–सानो टुक्रा भएका थिए र हावामा उड्न थालेका थिए । यतिमात्रै होइन टेक्सास नजिकै उडान भरिरहेको दुई साना विमान पनि खसेका थिए । यो बिस्फोटले हजार बढी घर क्षतीग्रस्त भयो । दुई हजार व्यक्ति बेघर भएका थिए ।

यो बिस्फोटलाई अमेरिकाको इतिहासको सबैभन्दा खतरनाक औद्योगिक दुर्घटना मानिन्छ । यसमा ५ सय ८१ को ज्यान गएको थियो जबकी ५ हजारभन्दा बढी घाइते भएका थिए ।

४. १९ अप्रिल १९९५ः ओक्लाहोमा, अमेरिका

कति खतरनाकः २ टना अमोनियम नाइट्रेटले १६८ को ज्यान लियो

१९ अप्रिल १९९५ को बिहानीले ओक्लाहोमाका लागि निकै खराब खबर बोकेर आएको थियो । यसदिन पूर्व सैनिक टिमूथी म्याक्वेगले ओक्लाहोमा शहरमा एक सरकारी भवन बाहिर भाडामा लिएको ट्रक राखियो । उक्त ट्रकमा २ टन अमोनियम नाइट्रेट थियो । बिहान ९ बजे अघि नै म्याक्वेग ट्रक लिएर पुगेका थिए । केही बेरपछि म्याक्वेग ट्रकबाट बाहिर निस्किएर ढोका बन्द गरेर भाग्न सुरु गरे । के भइरहेको छ, कसैले बुझ्न सकेनन् । बिहान ठिक ९ बजेर २ मिनेटमा ट्रक बिस्फोट भयो ।

आँखा झिम्किएको भरमा नै भवनको एक तिहाई हिस्सा भग्नावशेषमा परिवर्तन भयो । वरिपरिका करिब ३ सय भवन क्षतीग्रस्त भउ । सयौं कारमा क्षती पुग्यो ।

उक्त हमलामा १ सय ६८ व्यक्तिको ज्यान गएको थियो जसमा १९ जना बालबालिका पनि समावेश थिए । सयौं घाइते भएका थिए । यो बिस्फोट सबैभन्दा खतरनाक आतंककारी हमलामा पर्छ ।

५. २२ अप्रिल २००४ः रयोंगचोंन, उत्तर कोरिया

कति खतरनाकः दुई रेल ठोक्किए, १८ सय ५० घर ध्वस्त भए

२२ अप्रिल २००४ मा उत्तर कोरियाको राजधानी प्योङयाङबाट ५० किमी टाढा रयोंगचोंन स्टेशनमा दुई रेल ठोक्किए । यी दुबै रेलमा बिस्फोटक सामग्री थिए । रेल ठोक्किएपछि खतरनाक बिस्फोट भयो ।

दुई दिनसम्म उत्तर कोरियाले यो बिस्फोटको कारणबारे जानकारी दिएन । बिस्फोटको ४८ घण्टापछि उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले अमोनियम नाइट्रेटका कारण बिस्फोट भएको जानकारी दियो । समाचार एजेन्सीका अनुसार कुनै एक रोलबाट अमोनियम नाइट्रेट लिक भएको र त्यसैले बिस्फोट भएको हो ।

उत्तर कोरियाले त उक्त बिस्फोटमा ज्यान गुमाउनेको संख्या ५४ मात्रै बताएको छ । तर घटनास्थलमा पुगेको रेडक्रसको समूहले बिस्फोटका कारण स्टेशन वरिपरिका १८ सय ५० घर ध्वस्त भएको जानकारी दिँदै १ सय ६० को मृत्यु भएको र ६ हजारभन्दा बढी घाइते भएको बताएको छ ।

६. १२ अगस्त २०१५ः तियानजिन, चीन

कति खतरनाकः ९ अर्ब डलरको क्षती, ३ सय बढी घर ध्वस्त

१२ अगस्त २०१५ मा चीनको तियानजिन शहरको बन्दरगाहमा एक कन्टेनरमा श्रृङ्खलाबद्ध बिस्फोट भए । पहिलो दुई बिस्फोट ३० सेकेन्ड भित्र भएको थियो । पहिलो बिस्फोट १२ अगस्ट राती करिब साढे ११ बजे भएको थियो र दोस्रो ३० सेकेन्ड भित्र ।

दोस्रो बिस्फोट असाध्यै खतरनाक थियो जसमा ८ सय टन अमोनियम नाइट्रेट बिस्फोट भएको थियो । यी दुई बिस्फोटका कारण भएको आगलागीले १५ अगस्टमा ८ स–साना बिस्फोट भएका थिए । यी बिस्फोटमा १ सय ७३ जनाका ज्यान गएको थियो र ७ सय ९७ घाइते भएा थिए ।

यो बिस्फोट यति शक्तिशाली थियो कि वरिपरिका ३ सय ४ भवन, १२ हजार ४ सय ३८ कार र ७ हजार ५ सय ३३ कन्टेनर पूर्ण रुपमा नष्ट भए । यी बिस्फोटका कारण त्यतिबेला ९ अर्ब डलरको क्षती भएको थियो ।

७. ४ अगस्त २०२०ः बेरुत, लेबनान

कति खतरनाकः ९ किलोमिटर टाढा बनेको एयरपोर्टको सिसासमेत फुटे

लेबनानको राजधानी बेरुतमा परमाणु बिस्फोटजस्तै दुई बिस्फोट भए । एक हल्का र दोस्रो यस्तो कि पूरा शहर थर्थरायो । हालसम्म प्राप्त जानकारी अनुसार बेरुत पोर्टमा ह्याङ्गरमा भण्डार गरेर राखिएको ३ हजार ७ सय ५० टन अमोनियम नाइट्रेटमा यो बिस्फोट भयो ।

बिस्फोट यति शक्तिशाली थियो कि २५० किमी टाढासम्म यसको आवाज सुनिएको थियो । जबकी ९ किलोमिटर टाढा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको पेसेन्जर टर्मिनलको सीसा टुटे । यो बिस्फोटमा हालसम्म १ सय ३५ जनाको ज्यान गइसकेको छ भने ५ हजारभन्दा बढी घाइते भएका छन् । यो बिस्फोटमा ३ लाख व्यक्ति बेघर भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप