बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमितलाई दिएको खानामा कीरा भेटिएपछि....

बिहीबार, २२ साउन २०७७, २० : ०८
बिहीबार, २२ साउन २०७७

सप्तरी । सप्तरीको राजविराजस्थित एक आइसोलेसनमा कोरोना संक्रमितलाई दिइएको खानामा कीरा देखिएपछि संक्रमित र आइसेलेसन व्यवस्थापन पक्षबीच उग्रविवाद भएको छ । खाना खाने क्रममा कीरा देखिएपछि उत्पन्न विवादले उग्ररुप लिँदा बिहीबार राजविराजस्थित साइकृष्णा मेडिकल कलेजमा संचालित आइसोलेशन कक्षमा संक्रमितहरुले तोडफोडसँगै खाना बहिष्कार गरेका छन् ।

संक्रमितहरु आक्रोशित हुँदै खाना बहिष्कार गरेपछि आज दिनभर  अवस्था तनावग्रस्त बनेको थियो । संक्रमितहरुले खाना बहिष्कार गरेपछि आइसोलेशन कक्षमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीहरुले आफूहरु माथि दुव्र्यबहार भएको बताउँदै सेवा बहिष्कार नै गरेका छन् ।

बिहीबार आइसोलेशन कक्षमा स्वास्थ्य सेवाका लागि खटिएका ४ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रञ्जित झाले जानकारी दिए । ४ जना स्वास्थ्यकर्मीलाई अलग्गै आइसोलेसन कक्षमा राखिएको उनले बताए ।

संक्रमितहरुले खानामा किरा भएको भन्दै आक्रोशित हुँदै खाना नै फ्याकेका थिए । त्यसपछि व्यवस्थापन पक्षले अर्को खाना पकाएर ल्याए । तर, आक्रोशित संक्रमितहरुले सो खाना पनि फ्याकिदिए भने भाडाकुँडा, टेबुल, कुर्सी र टेन्ट समेत तोडफोड गरे ।

संक्रमितहरुलाई सम्झाउन पुगेका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई समेत आक्रमण गर्न थालेपछि उनीहरु आफ्नो सम्पर्कमा स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आइपुगेको अस्पतालका प्रमुख डा. झाले बताए ।

डा. झाले उच्छृखंल कार्यमा संलग्न व्यक्तिलाई कारवाही तथा अन्यत्र नसारेसम्म कर्मचारी र स्वास्थ्यकर्मी काम गर्ने अवस्था नरहेकोले तत्कालै काम गर्न नसकिने बताए ।

उनका अनुसार संक्रमितहरुले ४ दिनअघि पनि आइसोलसन कक्षमा निगरानीका लागि जडान गरिएको ३ वटा सीसी क्यामेरा समेत फुटाइदिएको थिए । सीसी क्यामेरा संक्रमितहरु मध्येकाले फुटाएको घटना बारे प्रमुख जिल्ला अधिकारी तथा अन्य निकायमा जानकारी पनि गराएको उनले बताए ।

यता जिल्ला प्रशासन कार्यालय सप्तरीको पहलमा स्वास्थ्यकर्मीहरु आइसोलेसन कक्षमा फर्किएका छन् । होहल्ला गर्ने व्यक्तिको उचित व्यवस्थापन गर्ने प्रशासनले प्रतिबद्धता जनाएपछि स्वास्थ्यकर्मीहरु काममा फर्केको अस्पतालका प्रमुख डा. झाले जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप