शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश २ मा पछिल्लो २४ घण्टामा ६३ जनामा कोरोना संक्रमण पुष्टि, अहिलेसम्म २४ जनाको मृत्यु

बिहीबार, २२ साउन २०७७, १९ : १९
बिहीबार, २२ साउन २०७७

जनकपुर । प्रदेश २ मा वीरगञ्जमा रहेको भारतीय महावाणिज्यदूतावासका एक कर्मचारीसहित ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पर्सामा ३९, धनुषामा ९, सर्लाहीमा ८, बारामा २, महोत्तरीमा २, रौतहट, सप्तरी र सिरहामा १/१ जना गरी ६३ जना कोरोना संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । संक्रमितमध्ये ४ हजार ८ सय २६ पुरुष छन् भने ५ सय ९ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिएका छन् ।

पर्सामा संक्रमण पुष्टि भएकाहरु वीरगञ्ज महानगरपालिका वडानम्बर ९ देखि वडानम्बर  १६ सम्मका ७ देखि ७३ वर्ष उमेर समूहका ४ जना महिला र १६ देखि ६० वर्ष उमेर समूहका १९ पुरुष, पकहा मैनपुर गाउँपालिका वडा नम्बर २ का २७ वर्षीय एक पुरुष, पोखरीया नगरपालिका वडा नम्बर ६ का ३३ वर्षीय १ पुरुष, चण्डीप्रसाद गणमा कार्यरत ३२ देखि ३५ वर्ष उमेर समूहका ५ जना सैनिक, श्रीपुर आर्मी ब्यारेकका ३३ देखि ३७ वर्ष उमेर समूहका ५ जना सैनिक, भारतीय महावाणिज्यदूतावासका ३० वर्षीय एक पुरुष कर्मचारी र नारायणी अस्पतालको क्वार्टरमा रहेका ४२ र ४८ वर्षीय २ जना पुरुष रहेको उनले बताए ।

धनुषाका संक्रमितहरुमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ र वडा नम्बर २३ स्थित घर भई हाल प्रादेशिक अस्पताल जनकपुरमा रहेका २७ वर्षदेखि ५४ वर्ष उमेर समूहका ३ पुरुष, लक्ष्मिनिया गाउँपालिका–५ घर भई हाल प्रादेशिक अस्पतालमा रहेकी ३४ वर्षीया एक महिला, आन्तरिक मामिला तथा कानून मन्त्रालयका ४५ वर्षीय एक पुरुष कर्मचारी, कर्मचारी सञ्चय कोष जनकपुरमा कार्यरत ३८ वर्षीय एक पुरुष कर्मचारी र शहिदनगर नगरपालिका–८ स्थित क्वारेन्टाइनमा रहेकी २७ वर्षीया एक महिला, सोही क्वारेन्टाइनमा रहेका ६ वर्षीय बालक र २६ वर्षीय पुरुष रहेको जनाइएको छ ।

त्यस्तै सर्लाहीको रामनगर गाउँपालिका घर भई हाल प्रादेशिक अस्पताल जनकपुरमा रहेका ४० वर्षीय एक पुरुष र ईश्वरपुर नगरपालिकाकी २५ वर्षीय र ४० वर्षीया २ महिला र ७ वर्षदेखि ५५ बर्ष उमेर समूहका ५ पुरुषहरु संक्रमित रहेका छन् ।

उता, महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ३ स्थित क्वारेन्टाइनमा रहेकी २३ वर्षीया एक महिला र ठेगाना खुल्न नसकेका हाल नारायणी अस्पताल वीरगञ्जमा कार्यरत ३७ वर्षीय एक पुरुष समेत संक्रमित छन् । त्यसैगरी बाराको देवताल गाउँपालिकाकी २२ वर्षीया एक महिला र प्रसौनी गाउँपालिका वडा नम्बर २ की ७३ वर्षीया एक बृद्धा संक्रमित भएका छन् भने रौतहटको मौलापुर नगरपालिकाका २७ वर्षीय एक पुरुष, सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ५ का ४२ वर्षीय एक पुरुष र सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ स्थित घर भई हाल प्रादेशिक अस्पताल जनकपुरमा रहेका ३६ वर्षीय एक पुरुष कोरोना संक्रमणको चपेटामा परेका छन् ।

प्रदेशका जिल्लाहरुमा आरडिटी तर्फ अहिलेसम्म २६ हजार ८ सय ६७ जनाको परीक्षण गरिएकोमा सप्तरीमा ६२, सिरहामा २ सय ६३, धनुषामा १ सय ६६, महोत्तरीमा ५ सय ६, सर्लाहीमा ६, रौतहटमा १ सय २७, बारामा ४६ र पर्सामा २९ जना गरि कुल १ हजार २ सय ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने २५ हजार ६ सय ६२ जनाको रिपोर्ट नेगेटिभ आएको झाले जनाए ।

प्रदेश नम्बर २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय ६० जना संक्रमित भएको छ भने महोत्तरीमा ८ सय ५४, धनुषामा ७ सय ७३, पर्सामा ७ सय ६७, सर्लाहीमा ७ सय ३९, सप्तरीमा ५ सय २४, सिरहामा २ सय २० र बारामा १ सय ९९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश नम्बर २ मा अहिलेसम्म पर्सामा १४, धनुषामा २, बारामा २, सप्तरीमा २, रौतहटमा २, सर्लाहीमा १ र महोत्तरीमा १ जना गरि २४ जनाको कोरोना संक्रमणले गर्दा मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप