शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआरएन इन्फास्ट्रक्चरको आईपीओमा आकर्षण, एनआरएन प्रवर्द्धित कम्पनीले कति देला प्रतिफल ?

बिहीबार, २२ साउन २०७७, १८ : २०
बिहीबार, २२ साउन २०७७

काठमाडौं । एनआरएन इन्फास्ट्रक्चरको साधारण शेयर (आईपीओ)मा सर्वसाधारणको आकर्षण देखिएको छ । बुधबार साँझसम्म आवेदन खुला रहेको सो कम्पनीको शेयरमा सर्वसाधारणले जारी शेयरभन्दा बढीको माग गरेसँगै सो शेयरप्रतिको आकर्षण देखिएको हो । बुधबार साँझ ५ बजेसम्म सो आईपीओमा ४ लाख २८ हजार १ सय ५३ जनाले १ करोड ६५ लाख ६७ हजार ६ सय कित्ताको लागि आवेदन परेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । 
एनआरएनले कुन ३१ लाख ६० हजार १ सय ८३ कित्ताका लागि सर्वसाधारणलाई आवेदन खुला गरेको थियो । जम्मा ३३ लाख ९८ हजार ४६ कित्ताको अनुमति लिएकोमा संस्थाका कर्मचारी र म्युचुअल फण्डलाई आरक्षण छुट्याएर सो मात्रामा शेयर खुला गरिएको थियो । यो हिसाबले कुल जारी शेयरको तुलनामा माग भएको उक्त शेयर संख्या ५.२५ गुणा पुगेको छ । 

शेयरको मागमात्रै नभएर यो कम्पनीमा सर्वसाधारण लगानीकर्ताको आकर्षण समेत देखिएको छ । यो शेयरका लागि सवा ४ लाख भन्दा बढीको आवेदन पर्नुले कम्पनीप्रति सर्वसाधारणको विश्वास रहेको देखाउँछ । अब यो शेयर ३ लाख १६ हजार आवेदकलाई १०/१० कित्ताका दरमा बाँडफाँड गरिनेछ । 
कस्तो कम्पनी हो एनआरएन इन्फास्ट्रक्चर ? 
एनआरएन इन्फास्ट्रक्चर गैरआवासीय नेपालीहरुले प्रवद्र्धन गरेको कम्पनी हो । जीवा लामिछाने (जीवनाथ लामिछाने) एनआरएनएको अध्यक्ष हुँदा उनकै पहलमा पूर्वाधार निर्माणमा लगानी गर्ने उद्देश्यले यो कम्पनी खोलीएको थियो । अहिले पनि लामिछाने यो कम्पनीको अध्यक्षको रुपमा छन् ।  

एनआरएन इन्फास्ट्रक्चरले आफूलाई हाइड्रोपावर कम्पनीभन्दा पनि पूर्वाधार कम्पनीको रुपमा चिनाउँदै आएको छ । यद्यपि यो कम्पनीले अहिलेसम्म हाइड्रोपावर क्षेत्रमा मात्रै लगानी गरेको छ । यसले हिमालयन पावर पार्टनर नामक कम्पनीमा यसले ३८ करोड रुपैयाँ लगानी गरेको छ । सो कम्पनीले २७ मेगावाट क्षमताको लमजुङको दोर्दीखोला आयोजनाको निर्माण गरिरहेको छ । यो आयोजनालाई तुलनात्मक रुपमा राम्रो आयोजना मानिन्छ । यसको प्रतिमेगावाट लागत करिब १७ करोडभन्दा कम छ । यो आयोजना यही नोभेम्बरमा सम्पन्न हुने जनाइएको छ ।

त्यस्तै, करिब साढे १७ करोड प्रतिमेगावाट लागत भएको ७३ मेगावाटको मध्य तमोरको निर्माण गर्ने सानिमा ‘मिडिल तमोर हाइड्रोपावर लिमिटेड’मा ६ करोड रुपैयाँ लगानी गरेको छ । अर्को वर्षको दशैंताका यो आयोजना पूरा हुने जनाइएको छ ।

त्यस्तै, प्रतिमेगावाट २० करोड रुपैयाँ लागत अनुमान गरिएको माथिल्लो मैलुङखोला जलविद्युते आयोजनामा यो कम्पनीले २ करोड २५ लाख रुपैयाँ लगानी गरेको छ । यो भर्खरै निर्माण सुरु भएको आयोजना हो । तुलनात्मक रुपमा कम लागत भएका यी आयोजनामा लागनी भएका कारण यो समयमा आयोजना निर्माण सम्पन्न भई आम्दानी भएको अवस्थामा राम्रो प्रतिफल प्राप्त हुने सम्भावना देखिन्छ ।

अहिले हिमालयन पावर पार्टनर आफै दोस्रो बजारमा सूचीकृत कम्पनी हो । यसको पछिल्लो कारोबार मूल्य १ सय ४७ रुपैयाँ छ । यो मूल्य साञ्जेन, रसुवागढी जस्ता राम्रा आयोजनाको मूल्यभन्दा बढी हो । त्यसमाथि यसले विभिन्न हाइड्रोपावरमध्ये पनि फरकफरक आयोजनामा लगानी गरेकोले पोर्टफोलियो व्यवस्थापनका कारण यसमा हाइड्रोपावर कम्पनीभन्दा सम्भावित जोखिम समेत कम हुन्छ । 

अहिले सो कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय २ रुपैयाँ छ । यसका आधारमा कम्पनीको शेयर पहिलोपटक १ सय २ रुपैंया देखि ३ सय ६ रुपैयाँसम्म कारोबार हुन सक्छ । यो कम्पनीले आईपीओ निष्कासन हुनुअघि नै शेयरधनीलाई लाभांश वितरण गरेको कम्पनी समेत हो । एनआरएन इन्फास्ट्रक्चरले अन्य पूर्वाधारको क्षेत्रमा पनि निकट भविष्यमै लगानी बढाउने योजना बनाएको छ । सोही कारणले यो कम्पनीको शेयरमा दोस्रो बजारमा पनि आकर्षण देखिनसक्ने विश्लेषण पनि बजारमा गरिएको छ । शेयर आवेदन बन्द भएकोले अबको केही दिनमै यो शेयर बाँडफाँट भई दोस्रो बजारमा कारोबार समेत हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप