बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वाग्मती प्रदेशमा १२७ योजनाको काम भइरहेको छ: मन्त्री फुयाँल

बिहीबार, २२ साउन २०७७, १४ : २०
बिहीबार, २२ साउन २०७७

हेटौंडा । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले विकासको गति समातेको बताउँदै हाल प्रदेशमा १२७ वटा महत्वपूर्ण योजनाको काम भइरहेको जानकारी दिएका छन् । चितवनका विभिन्न आठभन्दा बढी निर्माणाधीन तथा निर्माण गर्नुपर्ने योजनाको अनुगमनपछि कुरा गर्दै मन्त्री फुयाँलले अगामी दुई महिनाभित्र २९ वटा योजना निर्माणका लागि बोलपत्र आह्वान हुने बताए । मन्त्री फुयाँलले ३५ आयोजनाको विस्तृत अध्ययन प्रतिवेदनको काम भइरहेको जानकारी दिए । उनले आर्थिक वर्ष २०७७/७८ मा पुलबाहेक ४० आयोजना सम्पन्न हुने बताए ।

विभिन्न योजनाको अनुगमनका क्रममा चितवन पुगेका मन्त्री फुयाँलले राप्ती नगरपालिकाको वडा नं ७ र ८ का किसानको खेतबारी  सिँचाइका लागि प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको चिप्लेटी कुलोको अनुगमन गरे । कुलोको मुहान तथा नवनिर्मित कुलोको अनुगमनपछि बोल्दै मन्त्री फुयाँलले जनताको समस्या समाधानका लागि सरकारले जनतासँग नै मिलेर काम गर्ने बताए । उनले रकम अभावका कारण कुनै पनि काम नरोकिने बताउँदै इच्छाशक्ति र पारदर्शिता भएमा थोरै रकमले पनि धेरै काम गर्न सकिने धारणा राखे ।

मन्त्री फुयाँलले नारायणी खगेरी लिफ्ट सिँचाइ, हरिपुरमा गत महिना भाचिएर पुनःनिर्माण गर्नुपर्ने पुल, ऐतिहासिक गणेशथान मन्दिर तथा सुकुम्वासी बस्ती संरक्षणका लागि निर्माण गर्न लागिएको बाँध निर्माणस्थल, हरियाली उद्यानसहितको केरुङ्गा घोलको  बाँध निर्माणस्थल, नारायणी नदीस्थित जननेता मदन भण्डारीको शव भेटिएको स्थानमा निर्माणाधीन उद्यानलगायत आठ योजनाको अनुगमन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप