शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महोत्तरीका स्थानीय तह हाटबजार बन्द गर्दै

बिहीबार, २२ साउन २०७७, १४ : १६
बिहीबार, २२ साउन २०७७

महोत्तरी । कोभिड–१९ सङ्क्रमण जोखिम बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम हाटबजार बन्द गर्न थालेका छन् । जिल्ला सदरमुकाम जलेश्वर निषेधाज्ञा (कफ्र्यू)ले सुनसान भएसँगै सुदूरउत्तरवर्ती बर्दिवास र भङ्गाहा नगरपालिकाका हाटबजार बन्द हुने भएका हुन् । 

भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले सङ्क्रमण बढेपछि नगर क्षेत्रका सबै हाटबजार आजदेखि सात दिनसम्म बन्द रहने बुधबार साँझ नै घोषणा गर्नुभएको हो । यसैगरी बर्दिवास उद्योग वाणिज्य सङ्घ र बर्दिवास नगरपालिका–१, २ र १४ वडा समितिले बुधबार मध्यरातदेखि नै व्यापार व्यवसाय र आवागमन एक साता बन्द गर्ने निर्णय गरेका छन् ।

बर्दिवास  नगरपालिकाको पुरानो बर्दिवास गाविस क्षेत्रभित्र एक जनामा सङ्क्रमण पुष्टि भएपछि यस क्षेत्रमा पर्ने हालका वडा नं १, २ र १४ एक सातासम्म बन्द राख्ने निर्णय गरिएको सङ्घका महासचिव भवनाथ खतिवडाले जानकारी दिए । नगरका तीनवटै वडा समितिले पनि यस कुराको पुष्टि गरेका छन् । 

भङ्गाहा नगरपालिका क्षेत्रमा आजदेखि एक सातासम्म कुनै हाटबजार लाग्ने छैनन् । भीडभाड हुने हाटबजार बन्द गरिएसँगै आम मानिसलाई अनावश्यक हिँडडुल नगर्न समेत नगरप्रमुख साहको आग्रह छ । “बजारमा जताततै भीडभाड बढ्यो, भौतिक दूरीको पालना र अन्य सुरक्षा सतर्कतामा पनि लापरवाही देखियो”, नगरप्रमुख साहले भने, “सङ्क्रमण जोखिम बढ्दो छ, त्यसैले एक साता हाटबजार र खुला आवागमन बन्द गर्न सबैसँग अपिल गरेका हौँ ।” भङ्गाहा नगर क्षेत्रमा बारैपिच्छे लाग्ने साप्ताहिक हाट नै २५ भन्दा बढी छन् । भङ्गाहामा बुधबार नै थप ११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी बस्तीभित्रै नयाँ सङ्क्रमण पुष्टि भएपछि डरलाग्दो स्थिति बन्दै गएको हुँदा बर्दिवास उद्योग वाणिज्य  सङ्घ र बर्दिवास–१, २ र १४ सहित तीनवटै वडा समितिको संयुक्त बैठकबाट एक साता बन्द गर्ने निर्णय गरिएको बर्दिवास–१ का वडाध्यक्ष चुडामणि पोखरेलले बताए ।

बर्दिवास मुख्य व्यापारिक कारोवारको नाका भएको हुँदा सीमा क्षेत्रसम्मका व्यापारीको बाक्लो आउजाउ बढ्दै जाँदा सङ्क्रमणको जोखिम बढेको सङ्घका प्रतिनिधि र तीनवटै वडाका अध्यक्षको भनाइ छ । यस कार्यमा सहजीकरण र आवश्यक सहयोगका लागि इलाका प्रशासन कार्यालय बर्दिवास र इलाका प्रहरी कार्यालय बर्दिवाससँग लिखितरूपमै अनुरोध गरिएको बर्दिवास–२ का वडाध्यक्ष अभिराम प्याकुरेलले बताए । बर्दिवास–१ का १५० वर्षीया महिलामा कोभिड–१९ पुष्टि भएपछि यहाँ सङ्क्रमण जोखिम बढ्न नदिन एक साता बाहिर ननिस्केर घरघरै बस्न अपिल गरिएको बर्दिवास–१४ का वडाध्यक्ष भरत हमालको भनाइ छ ।

जिल्लामा कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि जिल्ला सदरमुकाम जलेश्वर नगर र महोत्तरी गाउँपालिकाको वडा नं ३ र ५ मा जिल्ला प्रशासन कार्यालयले गत सोमबारदेखि नै निषेधाज्ञा जारी गरेको छ । पहिलोपटक दुई दिनका लागि घोषणा गरिएको निषेधाज्ञा जिल्ला प्रशासन कार्यालय महोत्तरीले अब साउन २५ गतेसम्म कायम रहने  जनाएको छ । यसैगरी भीडभाड हुन नदिन, अनावश्यक आउजाउ रोक्न र जोखिम रोकथामका लागि गरिएका स्थानीय तह र उद्योग वाणिज्य सङ्घका प्रयत्नमा स्थानीय प्रशासनको साथ रहने जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताएका छन् ।
 
महोत्तरीमा  हालसम्म ८५२ मा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये १४ जना बुधबार नै पुष्टि भएका प्रदेश नं २ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ । साउन ७ गते लकडाउन हटेयता नै जिल्लामा सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या पनि १०१ पुगेको छ । महोत्तरी प्रदेश नं २ का आठ जिल्लामा रौतहटपछि सबैभन्दा बढी सङ्क्रमणले गाँजेको जिल्ला हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप