बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई नेम्वाङमार्फत ओलीको प्रश्न : वार्ताको वातावरण बिगार्ने प्रयास किन गरेको ?

बिहीबार, २२ साउन २०७७, १३ : २६
बिहीबार, २२ साउन २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र  पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वार्ता अनिश्चित भएको छ । गत आइतबार यता लगातार तीन दिन वार्तामा बसेका ओली र प्रचण्डबीच बुधबारका लागि तय भएको वार्ता समेत हुन सकेन । बुधबार प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बुधबारको वार्ता स्थगित भएकाे र बिहीबार बिहान नबस्ने सूचना जारी गरेका थिए भने हालसम्म अर्को समय तय भएको छैन । 

‘बिहीबार वार्ता हुने कुरा थियो । तर बुधबार चार नेताले पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीविरुद्ध मोर्चावन्दी गर्न आह्वान गरेपछि वातावरण बिग्रियो’, ओली निकट स्रोतले भन्यो, ‘आजपनि वार्ता होला जस्तो लाग्दैन ।’
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले बिहीबार हुने भनिएको दुई नेताबीचको वार्ताको समयबारे कुनै जानकारी नआएको बताए । 
‘अहिलेसम्म कुनै जानकारी आएको छैन’, सापकोटाले रातोपाटीलाई बताए । 

ओलीको सन्देश बोकेर नेम्वाङ खुमलटारमा 
पछिल्लो समय ओली र प्रचण्डसँगको वार्तामा बस्दै आएका नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ बिहीबार बिहानै अध्यक्ष प्रचण्डनिवास खुमलटार पुगे । झण्डै एक घण्टा खुमलटारमा बसेका नेम्वाङले प्रचण्डसँग बुधबार चार नेताले गरेको पत्रकार सम्मेलन र त्यसले पैदा गरेको तरङगका बारेमा कुराकानी गरेका थिए । 

नेम्वाङले प्रचण्डसँगको कुराकानीबारे पुष्टि गरेपनि अरु केही बताउन चाहेनन् । ‘यही त हो समसामयिक विषयमै कुराकानी भयो । अरु त के हुनु र ?’ उनले होलसेलमा जवाफ दिए । तर, स्रोतका अनुसार नेम्वाङले दुई अध्यक्षबीच वार्ता चलिरहेका बेला त्यसरी पत्रकार सम्मेलन गरेर असन्तुष्टि सार्वजनिक गर्दा राम्रो सन्देश नगएको भन्दै ओलीको सन्देश सुनाएका थिए । उनले प्रचण्डलाई ओलीको सन्देश सुनाउदै ‘वार्ता भाँड्न र पार्टी एकता नै भत्काउन प्रयास भइरहेको छ । यसले राम्रो गर्दैन’, नेम्वाङले भनेका थिए । 


उनले पार्टी एकता भत्काउन नदिने आफूहरुको प्रयास जारी राख्ने पनि प्रचण्डसँगको कुराकानीमा बताएका थिए । ‘यो विवाद र संघर्षले पार्टी र सरकार दुवैमा प्रश्न उठिसेको सत्य हो । तर सार्वजनिक भएका यस्ता कुराहरुले बैरी हसाउने बाहेक केही गर्दैन’, नेम्वाङले आफ्नो तर्फबाट पनि केही धारण राखेका थिए । 

जवाफमा प्रचण्डले आफूहरुले वार्ता र सहमतिका गरेका प्रयास सफल हुन नसकेको तथा अध्यक्ष ओलीले नै स्थितिलाई भड्काउन आफ्ना मान्छे सडकमै परिचालन गरेको भन्दै पार्टी बैठकबाट गर्नुपर्ने निर्णय र पार्टी फोरममा गर्नुपर्ने छलफल हुन नसकेपछि पार्टीको यथार्थ अवस्थाबारे जानकारी गराएको बताएका थिए । 

‘सरकारको नेतृत्वकर्ता केपी ओली ‘आफै पार्टी र आफै राज्य’को शैलीमा अघि बढेकाले समस्या उत्पन्न भएको हो । पाटीलाई विधि पद्धतिमा चलाउनुपर्छ भन्नु र त्यसका लागि माग राख्नु कुनै अनौँठो होइन’, प्रचण्डको जवाफ थियो । 
प्रचण्ड लगायतका चार नेताले बुधबारको अन्तरक्रियामा पनि विगत साढे दुई वर्षदेखि पार्टीलाई विधि, विधान र पद्धतिमा चलाउन ओलीको कार्यशैलीमा सुधार ल्याउन गरेको प्रयास असफल भएको भन्दै विधान अनुसार ओलीको विस्थापन बाहेक अन्य विकल्प नभएको बताएका थिए ।  

ओली समूह आक्रोशित 
बुधबार पार्टीअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका चार शीर्ष नेताले सञ्चारकर्मीहरुसँग गरेको अन्तरक्रियालाई कारण देखाउँदै ओलीपक्ष प्रचण्ड–नेपाल समूहसँग आक्रोशित बनेको छ । 
बुधबार ओली निकट मानिएका स्थायी समिति सदस्य शंकर पोखरेलले आफ्नो फेसबुकमार्फत पार्टीविवाद पत्रकार भेटघाटसम्म पुग्नु दुःखद भएको बताएका छन् ।  ‘पार्टी भित्रको विवाद पत्रकार भेटघाटमा पुग्नु दुःखद हो’, पोखरेलले लेखेका छन्,‘पार्टी एकताको रक्षा गर्न नेताहरु पुनः संवाद र सहमतिमा फर्कनुको विकल्प छैन ।’

ओलीका प्रेस सल्लहकार समेत रहेका केन्द्रीय सदस्य सूर्य थापाले चार नेताको पत्रकार अन्तरक्रियालाई दश वर्षअघि तत्कालीन माओवादीका नेताहरुको धोबिघाट गठबन्धन जस्तै भएको संज्ञा दिएका छन् ।
 थापाले त्यसबेला अध्यक्ष प्रचण्डविरुद्ध नेताहरु, बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लव, नारायणकाजी श्रेष्ठहरु लागेको र अहिले ओलीविरुद्ध त्यही शैलीमा प्रचण्डलगायतका नेताहरु लागेको जनाएका छन् । 


थापाले नेताहरु राष्ट्रपति, पार्टी अध्यक्षलगायतका आफै पद बाँडफाड गर्दै लेखेका छन्, ‘यो पद, प्रतिष्ठा, गुटबन्दी र भागबण्डा नभएर विधि, पद्धति र एकताको लडाइँ हो त ? पार्टी विभाजनको खुल्लमखुला हाँक, होहल्ला र रिहर्सल गर्दा यसबाट एकतालाई कहाँनेर सहयोग पुग्यो ? नेकपा विभाजन र समाप्त पार्ने कसरत भइरहेछ । अनि देशीविदेशी षड्यन्त्र र चलखेल जारी छ भन्नेतर्फ सचेत भएको खोई ?’ 

त्यतिमात्रै होइन ओली पक्षले बुधबारको उक्त अन्तरक्रियालाई प्रेस संगठनकै भेलाका रुपमा प्रचार समेत गरेका थिए । ओली पक्षको त्यस्तो प्रचारपछि प्रेस संगठनका नेता राजेश राईले बिहीबार प्रचार गरिएजस्तो नेताहरुले कुनै समूह अथवा नेता विरुद्ध लेख्न नभनेको बताए । ‘जारी अन्तरसंघर्ष केवल पदीय लेनदेनको मात्रै होइन यो पार्टीभित्र विधि र पद्धति स्थापना गर्ने विषयसँग सम्बन्धित संघर्ष हो । विचार र संगठनसँग सम्बन्धित विषय हो । यो फुटका लागि होइन रुपान्तरणका लागि हो’, राइले थप लेखेका छन् ‘यही बुझ्न र लेख्नका लागि अनुरोध थियो, कोही नेताविरुद्ध लेख्न अपील गरिएको भन्ने प्रचार गलत हो ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप