मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

स्तनपानका फाइदाहरु र आमाले जान्नैपर्ने तथ्यहरु

बिहीबार, २२ साउन २०७७, ११ : ०९
बिहीबार, २२ साउन २०७७

विश्व स्तनपान दिवस विशेष 

‘स्वस्थ र सुन्दर संसार, स्तनपान एक मात्र आधार’ भन्ने मूल नाराका साथ यस वर्षको स्तनपान दिवस सप्ताहव्यापी रुपमा मनाइएको छ । हरेक वर्ष अगस्ट १ लाई विश्व स्तनपान दिवसको रुपमा मनाउने गरिन्छ । 

त्यसैगरी, विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९० देखि हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाउन शुरु गरिएको हो । विश्वभर स्तनपान सप्ताहको विश्व स्वास्थ्य संगठन र युनिसेफले अगुवाई गर्दै आइरहेका छन् । यस वर्ष नेपालमा साउन १७ गतेदेखि २३ गतेसम्म स्तनपान सप्ताह मनाइएको छ ।

नेपाल सरकारको आव्हानमा यस वर्ष देशमा ७५३ वटै स्थानिय तहमा स्तनपानबारे विभिन्न जनचेतनामूलक कार्यक्रमहरु भइरहेका छन् । सरकारको यस अभियानमा विभिन्न संघसंस्थाहरुले पनि साथ दिँदै आइरहेका छन् ।

स्तनपान सप्ताहको अवसरमा पेडियाट्रिक नर्सेस् एसोसिएशन अफ नेपालले पनि जनचेतनामूलक कार्य गर्दै आइरहेको छ । स्तनपान गराउँदा शिशु र आमालाई हुने फाइदा र स्तनपान गराउँदा कस्ता कुरामा ध्यान दिनुपर्छ भन्नेबारे अएसोसिएशनको धारणाः

शिशुले जन्मेको छ महिनासम्म पूर्ण स्तनपान गर्न पाउनु उसको अधिकार हो । आफ्नो सन्तानलाई स्तनपान गराउन पाउने अधिकार प्रत्येक आमालाई छ । परिवार र राज्यले आमा र शिशुको हक सुनिश्चित गर्नुपर्ने एसोसियशनले बताएको छ । 

विश्व स्वास्थ्य संघको तथ्याङ्कअनुसार स्तनपानलाई सुधार गर्न सक्ने हो भने वार्षिक रूपमा विश्वभर ८ लाख २० हजार शिशुको ज्यान जोगाउन सकिन्छ । स्तनपान नगराउँदा नेपालमा झन्डै ४० प्रतिशत बालबालिकाको उमेरअनुसार वृद्धि विकास नभएको विज्ञहरु बताउँछन् । बालबालिकाहरूको उचाई कम हुनु, कुपोषित हुनु र सुस्त हुनुमा पनि स्तनपान नगराउनु कारक मानिएको छ ।

नवजात शिशु जन्मिएको एक घण्टाभित्र नै आमाको पहिलो पहेँलो (बिगौती) दूध खुवाउनु पर्दछ । घिउ, मह, चिनी जस्ता खानेकुरा खुवाउने परम्परा वास्तवमा गलत हुन् । शिशुको आवश्यकताअनुसार एक दिनमा ८ देखि १२ पटक (दिन र रात) स्तनपान गराउनु पर्दछ । आमाको दूधमा सम्पूर्ण पौष्टिक तत्वहरू र शिशुलाई पुग्ने पानीको मात्राहुने भएकोले कुनै विशेष अवस्थाबाहेक ६ महिना सम्मको बच्चालाई पानी पनि खुवाउनु पर्दैन ।

बच्चा कम्तिमा दुई वर्ष नपुगुन्जेल नियमित रुपले अन्य खानाको साथै आमाको दूध नै खुवाइ रहनुपर्छ । आमाको दुधमात्रै खाएर बच्चाले २४ घण्टामा छ देखि आठ पटकसम्म पिसाब फेर्छ भने त्यो बच्चालाई आमाको दुध पुगेको हुन्छ । स्तनपान गराउँदा तनावमा, दुःखी मनले, दिक्क मान्दै, रिसाउँदै, गाली गर्दै खुवाउनु हुँदैन । यसो गर्दा दूध कम आउँछ । त्यसैले स्तनपान गराउँदा बालबालिकासँग कुराकानी गर्ने, गीत सुनाउने, मुस्कुराउने गरेमा बालबालिकामा सकारात्मक संवेगको विकास हुन्छ ।

बलबालिकाका लागि स्तनपानका फाइदाहरु
–आमाको दूध अमृत समान हो, यसले बालबालिकाको जीवन रक्षा गर्छ ।
–आमाको दूध सफा र सुरक्षित हुन्छ ।
–आमाको दूध तयारी अवस्थामा र उपयुक्त तापक्रममा उपलब्ध हुन्छ ।

–सजिलै पचाउन सक्छन् । यसमा रहेका पोषक तत्वहरु शरीरले राम्ररी सोस्न सक्छ ।
–बिभिन्न रोगहरु जस्तोः झाडापखाला तथा श्वासप्रश्वास सम्बन्धी संक्रमणहरुबाट बचाउँछ ।
–शारीरिक र मानसिक विकास राम्ररी हुन्छ ।

–स्तनपानबाट बालबालिकाले आफुलाई सुरक्षित महसुश गर्छन् ।
–दूधमा रहेको प्रतिरोधात्मक तत्वले आन्द्राको रक्षा गर्छ, हानिकारक तत्वहरुलाई रगतसम्म पुग्न दिदैन र एलर्जीबाट बचाउँछ ।
–आमाको दूधमा आवश्यक कार्बोहाइड्रेट, प्रोटिन र चिल्लो पदार्थ पाइन्छ ।
–आमा र बच्चा दुबैलाई निन्द्रा लगाउँछ ।

–मृत्युदर कम हुन्छ ।
–बच्चामा बोली छिटो आँउछ ।
–यसले गिजा र दाँतको विकास गर्न सहयोग गर्छ तथा दूध चुसाइले अनुहारको मांशपेशिकाको विकास गर्न सहयोग गर्छ ।
–आमासँग पटक–पटक टाँसेर राख्ने गरेमा स्नेहपूर्ण सम्बन्धको विकास हुन्छ, जसले बालबालिकाको मानसिक, शारीरिक तथा सामाजिक विकासमा सहयोग गर्छ ।

आमाको लागि स्तनपानका फाइदाहरु
–प्रसूती अवस्थामा भएको रक्तश्राव कम हुन्छ ।
–बालबालिका जन्मने बित्तिकै आमाको दूध चुसायो भने सालनाल छिटै बाहिर निस्कन्छ ।
–स्तनपानले पाठेघर सामान्य अवस्थामा फर्कन मद्दत पुर्याउँछ ।
–बालबालिका जन्मने वित्तिकै उसलाई आमाको दूध चुसाएमा स्तनबाट धेरै दूध आउन सहयोग गर्छ । तुरुन्तै र पटकपटक दूध चुसाउनाले स्तन गानिने समस्या कम हुन्छ ।

–आमाको कामको भारलाई घटाउँदछ साथै कम खर्चिलो हुन्छ ।
–आमाको दूध जुनसुकै बेला र जहाँपनि खुवाउन सकिन्छ ।
–आमा र बालबालिका बीचको मायाममता बढ्छ ।
–आमाको डिम्बाशयमा हुने क्यान्सर, स्तन क्यान्सरको खतरा कम हुन्छ ।
–आमाको अनावश्यक तौललाई कम गर्छ ।

–महिनाबारी नफर्किएको अवस्था तथा बालबालिका जन्मेको पहिलो ६ महिनासम्म  प्रभावकारी पूर्ण स्तनपान गराएमा गर्भ निरोधकको रुपमा काम गर्छ ।
बच्चा जन्मिने वित्तिकै गराइने स्तनपान र स्वास्थ्य संस्थाबाट डिस्चार्ज हुने बेला गरिने स्तनपान सम्बन्धी परामर्श पनि एकदमै महत्वपूर्ण हुन्छ । आमाको दुधबाहेक अन्य कुरा खुवाउँदा त्यसले बच्चाको स्वास्थ्यमा लामो समयसम्म असर पार्ने हुँदा छ महिनासम्म आमाकै दुधमा जोड दिनुपर्छ ।
सुत्केरी आमाले हरेक दिन विभिन्न प्रकारका खाना (अन्न, गेडागुडी, हरिया सागपात, तरकारी तथा फलफूल, ज्वानो (अजवाइन), माछामासु) खानुपर्छ । सुत्केरीले गाह्रो काम गर्नु हुँदैन र धुम्रपान तथा मद्यपान गर्नु हुँदैन ।

स्तनपान गराउँदा ध्यान दिनुपर्ने कुराहरू
–स्तनपान गराउनु अघिपछि स्तन सफा गर्नुपर्छ र हात धुनुपर्छ । सफा र खुकुलो लुगा लगाउनु पर्दछ ।
–आमाले बच्चालाई दूध चुसाउँदा स्तनलाई अंग्रेजी अक्षरको सी आकारमा समात्नु पर्दछ ।
–बुढी औंला स्तनको मुन्टो वरिपरिको कालो भागमाथि हुनुपर्दछ र अरु औंला स्तनको तलपट्टि हुनुपर्छ ।

–स्तनको मुन्टो वरिपरिको कालो भाग शिशुको मुखभित्र छिरेको हुनुपर्दछ ।
–शिशुलाई काखमा राख्ने र शिशुको टाउको अलिकति ढल्काई दूध चुसाउनु पर्दछ । स्तनपान गराउँदा एकापट्टिको स्तन पूर्ण खाली हुनेगरी खुवाउनु पर्दछ । त्यसपछि अर्को पट्टिको स्तनपान गराउनु पर्दछ ।
–शिशुले जति दूध चुस्छ त्यति नै बढी मात्रामा दूध रसाउँछ ।
–दूध खुवाइ सकेपछि शिशुलाई काँधमा अडेस लगाएर पिठ्यूँमा मुसारी डकार्न लगाउनुपर्छ । यसले गर्दा शिशुले स्तनपान गर्ने बित्तिकै वान्ता गर्दैन ।

–दूध नआउने, बच्चाले दूध खान नमान्ने, स्तनका मुन्टामा घाउ भएमा स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयम् सेविकालाई सम्पर्क गर्नु पर्दछ ।
–एचआइभी संक्रमित आमाले पनि छ महिनासम्म आफ्नो शिशुलाई स्तनपान गराउनु पर्छ । त्यसपछि शिशुलाई आमाको दूधसँग पूरक खाना पनि दिनुपर्छ । तर एचआइभी संक्रमित आमाको स्तनका मुन्टा चर्किएका छन् वा रगत बगिरहेको छ भने स्तनपान गराउनु हुँदैन । साथै नजिकको स्वास्थ संस्थामा सम्पर्क गरी आवश्यक उपचार र सरसल्लाह लिनुपर्दछ ।

–आमाको दूधबाट हालसम्म कोभिड—१९को संक्रमण भएको नपाइएकोले कोभिड—१९को संक्रमण भएको आशंका गरिएकी वा पुष्टि भएकी आमाले स्तनपान रोक्नु पर्दैन ।
–नवजात शिशुमा कोभिड—१९ फैलने सम्भावनालाई घटाउनका लागि स्तनपान गराउँदा आमाले मेडिकल मास्कको प्रयोग गर्ने, सरसफाइका उपयुक्त उपायहरूको अवलम्बन गर्ने गर्दा संक्रमण सर्न पाउँदैन । 

photo: https://www.freepik.com/free-photos-vectors/breast-feeding

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप