केन्द्रीय संस्करण
इतिहासमा आज

इतिहासमा आज : हिरोसीमामा विज्ञानसँग मानवता हारेको त्यो बिहान

person explore access_timeसाउन २२, २०७७ chat_bubble_outline0
photo : AFP

रेहान फन्जल

सन् १९४५ आउँदासम्म आम जापानीको जीवन निकै मुस्किल थियो । पसलबाट अन्डा, दुध, चिया र कफी गायब भइसकेका थिए । स्कुलका मैदान र घरका बगैँचामा तरकारी उत्पादन गर्न थालिसकिएको थियो । आम मानिसको पहुँचबाट पेट्रोल टाढा भइसकेको थियो ।

सडकमा निजी कार दौडिएका थिएनन् । हिरोसीमाका सडकमा चारैतर्फ साइकल, पैदल हिँडिरहेका मानिस र सैनिक वहान देखिन्थे । ६ अगस्ट,१९४५ को बिहान ७ बजे जापानी राडारले दक्षिणतर्फबाट आइरहेको अमेरिकी विमानलाई देख्यो । चेतावनीको साइरन बज्यो र पुरै जापानमा रेडियो कार्यक्रम बन्द गरियो ।

जापानमा यतिबेलासम्म पेट्रोलको यति धेरै अभाव भइसकेको थियो कि ती विमानलाई रोक्नका लागि कुनै जापानी विमान पठाइएन । आठ बज्दासम्म रेडियो कार्यक्रम फेरि सुरु भयो ।  ८ बजेर ९ मिनेट जाँदा अमेरिकी वायु सेनाका कर्नेल पल टिबेट्सले आफ्नो बी–२९ विमान ‘एनोला गे’ को इन्टरकममा घोषणा गरे, ‘आफ्नो गगल्सलाई आफ्नो निधारमा राख्नुस् ।’

जब सुरु भयो उल्टो गणना

‘जब उल्टो गणना सुरु हुन्छ, त्यसलाई आफ्नो आँखामा लगाउनुस् र त्यतिबेलासम्म लगाइराख्नुस्, जबसम्म तपाईंले तल जर्बजस्त प्रकाश देख्नुहुन्न ।’

विमानको बेलीमा ३ दशमलव ५ मिटर लामो, ४ टन वजनको निलो–सेतो एटम बम राखिएको थियो, यसलाई ‘लिटिल ब्वाई’ नाम दिइएको थियो । यसलाई अति गोप्य म्यानहटन प्रोजेक्टअन्तर्गत लस अलामोस, न्यु मेक्सिकोको प्रयोगशालामा बनाइएको थियो ।

यसको अस्तित्व यति गोप्य राखिएको थियो कि अमेरिकाका उपराष्ट्रपति ह्यारी ट्रयुम्यानलाई समेत राष्ट्रपति रुजवेल्टको मृत्युपछि नयाँ राष्ट्रपतिका रुपमा पदभार सम्भालेयता मात्रै यसबारे पहिलोपटक जानकारी मिलेको थियो । ‘एनोला गे’ को दाहिने विंगबाट १० मिटरको दूरीमा एक किलोमिटर पछाडि बी–२९ विमान ‘ग्रेट आर्टिस्ट’ विमान उडिरहेको थियो । अर्को, तेस्रो बमवर्षक पनि थियो, जसलाई जर्ज मारक्वार्डले उडाइरहेका थिए । उनको जिम्मेवारी तस्विर लिनु थियो ।

ठिक ८ बजेर १३ मिनेट जाँदा ‘एनोला गे’ स्थित बोम्बार्डियर मेजर टम्स फेरेबीको हेड फोनमा कर्नेल पल टिबेट्सको सन्देश सुनियो, ‘इट इज अल योर्स,’ फेरि उनले इन्टरकममा भने, ‘आफ्नो गगल्स लगाउनुस् ।’ फेरेबीले जब गगल्सबाट आफ्नो लक्षित क्षेत्र अओई ब्रिज देखे, उनी चिच्याए, ‘आई ह्याभ गट इट ।’

लिटिल ब्वाई

हिरोशिमाको तबाही

ठीक ८ बजेर १५ मिनेट जाँदा ‘एनोला गे’ बाट ‘लिटिल ब्वाई’ हिरोसीमामा झर्न सुरु भयो । यस बमलाई एनोला गेबाट झरेर जमिनसम्म आइपुग्न ४३ सेकेन्ड लागेको थियो । तेज हावाका कारण आफ्नो लक्षित क्षेत्र अओई ब्रिजदेखि २ सय ५० मिटर टाढा सीमा सर्जिकल क्लिनिकमाथि यो बम बिस्फोट भयो । यसको शक्ति १२ हजार ५ सय टन टीएनटी बराबर थियो र जब यो विस्फोट भयो, तब तापक्रम अचानक १० लाख सेन्टिग्रेड पुगेको थियो र आकाशबाट द ग्रेट आर्टिस्टका पाइलट मेजर चाल्र्स स्विनीले विशाल आगोको एक घेरा बनिरहेको देखे ।

शहरको मध्यबाट एक क्षण केही कंक्रिट भवनलाई छाडेर जमिनमाथि खडा सबै कुरा गायब भयो । बिस्फोटको असर यति तीव्र थियो कि ग्राउन्ड जिरोदेखि १५ किलोमिटर टाढा हरेक भवनका झ्यालहरुको सिसा चकनाचुर भए ।

 

एटम बम गिराउने विमानमा के भयो ?

हिरोसीमा शहरका दुई तिहाई भवन एक सेकेन्डभित्रै ध्वस्त भए । धेरै किलोमिटर टाढासम्म आगोको आँधी फैलियो । एकै क्षणमा हिरोशिमाको कुल जनसख्ंया २ लाख ५० हजारको ३० प्रतिशत अर्थात् ८० हजार मानिसको मृत्यु भयो ।

जब बिस्फोट भयो ‘एनोला गे’ को अगाडिको क्याबिनमा प्रकाश फैलियो र पाइलट पल टिबेट्सले आफ्ना दाँतहरुमा एक अनौठो कम्पन महसूस गरे ।

विमानको पछाडिपट्टी बसेका टेल गनर बब कैरनले आफ्नो कोडाक क्यामेरा उठाएर जमिनका दृश्यहरु खिच्न लागे, तल बादलबीच सफा धुवाँको एक धर्सा ३ हजार फिटसम्म उठ्यो र त्यसले च्याउजस्तो आकार लियो ।

एनोला गेका सह–पाइलट क्याप्टेन रोबर्ट लुइसले आफ्नो लग बुकमा लेखे, ‘माई गड, हामीले के ग¥यौँ ? ‘एनोला बे’ का वेपेनियर विलियम पारसन्सले एक सन्देश पठाए, ‘परिणाम सफल, विमानको हालत सामान्य ।’

बम खस्दा जमिनमा के भयो ?

तल जापानी सेनाका ड्राफ्ट्सम्यान सुतोमु यामागुचीको नजर माथि उडिरहेका बिमानमा प-यो । उनले देखें कि विमानबाट एक छोटो, कालो वस्तु तल झर्दैछ । एकै पलमा उनको आँखाले देख्न नसक्नेगरी प्रकाश फैलियो । उनका सबै संवेदनशील अंगले काम गर्न छाडे । उनले औँलाहरुले आफ्नो आँखा ढाके र जमिनमा बम गि-यो । उनीभन्दा तलको जमिन हल्लियो र तल–माथि गरिरह्यो । जब उनले आफ्नो आँखा खोले, तब उनको चारैतर्फ अन्धकार थियो ।

अचानक उनलाई महसुस भयो कि आफ्नो अनुहारको बाँया हिस्सा र बायाँ कुइनोमा भयानक गर्मी भयो । उनलाई बान्ता गर्न लागेको महसुस भयो, उनी बेहोश हुन थाले । त्यतिबेलै उनले केही टाढा रहेको एक रुख देखें, त्यस रुखका सबै पातहरु झरिसकेका थिए । 

उनले त्यस रुखमा पुग्न आफ्नो सबै ताकत लगाए । उनी त्यहाँ पुगेर त्यसको तल बसे । यतिबेलासम्म उनको गला सुख्खा भइसकेको थियो र पानीको एक थोपाका लागि उनी तड्पिरहेका थिए ।

बाँचेका अन्य व्यक्ति ...

हिरोशिमाको पूर्वी इलाकामा एक रेल शहरतर्फ अघि बढिरहेको थियो । अचानक सैनिकहरुले चलिरहेको रेल रोकेर सबै यात्रुहरुलाई उत्रन आदेश दिए ।

डिब्बाहरुलाई इन्जिनबाट अलग गरेर त्यही रोक्ने काम भयो, यद्यपी इन्जिन अगाडि बढ्दै गयो । तर, त्यति टाढा पनि जान पाएन किनकी रेलवे लाइन पैदलै शहर छाडेर जान लागेका मानिसहरुले भरिएको थियो ।

त्यसमध्ये केही मानिसहरुको छाला उनीहरुको अनुहारबाट बाहिर निस्किएर झुन्डिरहेकोे थियो र केही व्यक्तिको हात यसरी झुलिरहेको थियो, जसरी भित्तामा आधा च्यातिएको पोस्टर झुलेको हुन्छ । केही व्यक्ति निकै बिस्तारै–बिस्तारै घस्रिरहेका थिए र उनीहरुको मुखबाट एउटै आवाज निस्किएको थियो, ‘पानी .. पानी.. ।’

के म मर्न जाँदैछु ?

झन्डै ११ बजेतिर एटम बमको बिस्फोटबाट पैदा भएको बादलको कारण हिरोशिमामा तिव्र वर्षा हुन लागेको थियो । यो कालो वर्षा थियो, जसमा फोहोर, धुलो र बिस्फोटबाट उत्पन्न भएको रेडियोएक्टिभ तत्त्व मौजूद थिए ।

खासमा कालो रंगबाट पनि गहिरो वर्षा भएको थियो, केही–केहीले भित्ता र कपडामा अमिट निशान पनि छाडे । उता, पात बिनाको ठूलो रुखमुनी बसेका यामागुचीले रेडियो एक्टिभ वर्षाको सामना गर्नुपरेन । उनी थोरै पर दौडदैं खाल्डोमा पुगे, जहाँ एक महिला थिइन् । ती महिलाको सारा कपाल  र गाला पनि जलेर रातो भइसकेको थियो । उनले उठ्ने कोसिस गरिन्, तर सकिनन् । उनी कसैलाई सम्बोधन गर्दै बल्लतल्ल चिच्याउँदै थिए, ‘मद्दत गर्नुस्, मद्दत गर्नुस्...।’

यामागुचीलाई देखेपछि उनले निकै सानो आवाजमा सोधिन्, ‘के म मर्न जाँदैछु ।’

यतिबेला यहाँ अन्य दुई युवा आइपुगे, जसलाई केही पनि भएको थिएन । उनीहरुले यामागुचीलाई भने, ‘तपाई नराम्रोसँग जल्नुभएजस्तो देखिनुहुन्छ ।’

यामागुचीले आफ्नो अनुहारलाई बिस्तारै छोए । उनलाई लाग्यो कि उनको अनुहारबाट छाला उत्रिएर उनको हातमा आउँदैछ । उनका पाखुरा कालो भइसकेका थिए र लगातार कमजोर हँुदै थिए ।

ती छात्रहरु यामागुचीलाई लिएर एक क्लिनिक पुगे । त्यहाँ जलेका शवहरु थिए । त्यहाँ एक कम्पाउन्डरले यामागुचीको अनुहारमा सेतो मल्हम लगाइदिए र उनको पाखुरामा पट्टी बाँधिदिए ।

त्यहाँ उनलाई दुई बिस्कुट र थोरै पानी दिइयो । अनि,  बिस्कुटको एक टुक्रा खानासाथ उनलाई वान्ता आयो ।

हिरोसीमाको विध्वंश नियाल्ने पहिलो पत्रकार

उता, ३७ वर्षीय स्थानीय पत्रकार सातोशी नाकामुरा भाग्यशाली थिए किनकी उनले त्यस दिन हिरोशिमबाट थोरै टाढा आफ्नो एक साथीको घरमा रात बिताएका थिए । जब हिरोसीमामा एटम बम पड्कियो, तब त्यसको असरले उनी जमिनमा ढले र उनको अनुहारमा फुटेको सीसाले चोट पु-यायो । त्यसपछि उनले आफ्नो साइकल उठाए र हिरोसीमातर्फ अघि बढे ।

उनी हिरोसीमाको बर्बादी देख्ने पहिलो पत्रकार थिए । उनले डौमी समाचार एजेन्सीको ओकायामास्थित कार्यालयमा जानकारी गराए, ‘८ बजेर १६ मिनेटमा दुश्मनका दुई विमानहरुले हिरोसीमामा एक खास बम खसाले । हिरोसीमा पुरै तरिकाले बर्बाद भइसकेको छ र झन्डै १ लाख ७० हजार मानिस हाताहात भएका छन् ।’

जब डौमीका ब्युरो चिफले यो सुने तब उनले नाकामूरालाई भने कि एउटै बमले हिरोसीमामा यति धेरै मानिस मारिनु साँचो हुनैसक्दैन । उनले नाकामूरालाई सेनाले यो तथ्य मान्न अस्विकार गरिहेकाले हातहात भएकाहरुको संख्या कम बनाएर रिपोर्ट गर्न भने । बदलामा नाकामुराले टेलिफोन लाइनमा चिच्याउँदै भने,‘सेना मुर्ख छ ।’

तीन दिनपछि नागासाकीमा पड्कियो ‘फ्याट म्यान’

९ अगस्ट, १९४५ मा जापानको अर्को एक नगर नागासाकीमा दिउँसो बी–२९ बमवर्षकले अर्को एटम बम खसाल्यो । यस बमलाई जमिनमा पुग्न ४३ सेकेन्ड लागेको थियो । बम खसेपछि १ किलोमिटरको दायरामा रहेका सबै चिज ध्वस्त भएका थिए । 

ऊष्माको किरणले मानव शरीरको जलको एक–एक थोपा सोसिदियो । धेरै मानिस र जनावर त्यही क्षण मरे ।

धमाका यति तेज थियो कि ८ किलोमिटर टाढा रहेका घरका सीसा फुटे । बिस्फोटबाट उत्पन्न प्रकाश केही सेकेन्डसम्म मात्रै रह्यो, तर यसबाट निस्किएको ऊष्माले छाला ‘थर्ड डिग्री’ जलाइदियो ।

बम खसेको क्षेत्रबाट ५ सय मिटर टाढा शिरोयामा प्राइमरी स्कुलमा चारैतर्फ कंक्रिट र कंकाल देखिन्थ्यो । त्यही रहेकी चियोको इगाशिराले एक भयानक धमाका सुनिन् र उनलाई यस्तो लाग्यो कि उनको पिठ्युको मासुको एक हिस्सा उडिसकेको छ । उनले नजिकै रहेकी आफ्नी छोरीलाई आफ्नो शरीरले ढाकिन् । यतिबेला छोरीको शिरको एक–एक रौं ठाडो थियो, तर आँखी भौंमा एउटा पनि रौं बाँकी थिएन । छोरीको मद्दका लागि उनले चिच्याउने कोसिस गरिन्, तर मुखबाट कुनै आवाज निस्किएन ।

माइक्रो सेकेन्डभित्र नागासाकी ध्वस्त

बमको केन्द्रबिन्दुबाट १ किलोमिटर क्षेत्रका एक–एक चिज बाफ बनेर उठे । यस्तो लाग्दै थियो, जस्तो दाहसंस्कारमा हरेक चिज जलेर खरानी भइसकेको छ । एक माइक्रो सेकेन्डभित्र नागासाकी जेलका तीन भवन ध्वस्त भए । जेलभित्र बसेका कोही पनि व्यक्ति बच्न सकेनन् । रुट नम्बर २०६ मा बिजुलीबाट चल्ने ट्रामको नामोनिशान बाँकी रहेन ।

नागासाकी मेडिकल कलेज अस्पतालमा डाक्टर तकाशी नगाई आफ्नो कक्षामा अभ्यासका लागि केही एक्स रे फिल्म छानिरहेका थिए, त्यतिबेलै उनले दृष्टीविहीन बनाउने प्रकाश देखे ।

यति जोडसँग धमाका भयो कि झ्यालबाट सिसा टुटेर कोठाभित्र आइपुग्यो र ती झ्यालबाट यति छिटो हावा भित्र आयो कि डाक्टर तकाशी हावामै उडे ।

उनको अनुहारको दाहिने हिस्सामा चोट लाग्यो र उनको गाला र गर्दनबाट रगत बग्न थाल्यो । उनलाई यो कुराले आश्चर्य बनायो कि कुनै दुखाई महसुस भइरहेको थिएन । जहाँ बम खसेको थियो त्यहाँबाट डेढ किलोमिटर पर अस्पताल बाहिर कुनै पनि वस्तु पहिचान हुनसक्ने अवस्थामा थिएन । त्यहाँ बसेकी सुनिओ तोमिताले आफ्ना साथी कामोतोलाई उसको काँधमा तानेर उठाउने कोसिस गरिन्, तर उनको हातमा काँधको मासु आयो र कोमोतो फेरि लडे ।

धेरैजसो मरेका व्यक्ति तथा मर्दै गरेका व्यक्तिको मुखबाट फिज जसरी रगत निस्किरहेको थियो । थोतोमिता उनीहरुमाझ गएर उनीहरुलाई पानी दिइरहेका थिए र हौसला बढाइरहेका थिए । तर थोरै समयपछि उनी र उनका प्रोफेसर सिकी मात्रै जीवित बाँकी रहे ।

उनको चारैतर्फ झन्डै २० वटा शव थिए । जहाँ हेरेपछि आगोको झिल्का उठिरहेको देखिन्थ्यों । बिस्फोट स्थलबाट झन्डै डेढ किलोमिटर पर एक टारपिडो कारखानामा मित्स तकिनो पनि जमिनमा लडेर बेहोश थिइन् । होश आएपछि उनले चारैतर्फ मानिसहरुको चिच्याहट सुनिन्, उनीमाथि ठूलो संख्यामा टुुटे–फुटेका ईट्टालगायत सामाग्री प¥यो । धेरै गाह्रोसँग उनले बल्लतल्ल आफ्नो दाहिने हातलाई मुक्त गराउन सकिन्, उनलाई जमिन शीतल रहेको अनुभव भइरहेको थियो । जब उनले आफ्नो टाउको छोइन्, त्यतिबेला थाहा भयो, जमिनमा उनकै रगत फैलिएको थियो र त्यसैमाझ उनी खडा थिइन् ।

(क्रेक कोलीको पुस्तक ‘नागासाकी’, जेम्स डलगार्डोको पुस्तक ‘न्युक्लियर डान’ र चिकासाउ मोरासामीको ‘द व्हाइट स्काइ इन हिरोशिमा’ पुस्तकमा आधारित ।)

बीबीसी हिन्दीबाट

अनुवाद– अन्वेषण अधिकारी ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.