शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य आकासिएपछि बैंकमा थुप्रियो पौने ३ सय किलो सुन, मूल्य सुनेरै तर्सिन्छन् ग्राहक

बुधबार, २१ साउन २०७७, १६ : ४६
बुधबार, २१ साउन २०७७

काठमाडौं । पछिल्लो समय सुनको मूल्यमा व्यापक वृद्धि भएको छ । सुनको मूल्य बढेसँगै यसको बिक्री पनि ठप्प जस्तै भएको छ । किन्न सुनचाँदी पसलसम्म पुग्ने कतिपय ग्राहक मूल्य सुनेरै तर्सिन्छन् । सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्य ग्राहक सुन किन्न भनेर आउने तर मूल्य सोधेर त्यसै फर्कने गरेको बताउँछन् । उनका अनुसार अहिले व्यापार ठप्प छ । 

गत चैत १६ गतेको मन्त्रिपरिषद्को बैठकबाट सुनको आयातको कोटा दैनिक २० केजीबाट घटाएर १० केजीमा झारिएको छ । सोही अनुसार बाणिज्य बैंकहरुले दैनिक १० केजी मात्र सुन आयात गर्न पाउँछन् । अहिले बैंकमा २ सय ७५ केजी सुन थुप्रिएर बसेको बैकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माले बताए । सुनको माग न्यून हुँदा सो परिणामको सुन बैंकमै थन्किएको हो ।  पछिल्लो एक सातामा ४५ केजीमात्रै सुन बिक्री भएको उनको भनाइ छ । जवकी सहज अवस्थामा दैनिक २५ केजीसम्म बिक्री हुने गरेको थियो । बैंकहरुले सुन दुबई, टर्की, स्वीट्जरल्याण्ड लगायतका देशबाट आयात गर्ने गरेका छन् । 

गत आर्थिक वर्ष २०७६/७७ मा २४ सय ५२ केजी सुन आयात भएको भन्सार विभागको तथ्यांक छ । सो वर्ष १३ अर्बको सुन आयात भएको भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरेले जानकारी दिए । 
लगातार बढ्दै गएको सुन बुधबार प्रतितोला १ लाख रुपैयाँ नाघेको छ । हरेक दिन रेकर्ड बनाउँदै आएको सुनले बुधबार पनि रेकर्ड (प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ ) बनाएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आज २ हजार १४.८५ डलर प्रति औँस छ ।  


वर्ल्ड गोल्ड काउन्सिलले सन् २०२१ को अन्तसम्ममा सुन प्रतिऔस झण्डै ३ हजार डलरसम्म पुग्ने प्रक्षेपण गरेको छ । काउन्सिल सुनसम्बन्धी अध्ययन÷ अनुसन्धान गर्ने संस्था हो । 

 यसकारण बढिरहेको छ सुन
कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा पारेको असरका कारण सुन बजारमा लगानी गर्नेहरुको संख्या बढेकाले  मूल्य बढेको हो ।  कोरोनाका कारण उत्पन्न उच्च अनिश्चितता, बैंकको ब्याजदरमा कमी, लगातारको बढ्दो मूल्य लगायतका कारण लगानीकर्ताहरु सुनप्रति आकर्षित भएको वल्र्ड गोल्ड काउन्सिलको अध्ययनले देखाएकोे छ । 

काउन्सिलले भनेको छ, ‘कोभिड १९ का कारण विश्व अर्थतन्त्रमा अहिलेसम्म कति असर गरेको छ, त्यसको एकिन तथ्यांक आउन सकेको छैन । कोरोना अझै बाँकी छ र त्यसको प्रभाव सकिएको छैन ।’ 
‘चीन, दक्षिण कोरिया, केही युरोपियन देशहरु कोरोनाको प्रभावबाट माथि उठिरहेका छन् । विश्व आर्थिक मन्दी सन् २००८ पछि सुन प्रतिऔस ९ सय डलरबाट दोब्बर भयो । विश्व आर्थिक मन्दीपछिको तीन वर्ष लगातार सुनको भाउ बढिरह्यो  । कोभिड माहामारी शुरु भएदेखि ३० प्रतिशत सुनको मूल्य बढेको छ, काउन्सिलको अध्ययनमा भनिएको छ । 

यता नेपाली व्यवसायी शाक्य कोरोनासहित विश्वको महाशक्ति राष्ट्र अमेरिका र चीनबीच बढेको व्यापार युद्धका कारणले पनि नयाँ लगानी गर्ने ठाउँ नभेटिदा सुनमा लगानी गर्ने क्रम बढेकाले मूल्य बृद्धि भएको बताउँछन् । सुनको मूल्य अब दशैँसम्म बढिरहने र त्यसपछि केही समय विश्राम लिने उनको आंकलन छ । 

पहिले डलर र पाउण्ड बलियो थियो । धेरैजसो मुलुकमा मुद्रा छपाउँदा डलर डिपोजिट राखिन्थ्यो भने अहिले सुन राख्नुपर्ने माग उठ्न थालेको उनले बताए ।  उसो त कोरोनाले सुन उत्पादन गर्ने कम्पनीमा श्रमिकको समस्याले गर्दा पनि उत्पादन कम भएको भनिएको छ । 
उसो त नेपालमा सुन आयातमा भन्सारदर बृद्धि गरिएको छ । प्रति १० ग्राम ८ हजार ५ सय रुपैयाँ भन्सार महसुल लाग्ने गरेको छ । बढ्दो भन्सार महसुलका कारण पनि नेपाली बजारमा सुनको मूल्य अझ बढी पर्न गएको हो । 

सुन बेच्न पाइएन भन्नु गलत हो, जहाँ किनेको त्यहिँ दिनुस् : शाक्य
सुनको मूल्य बढेसँगै किन्ने भन्दा बेच्नेहरु बढेपछि सुन व्यवसायीले पुराना गहना किन्न नमानेको गुनासो ग्राहकबाट आइरहेको छ । तर, यो गलत बुझाइ भएको संघका निवर्तमान अध्यक्षको ठम्याइ छ । 
आफूले किनेकै पसलमा बिल सहित लिएर गए बेच्न समस्या नपर्ने शाक्यको भनाइ छ । कतिपय मासिनहरुलाई आफ्नो दैनिकी चलाउनै समस्या परेर सुन बेच्न गएका छन् भने कतिपय बढेको बेला बेचेर नाफा लिने मनसायमा छन्  ।

उनी भन्छन्, ‘बाहिरबाट सुन किनेको रहेछ भने त्यसलाई पगालेर गुणस्तर जाँच गर्नुपर्ने हुन्छ । कमसल छ भने घटाएर समेत मूल्य दिनुपर्ने हुन्छ । अहिले पैसा नभएको अवस्थामा आफ्ना ग्राहक बाहेकको सुन किन्न सक्ने अवस्था व्यवसायीसँग छैन । जहाँ किनेको त्यही बेच्दा सहज हुन्छ । खरिद पनि हुन्छ । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप