शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सार्वजनिक जग्गामा बनेको घरमा डोजर चलेसँगै आन्दोलन (तस्बिरहरु)

बुधबार, २१ साउन २०७७, १४ : १३
बुधबार, २१ साउन २०७७

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ स्थित बालाजु–बाइपास पुग्नु भयो भने तपाईँले अहिले डोजर लगाएर सडक फराकिलो बनाउने कार्य थालिएको दृश्य देख्न सक्नुहुन्छ । मंगलबारसम्म बालाजु–बाइसधारा हुँदै बाइपास पुग्नेबेलामा बायाँतर्फ तपाइँले एक खण्डहर घर देख्नुहुन्थ्यो । जुन घरकै कारण वर्षौदेखि सडक विस्तार प्रभावित हुँदै आएको थियो । 


तस्बिरहरुः सुवास श्रेष्ठ

सो घर भत्काउँदै सडक विस्तारको प्रयास नभएको पनि होइन तर घर धनीले सर्वोच्चमा मुद्दा हालेका डोजर चलाउन मुस्किल हुँदै आएको थियो । यही अन्योलतालाई चिर्दै सडक विभाग र उपत्यका विकास प्राधिकरणले डोजर लगाएर मंगलबार घर भत्काएको हो । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलगायतले यो सडक विस्तार हुनुपर्ने भन्दै पटक पटक प्रयास गरेपनि सम्भव हुन सकेको थिएन । 

 मंगलबार गाईजात्राको दिन सो घर भत्काएर सडक विस्तारका लागि मार्ग प्रशस्त गरिएपनि अवरोधको प्रयास जारी छ । अर्थात, पीडित भनिएकाहरु र केही अभियन्ताले बुधबार डोजर लगाइएको क्षेत्रमा प्रदर्शन गरेका छन् । उनीहरुले जनप्रतिनिधिले शक्तिको आडमा जबरजस्ती घर भत्काएको भन्दै चर्को विरोध गरेका थिए । 


‘नेवा भूमि लुट्न बन्द गर’ ‘पृथ्वीनारायणको आक्रमण इन्द्रेजात्रामा, जनप्रतिनिधिको आक्रमण गाईजात्रामा’ ‘गाईजात्रे सरकार मुर्दावाद’, ‘संकृतिमाथि हस्तक्षेप बन्द गर’ लगायतका नारा अंकित प्लेकार्ड बोकेर विरोध प्रदर्शन भएको हो भने उनीहरुले यसविरुद्ध रिले अनसन समेत बस्ने बताएका छन् । 
डोजेर चलेसँगै सो भेगका धेरैले सडक विस्तार हुने भयो भन्दै खुसी व्यक्त गरेपनि अवरोध पनि कायमै भएको हो । 

काठमाडौं महानगरपालिकाको वडा नम्वर १६ को कित्ता नम्वर २०१ को बाइपासको जग्गामा घर बनाएका घर धनी भीमदेव श्रेष्ठलगायत १२ जनाले उपत्यका विकास प्राधिकरणबाट मुअब्जा लिएका थिए । तर मुआब्जा प्राप्त गरेका १२ जनाले नै सार्वजनिक जग्गा सरकारलाई फिर्ता दिनुको साटो मुद्धा मामिलामा गएका थिए । सो घर भत्काउने क्रममा राजनीति समेत हुने गरेको स्थानीयहरु बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप