केन्द्रीय संस्करण

महामारीको पाठ : अमेरिकामै मास्क नलगाउनेलाई गोली ठोकियो

person explore access_timeसाउन २१, २०७७ chat_bubble_outline0

मास्कलाई मजल्स (जनावरको मुखमा लगाइने), किटाणु कवच र डर्च ट्रयाप्स् अर्थात् फोहोर टिप्ने वस्तु पनि भनिन्थ्यो । यसले मानिसको नाकलाई सुँगुरजस्तै बनाइदिएको थियो । केही मानिसहरुले सिगार पिउनका लागि आफ्नो मास्कमा प्वाल पनि बनाएका थिए । केहीले कुकुरलाई मास्क लगाइदिएर यसको मजाक पनि बनाउँथे । फटाहाहरुले बैङ्क लुट्न यसको प्रयोग गर्थे । 

एक शताब्दीअघि १९१८ मा जब अमेरिकामा इन्फ्लुएन्जाको महामारी देखियो, गज र चिज कपडाको मास्क भाइरसविरुद्धको युद्धमा काम आएको थियो । अहिलेजस्तै त्यतिबेला पनि मास्कले राजनीतिक विभाजन समेत निम्त्याएको थियो । त्यतिबेला स्वास्थ्य अधिकारीहरुले रोगको फैलावट कम गर्न मास्क प्रयोग गर्नुपर्ने तर्क गरेका थिए, त्यतिबेला पनि अहिलेजस्तै केही व्यक्तिले प्रतिरोध गरेका थिए । 

१९१८ र १९१९ मा जब बार, सैलुन, रेस्टुरेन्ट, थिएटर र स्कुलहरु बन्द भए । मास्कलाई दोष दिइयो, सरकार हदभन्दा अघि बढेको भन्दै प्रदर्शनहरु भए । हस्ताक्षर सङ्कलन र अनुहार नढाकी सम्मेलन गर्ने काम पनि भयो । यो सबै त्यतिबेला भयो, जतिबेला हजारौँ अमेरिकीहरु महामारीका कारण ज्यान गुमाउन बाध्य थिए ।

१९१८– सङ्क्रमणको फैलावट 
पहिलो सङ्क्रमण कान्सासस्थित आर्मी इलाकामा पहिचान भयो, जहाँ मार्चमा १ सय जना सैनिक सङ्क्रमित भए । एक साताभित्रै फ्लुको सङ्क्रमण पाँच गुणाले फैलियो र चाँडै यो रोग देशभर फैलनेवाला थियो । नियन्त्रणका लागि केही सहरले क्वारेन्टाइन र मास्कको प्रयोग गर्नुपर्ने नियम बनाउनेवाला थिए । 

१९१८ को सेप्टेम्बरयता सान फ्रान्सिस्को, सियटल, ओकल्यान्ड, साक्रामेन्टो, डेन्भर, इन्डियानापोलिस र पासाडेना सहरले फेस मास्क अनिवार्य लगाउनुपर्ने नियम कार्यान्वयनमा ल्याएको इतिहासविद् तथा ‘क्वारेन्टाइन’ पुस्तकका लेखक डाक्टर होवार्ड मर्केल बताउँछन् ।  

डाक्टर मर्केलका अनुसार मास्क लगाउनुपर्ने नियमविरुद्ध सङ्गठित विरोध आम थिएन तर यो अस्तित्वमा भने थियो । ‘त्यहाँ केही चिट्चिटाहट, झगडा र एन्टी मास्क लिगजस्ता यदाकदा देखिने विरोधी समूह थिएन,’ मर्केलले भने, ‘तर यो नियमबाहेकको अपवाद मात्रै थियो ।’

सुरक्षाको मापदण्ड अपनाउनेमा सबैभन्दा अगाडि सान फ्रान्सिस्को थियो, जहाँ सिकागो भ्रमणबाट फर्किएका एक मानिस भाइरस बोकेर घर फर्किएको अनुसन्धान प्रतिवेदनहरुले देखाउँछन् । अक्टुबरको अन्त्यसम्म क्यालिफोर्निया राज्यमा ६० हजारभन्दा धेरै सङ्क्रमणका घटना देखिएका थिए । यसमध्ये ७ हजारभन्दा धेरै सान फ्रान्सिस्कोमै थियो । चाँडै ‘मास्कड सिटी’ भनेर सान फ्रान्सिस्को चिनिन थाल्यो । मेयर जेम्स रोल्फको हस्ताक्षरमा २२ अक्टुबरबाट आएको ‘मास्क कानुन’ले सान फ्रान्सिस्कोलाई  चार लेयरको मास्क आवश्यक पर्ने पहिलो अमेरिकी सहर बनायो । 

फ्लुले अमेरिकामा अक्टुबर महिनामा मात्रै १ लाख ९५ हजारको ज्यान लिँदा पनि प्रदर्शनकारीहरुले सार्वजनिक उपस्थिति, सहजता र स्वतन्त्रताबारे गुनासो गरे । द लस एन्जलस टाइम्समा २२ अक्टुबर १९१८ मा एल्मा ह्वाइटेकरले समाज र सेलिब्रेटीमा मास्कको प्रभावबारे समीक्षा गर्दै लेखेकी छिन्, ‘प्रसिद्ध मानिसहरु मास्क लगाउँदैनन् किनकि उनीहरुलाई नचिन्ने बनेर बस्न असहज लाग्छ ।’
‘ठूला रेस्टुरेन्टहरु हाँसउठ्तो स्थल बनेका छन्, जहाँ हरके वेटर र ग्राहले मास्क लगाएका छन्, उनीहरु केवल भोजन गर्दाको समय मात्रै मास्क निकाल्छन् ।’

जब ह्वाइटटेकर आफैले मास्क लगाउन अस्वीकार गरिन्, तब उनलाई ‘लोफर’ का रुपमा र जर्बजस्ती रेडक्रस लगियो र एउटा मास्क आफै बनाउन अनि लगाउन भनियो । द सान फ्रान्सिस्को क्रोनिकलका अनुसार फोल्ड गरिएको गजमा इलेस्टिक वा टेप जोडिएको मास्क सबैभन्दा सामान्य मास्क थियो । 

मास्क अदालत 
मास्क नलगाउनेलाई ५ देखि १० डलर जरिवाना वा १० दिनको जेल सजाय तोकिएको थियो । द सान फ्रान्सिस्को क्रोनिकलका अनुसार ९ नोभेम्बरसम्म १ हजार मानिस पक्राउ परेका थिए । 

‘तपाईंको मास्क कहाँ छ ?’ न्यायाधीश माथियु ब्राडीले हल अफ जस्टिसमा अभियुक्तलाई सोधेका थिए, जहाँ सेसन रातिसम्म लम्बिन्थ्यो । कसैले गलत नाम दिन्थे, उनीहरु के भन्थे भने केवल सिगार सल्काउनका लागि उनीहरु नियम पालना गर्नबाट रोकिएका थिए । ८ घण्टादेखि १० दिनसम्मको जेल सजाय थियो र ५ डलर तिर्न नसक्नेलाई ४८ घण्टासम्म जेलमा राखिन्थ्यो । 

मास्क नलगाउनेमाथि गोली प्रहार 
२८ अक्टुबरमा जेम्स विसर नाम गरेका एक व्यक्ति पोवेल एनड मार्केट स्ट्रिटमा औषधि पसल सामुन्ने उभिएका थिए, उनी भीडलाई मास्क फाल्न भनिरहेका थिए, उनले यस गतिविधिलाई ‘बङ्क’ को संज्ञा दिएका थिए । 
द सान फ्रान्सिस्को क्रोनिकलमा उल्लेख भएअनुसार हेल्थ इन्सपेक्टर हेनरी डि मिल्लारले उनलाई समातेर मास्क किनिदिन औषधि पसलमा लगे ।

ढोकामा पुगेपछि बिसरले सिक्काहरु राखिएको झोलाले मिल्लारलाई हिर्काएर भुइँमा ढाले । आफूमाथि आक्रमण भएपछि ६२ वर्षीय मिल्लारले रिभल्भरको फायर खोले, उनले चार गोली हाने । बिसर घाइते र उनीसँग बसेका अन्य दुई साक्षी घाइते भए । उनीविरुद्ध शान्ति भाँड्न खोजेको, प्रतिरोध गरेको र अफिसरमाथि आक्रमण गरेको आरोप लाग्यो । यता इन्स्पेक्टरमाथि खतरनाक हतियार प्रहार गरेको अभियोग लगाइयो । 

लस एन्जलसमा ‘टु मास्क’ वा ‘नट टु मास्क’ 
लस एन्जलस टाइम्समा प्रकाशित समाचारअनुसार नोभेम्बरमा सहरका पदाधिकारीहरुबीच जनताले कस्तो मास्क लगाउन आवश्यक छ भन्नेबारे छलफल भएको थियो । यसपछि सर्वसाधारणको प्रतिक्रिया मागिएको थियो । 
केही समर्थकहरुले मास्कको समर्थन गरे, किनकि यस्तो हुँदा चर्च र स्कुल सञ्चालन हुनसक्थ्यो । विपक्षीहरुले मास्क ‘फोहोर र धुलो टिप्ने वस्तु भएकाले फाइदाभन्दा धेरै हानि गर्ने’ प्रतिक्रिया दिए । 

‘मैले केही त्यस्ता व्यक्ति देखेको छु, जसले केही समय मास्क लगाएर त्यसलाई आफ्नो गलामा झुन्ड्याउँथे र फेरि अनुहारमा लगाउँथे । उनीहरुले यसरी  आफ्नो कपडा नजिकै मास्क झुन्ड्याउँदा यसले किटाणुहरु टिपेको हुनसक्छ भन्ने बिर्सिरहेका हुन्थे,’ डाक्टर इ डब्ल्यु फ्लेमिङले लस एन्जलस टाइम्सको रिपोर्टमा भनेका छन् ।
नाक, कान, घाँटीका विशेषज्ञ डाक्टर जोन जे केलले भनेका थिए, ‘मैले आज रेस्टुरेन्टमा एक महिलालाई मास्क लगाएको देखेँ । उनी सामान्य सडककै पहिरनमा थिइन् र हरेक पटक उनले आफ्नो हात उठाएर अनावश्यक रूपमा मास्क चलाएकी थिइन् ।’ 

इलिनोयमा राइट टु चुज र राइट टु रिजेक्ट 
मत खसाल्न पाउनुपर्ने अधिकार माग्दै सङ्घर्षरतहरुले आफ्नो आवाज महत्त्वपूर्ण रहेको समय अनुहार ढाक्न नहुने सङ्केत गरे । सिकागो डेली ट्रिब्युनका अनुसार १९१८ अक्टुबरमा इलिनोय समान मताधिकार सङ्गठनको वार्षिक सम्मेलनमा सहभागीहरुले चार फिटको दूरी कुर्सी राखे । सर्वसाधारणका लागि ढोका बन्द गरेर सहभागीको सङ्ख्या १ सयमा झारेका थिए । तर महिलाले मास्कप्रति आफ्नो असम्मान प्रकट गरे । रिपोर्टमा भनिएको छ । तर किन यस्तो गरे भन्ने स्पष्ट छैन । 

वेन्टवोर्थ इन्स्टिच्युट अफ टेक्नोलोजीकी एसोसियट हिस्ट्रफी प्रोफेसर एलिसन के लान्जका अनुसार एउटा कारण के पनि हुनसक्छ भने उनीहरु आफ्नो व्यक्तित्वलाई अति पारदर्शी राख्न चाहन्थे । ‘मताधिकारका लागि सङ्घर्षरतहरु के सुनिश्चित गर्न चाहन्थे भने उनीहरुका नेता चिनिएका राजनीतिक व्यक्तित्व हुन्,’ डाक्टर लान्जले भनिन् । 

सान फ्रान्सिस्कोमा चार हप्तापछि नियम हट्यो
सान फ्रान्सिस्कोको मास्क नियम ४ हप्तापछि २१ नोभेम्बरको दिउँसो हट्यो । सहरले खुसीयाली मनायो र चर्चका घण्टीहरु बजे । ‘आपराधिक सोचका’ एक व्यक्तिले यति छिटो मास्क खोले कि झन्डै यसक्रममा उनको कान चुँडियो,’ सान फ्रान्सिस्को क्रोनिकलले लेखेका छ । उनी र उनी जस्ता अन्य व्यक्तिले मास्क बोकेर सहरमा चिच्चाउँदै आफ्नो आक्रोश पोखे । पुलिसले टुलुटुलु हेरेर बस्दा उनीहरुलाई मास्कप्रतिको ‘आफ्नो वितृष्णा पूरा भएको अनुभव’ भयो ।
वेटर, वार किपर र अन्य कामदारले आफ्नो अनुहारबाट मास्क निकाले । घरमा पार्टी गरियो । आइसक्रिम पसलले पार्टी दिए । सडकका किनारमा गजको मास्क फालेको देखिन्थ्योँ, ‘जो पीडादायी महिनाको अवशेष थियो’ क्रोनिकलले लेखेको छ । 

सङ्क्रमणको फैलवट रोकियो तर दोस्रो लहर मडारिएको थियो । डिसेम्बरसम्म सान फ्रान्सिस्को बोर्ड अफ सुपरभाइजर्सले विपक्षीहरुसँग बैठक गरेर फेरि मास्कको प्रयोगबारे नियम प्रस्ताव गर्नेवाला थियो । झन्डै वर्षको अन्त्यतिर सान फ्रान्सिस्कोस्थित प्रमुख स्वास्थ अधिकारी डाक्टर विलियम सी हस्सलेरको कार्यालयबाहिर बम डिफ्युज गरियो । ‘अवस्था हिंसात्मक र आक्रामक थियो किनकि मानिसहरुले पैसा गुमाइरहेका थिए,’ सान फ्रान्सिस्कोस्थित ण्क्यालिफोर्निया विश्वविद्यालयका मेडिकल इतिहासविद् ब्रायन डोलनले भने, ‘यो संवैधानिक कुरा होइन । यो पैसाको कुरा थियो ।’
१९१८ को अन्त्यसम्म इन्फुएन्जाबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा २ लाख ४४ हजार ६ सय ८१ पुगेको थियो, सरकारी तथ्याङ्कअनुसार पछिल्ला ४ महिनामा मृत्यु धेरै देखिएको थियो ।

१९१९– एक नयाँ वर्ष  

जनवरीमा पासाडेना सिटी काउन्सिलले मास्क लगाउनुपर्ने नियम पारित ग¥यो । प्रहरीले यसलाई कडाइका साथ लागू ग¥यो र कारमा सवार यात्रु र सिगार पिउनेमाथि कारबाही थाल्यो । २२ जनवरीमा लस एन्जलस टाइम्सले छापेको समाचारअनुसार पहिलो दिनमै ६० जना व्यक्ति पक्राउ परेका थिए । ‘मास्कभित्र पासाडोनाको सास’ शीर्षकमा यो समाचार छापिएको थियो । ‘पासाडोनाको इतिहासमा लागू गरिएको यो अहिलेसम्मकै अलोकप्रिय कानुन थियो,’ तत्कालीन प्रहरी प्रमुख डब्ल्यूएस म्याकइन्टायरले पत्रिकासँग भनेका छन्, ‘हामी सबै ठाउँबाट घेरिएका छौँ ।’

केही व्यक्तिले यस कानुनको खिल्ली उठाउँदै कारको भेन्ट वा कुकुरको नाकमा मास्क लगाइदिने काम गरे । सिगार व्यापारीहरुले आफ्ना ग्राहक गुमाएको बताए । यद्यपि अम्मलीहरुले कपडामा प्वाल पारेका थिए (जबकी उनीहरुलाई पनि पक्राउ गरिएको थियो ।)

सैलुनहरुले व्यापार गुमाए । धेरैभन्दा धेरै मानिस घरमा बसेपछि ट्राफिक चाप घटेको भन्दै व्यापारीहरुले गुनासो गरे । सिगार स्ट्यान्डअगाडि हस्ताक्षर सङ्कलन भयो । गिरफ्तारी बढ्यो । शक्तिशालीहरु पनि यसमा परे । सेक्युरिटी नेसनल बैङ्क अफ पेसाडेनाका अध्यक्ष इर्नेस्ट मेसहित अन्य पाँच प्रभुत्वशाली पाहुना आइतबारको कुनै एक दिन मेरिल्यान्ड होटलमा घेरिए, उनीहरुसँग मास्क थियो तर त्यसले अनुहार ढाकेका थिएनन् । 

एन्टी मास्क लिग 
दोस्रो वर्षमा महामारी प्रवेश ग¥यो, यससँगै मास्क छल्ने प्रवृत्ति पनि आयो । मृतक सङ्ख्या उकालो लाग्न थालेपछि सान फ्रान्सिस्को बोर्ड अफ सुपरभाइजर्सले १७ डिसेम्बर १९१८ मा मास्क लगाउनुपर्ने नियम फेरि ल्यायो, यसका बाबजुद नयाँ वर्षको सुरुवाती ५ दिनमै झन्डै १८ सय जनामा फ्लु सङ्क्रमण पाइयो भने १ सय १ जनाको मृत्यु भयो । 

बोर्डको यस निर्णयपछि एन्टी–मास्क लिग गठनको बाटो खुल्यो । लिग गठनको अर्थ सङ्क्रमण फर्किएर सहरहरुले फेरि मास्कले मुख छोप्नुपर्ने निर्देशन लागू गर्ने प्रयास गरेका बेला त्यसको प्रतिरोधले पनि आकार लिँदैछ भन्ने थियो । अधिवक्ता, सामाजिक अभियन्ता र सान फ्रान्सिस्को सहरका मेयरकी राजनीतिक प्रतिस्पर्धी ई जे हेरिङटनले यस लिगको नेतृत्व गरेकी थिइन् र यस लिगको नेतृत्वपङ्क्तिमा झन्डै आधा दर्जन महिला थिए । 

आठ पुरुषहरु पनि आबद्ध भए, केहीले युनियनको पनि प्रतिनिधित्व गरेका थिए । यसमा समावश दुई जना त बोर्ड अफ सुपरभाइजर्सकै सदस्य थिए । उनीहरुले बोर्डमा पनि मास्कको प्रयोगविरुद्ध भोट गरेका थिए । 
‘मास्क राजनीतिक सङ्केतका रूपमा पल्टियो,’ डाक्टर डोलानले भने । २५ जनवरीमा लिगले आफ्नो पहिलो साङ्गठनिक बैठक आयोजना ग¥यो, डिमल्यान्ड रिन्कमा भएको यस बैठक सर्वसाधारणका लागि पनि खुला थियो । यहाँ सहभागी भएकाहरुले मास्क लगाउनुपर्ने नियम स्थगित गर्न र मेयर तथा स्वास्थ्य अधिकारीहरुको राजीनामा माग गरे । मास्कले काम गर्छ भन्नेबारे पूर्ण वैज्ञानिक आधार नभएको र मानिसलाई अनुहार ढाक्न लगाउनु असंवैधानिक रहेको भन्दै उनीहरुले आपत्ति जनाएका थिए । २७ जनवरीमा लिगले बोर्ड अफ सुपरभाइजर्सको बैठकमा प्रदर्शन ग¥यो तर मेयर टसमस भएनन् । ‘त्यहाँ स्वतन्त्रता र अधिकारका लागि रुवाबासी र चिच्याहट थियो,’ डाक्टर डोलानले महामारीबारेको आफ्नो प्रतिवेदनमा लेखेका छन् । 

केही दिनपछि मेयर रोल्फले सङ्क्रमण कम भएको बताए । १ फेब्रुअरीमा मास्क लगाउनुपर्ने नियम स्थगित भयो । तर यही वर्षको अन्त्यमा फ्लुको तेस्रो लहर फैलियो । मृतकको अन्ति सङ्ख्या देशभर अनुमानित ६ लाख ७५ हजार थियो । सान फ्रान्सिस्कोमा प्रत्येक १ हजारमा ३० जनाले ज्यान गुमाए यो अमेरिकाकै सर्वाधिक धेरै प्रभावित सहर बन्यो । 
डाक्टर डोलानका अनुसार २०२० मा नयाँ ढङ्गले चर्चा पाइरहेको एन्टी मास्क लिगको कथाले व्यक्तिगत इच्छा र वैश्विक बाध्यताबीचको डिसकनेन्ट प्रदर्शन गर्छ । 

यो भावना फ्रान्क कोचिनिलिया नामक सान फ्रान्सिस्कोका रेलवे कर्मचारीको आवाजमार्फत शताब्दीदेखि गुन्जिएको छ । लस एन्जलस टाइम्सका अनुसार केयरर्नी स्ट्रिटबाट जनवरीमा पक्राउ परेका कोचिनिलियाले न्यायाधीशलाई भनेका थिए ‘उनी आफ्नो भावनासँग मेल नखाने कुनै पनि काम गर्न इच्छुक थिएनन् ।’
उनलाई पाँच वर्ष जेल सजाय तोकिएको थियो । ‘यो मेरा लागि सुहाउँछ,’ कोचिनिलियाले भनेका थिए, ‘मैले त्यहाँ मास्क लगाउनुपर्दैन ।’

अनुवाद –अन्वेषण अधिकारी 

द न्युर्योक टाइम्स 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.