शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपाको स्कुलमा जसपाको प्रशिक्षण

बुधबार, २१ साउन २०७७, १० : ४६
बुधबार, २१ साउन २०७७

काठमाडौँ । तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएको जनता समाजवादी पार्टी नेपालको आज ११ बजेदेखि प्रशिक्षण शुरु हुने भएको छ । रोचक कुरा, नव गठित जसपा नेपालको पहिलो प्रशिक्षण नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्कुलिङ विभागको सभाहलमा हुने भएको छ । बालकुमारीस्थित तुलसीलाल आमात्य प्रतिष्ठानको सभाकक्षमा प्रशिक्षण हुने भएको हो । नेकपाको स्कुलिङ विभाग र विदेश विभागको कार्यालय सोही प्रतिष्ठानमा रहेको छ । स्कूल विभागले पार्टीलाई दिइने प्रशिक्षणहरु त्यहीबाट सञ्चालन हुने गरेको छ ।

यसअघि जसपा नेपालको प्रशिक्षण पार्टी कार्यालय बालकुमारी हुने भनिएको थियो । तर पार्टीका ५१ सदस्य कार्यकारिणी समितिको बैठक समाजिक दुरी कायम गरि बसाउन ठाउँ त्यहाँ अपुग हुने भन्दै तुलसीलाल अमात्य प्रतिष्ठानमा सारिएको बताइएको छ । पार्टीका भातृ संगठनहरुले कुनै कार्यक्रम गर्दा हलका लागि चार हजार र पार्टी बाहिरका लागि आठ हजार रुपैयाँ लिने गरेको छ । जसपा नेपाल पनि दिनको आठ हजार रुपैयाँ तिरेको प्रतिष्ठान स्रोतले जनाएको छ ।

नेता आमात्यको स्मृतिमा सो प्रतिष्ठान सन् १९९८ मा भएको थियो । सो प्रतिष्ठान भारतका सहयोगमा निर्माण भएको हो । सन् १९६१ मा बनारसमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशनबाट महासचिव, नेपाल कम्युनिस्ट पार्टीको विभाजनपछि नेकपा (अमात्य) को गठन गरी नेतृत्व सम्हालेका अमात्य भारत स्वतन्त्र भएको खुसीमा सन् १९४७ अगस्ट १५ तारिखमा पाटनमा भएको जुलुसको नेतृत्व गर्दा पहिलो पटक छ महिना जेल परेका थिए ।

सो प्रतिष्ठानमा अधिकाँश कम्युनिस्टहरुको गतिविधि हुने गरेका छन् । जनता समाजवादी पार्टीका अधिकांश शीर्ष नेताहरु पनि कम्युनिस्ट पृष्ठभूमिका रहेका छन् । पार्टीका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेताहरु डा.बाबुराम भट्टराई, अशोक राई कम्युनिष्ट पृष्ठभूमिका हुन् ।

जनता समाजवादी पार्टी नेपालले कार्यकारणी समितिका सम्पूर्ण सदस्य तथा पदाधिकरीलाई आजदेखि २४ गतेसम्म पार्टीको सैद्धान्तिक अवधारणाको बारेमा चार दिनको लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । सो प्रशिक्षण कार्यक्रममा पार्टीको सैद्धान्तिक र वैचारिक अवधारणा, पार्टी संगठन र यसको कार्यपद्धति, वर्तमान राजनीतिक अवस्था र अगामी कार्यभारलगायतका विषयमा छलफल हुने पार्टीले जनाएको छ । कार्यकारिणी समितिकाका सदस्य तथा पदाधिकारीहरुलाई पार्टीकै नेताहरुबाट प्रशिक्षण दिइने बताइएको छ । प्रशिक्षण सम्पन्न भएपछि २५ र २६ गते कार्यकारी समितिको बैठक बस्ने र सो बैठकबाट आवश्यक निर्णयहरु लिने बताइएको छ ।

बैठकमा पार्टी समायोजन, कार्यविभाजन, संगठनात्मक कार्ययोजना, राजनीतिक कार्ययोजना लगायत विभिन्न विषयहरुमा छलफल हुने कार्यकारी समितिका सदस्यहरुलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।

बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुनका लागि पार्टीले नाम दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको छ । एक हजार रुपैयाँ तिरेर नाम दर्ता गराएका सदस्यहरु मात्र त्यसमा सहभागि हुन पाउने व्यवस्था गरिएको छ ।

तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भइ जसपा नेपाल बनेको हो । ५१ सदस्यीय कार्यकारिणी समिति बनेको छ । पार्टीमा सबै समायोजनका काम बाँकी नै रहेको छ । पार्टीमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहेका छन् भने डा.बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र महतो वरिष्ठ नेता रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप