
‘फेरि लकडाउन भए अर्थतन्त्र अस्पतालको अर्धजीवित मान्छेजस्तो हुनेछ’
सरकारले बेरोजगारको चाप धान्न सक्दैन

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण पहिलो चरणको लकडाउन खेपेको नेपालमा फेरि दोस्रो चरणको लकडाउनको चर्चा सुरु भएको छ । सरकारले उद्योगधन्दा कलकारखाना खोल्न दिने व्यवस्था गरे पनि पहिलो चरणकै लकडाउनपछि ती व्यवसाय पूर्ण रूपमा चल्न सकेका छैनन् ।
लकडाउनले कतिपयको रोजगारी गुम्यो भने कतिपय आंशिक तलबमै काम गरिरहेका छन् । समग्र देशको अर्थतन्त्र नै नराम्ररी प्रभावित भएर शिथिल भएको अवस्थामा फेरि दोस्रो चरणको लकडाउनको चर्चा सुरु भएको हो ।
सरकारले राजस्व उठाउन नसकेपछि राजस्व उठाउनकै लागि लकडाउन खोल्ने निर्णय गर्यो । तर पुनः लकडाउनको तयारीका लागि प्रधानमन्त्रीले विज्ञसँग छलफल गरेका छन् । विश्वले नै एकै पटक स्वास्थ्य र आर्थिक सङ्कट बेहोर्नु परेकाले गरिबी, बेरोजगारी र आय असमानता बढिरहेको छ ।
दोस्रो चरणको लकडाउन भयो भने स्वरूप कस्तो होला ? त्यसले अर्थतन्त्र मात्र नभई समग्र सर्वसाधरणको रोजीरोटी नै खोसिन सक्ने चिन्ता थपिएको छ । लकडाउन नै नगरी कोरोना नियन्त्रण भएका केही देशको उदाहरणलाई नेपालले पनि अनुसरण गर्नुपर्ने अधिकांशको मत छ । दक्षिण कोरिया मोडलमा लकडाउन नै नगरी कोरोना नियन्त्रण गर्ने विकल्प सरकारसँग छ ।
अर्धजीवित मानिस न मर्न सक्छ न बाँच्न सक्छ, अर्थतन्त्रको हालत पनि त्यस्तै हुने अर्थविद् केशव आचार्य बताउँछन् । लकडाउन रोग नियन्त्रणको भरपर्दो उपाय होइन भन्ने कुरा पहिलो चरणको लकडाउनबाटै स्पष्ट भएको छ । जबकि पहिलो चरणको लकडाउन गर्दा २ वटा कोरोना सङ्क्रमित केश मात्र देखिएको थियो । तर लकडाउनकै बीच एकपछि अर्को गर्दै सङ्क्रमितहरु बढ्दै गए ।
दक्षिण कोरियाले भाइरस सङ्क्रमण तीव्र भएका स्थानमा केन्द्रित भएर नियन्त्रणको प्रयास गर्यो । सो समय अन्य क्षेत्रमा जनजीवन सामान्य अवस्थामै अगाडि बढिरह्योे । अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई आधार मान्ने हो भने दक्षिण कोरियामा गत फेब्रुअरी र मार्चमा देखिएको १४ हजार सङ्क्रमण र तीन सय जनाको मृत्यु त्यहाँको एक धार्मिक सम्प्रदायमा भएको थियो ।
त्यसपछि दक्षिण कोरियाले कोरोना भाइरस सङ्क्रमण रोक्न त्यही उपाय अपनायो, जुन उसले सन् २०१५ मा मध्यपूर्वबाट सुरु भएको श्वास प्रश्वाससम्बन्धी यस्तै प्रकृतिको सङ्क्रमणबाट बच्न अपनाएको थियो । त्यसले नै दोस्रो चरणमा दक्षिण कोरियामा नयाँ सङ्क्रमितको सङ्ख्या धेरै हदसम्म रोकिएको छ ।
न्युयोर्क टाइम्सका अनुसार अर्थतन्त्र बन्द नगरीकन पनि कोरोना नियन्त्रण गर्न सकिन्छ भन्ने पाठ दक्षिण कोरियाबाट सिक्नुपर्छ । यो त लकडाउन नै नगरी रोग नियन्त्रण गरेको उदाहरण मात्र हो । नेपालमा पनि सरकारले लकडाउन भन्दा पनि परीक्षण व्यापक बढाउनुपर्ने आवाज उठिरहेको छ ।
अर्धजीवित बन्न सक्छ अर्थतन्त्र
नेपालमा दोस्रो चरणको लकडाउन भए अर्थतन्त्र अर्धजीवित मानिस जस्तो छटपटाइरहने विज्ञले भनेका छन् । अर्धजीवित मानिस न मर्न सक्छ न बाँच्न सक्छ, अर्थतन्त्रको हालत पनि त्यस्तै हुने अर्थविद् केशव आचार्य बताउँछन् । लकडाउन रोग नियन्त्रणको भरपर्दो उपाय होइन भन्ने कुरा पहिलो चरणको लकडाउनबाटै स्पष्ट भएको छ । जबकि पहिलो चरणको लकडाउन गर्दा २ वटा कोरोना सङ्क्रमित केश मात्र देखिएको थियो । तर लकडाउनकै बीच एकपछि अर्को गर्दै सङ्क्रमितहरु बढ्दै गए ।
भर्खर मात्र खुल्न थालेका पर्यटन क्षेत्र लकडाउन भयो भने बन्द हुनेछन् । सबैभन्दा बढी मारमा परेको यो क्षेत्रबाट सरकारले आम्दानी गुमाउनेछ । अर्थविद् आचार्य सरकारको राजस्व पनि समयमै नउठ्दा सरकारको दैनिकीमै असर पर्ने बताउँछन् ।
‘लकडाउनले समयमा राजस्व नउठ्ने, लकडाउनका कारणले जनताको जीवन निर्वाहमा सङ्कट थप्नेछ । यसमा सरकारले ठूलो रकम खर्च गर्नुपर्ने हुन्छ । पहिलो चरणको लकडाउनबाट तीनदेखि चार खर्ब नोक्सान हुने अनुमान छ । अझै भयो भने यसको स्थिति भयावह हुन सक्छ ।’
अर्का अर्थविद प्राडा डिल्लिराज खनाल सरकारले स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपरिरहेको र लकडाउन हुँदा जनताको हातमुख जोर्नमा पनि ठूलो रकम खर्च गर्नुपर्ने अवस्था आउँने उल्लेख गर्छन् । पुनः लकडाउन हुँदा अर्थतन्त्र सङ्कटमा पर्ने उनको तर्क छ ।
लकडाउन आफैमा नाकाबन्दी हो । अर्कातिर फराकिलो दायराको परीक्षणबिनै लकडाउनको अर्थ छैन । समुदायमा सङ्क्रमण एकै चोटि धेरै फैलिने सम्भावना रहन्छ ।
सरकारले बेरोजगारको चाप धान्न सक्दैन
पहिलो चरणको लकडाउनले धर्मराएको अर्थतन्त्रलाई दोस्रो चरणले अझ सङ्कट पार्ने अर्थविद् प्राडा खनाल बताउँछन् ।
उनी भन्छन्, ‘लकडाउनले समयमा राजस्व नउठ्ने, लकडाउनका कारणले जनताको जीवन निर्वाहमा सङ्कट थप्नेछ । यसमा सरकारले ठूलो रकम खर्च गर्नुपर्ने हुन्छ । पहिलो चरणको लकडाउनबाट तीनदेखि चार खर्ब नोक्सान हुने अनुमान छ । अझै भयो भने यसको स्थिति भयावह हुन सक्छ ।’
‘सरकार केही समय लकडाउन गर्न चाहन्छ भने सो समयमा व्यापक परीक्षण गरेर रोग नियन्त्रण गर्न सक्ने क्षमता राख्नुपर्छ । लकडाउन नै रोग नियन्त्रणको विकल्प सोचेर बस्नु हुँदैन’, उनले भने ।
अर्का अर्थविद् आचार्य लकडाउनले सरकारको सम्पूर्ण आम्दानी गुम्ने र आम जनता व्यापक बेरोजगार बन्नुपर्ने अवस्था आउन सक्ने बताउँछन् । यस्तो अवस्थामा सरकारले बेरोजगारीको चाप धान्न सक्तैन भने आम मानिसको जीवन निर्वाहमै ठूलो रकम खर्च गर्नुपर्ने हुन्छ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को अध्ययनअनुसार लकडाउनका कारण २० लाख नेपालीको रोजगारी सङ्कटमा परेको देखाएको छ । आईएलओले १६ देखि २० लाख नेपालीले लकडाउन सुरु भएदेखि कि त जागिर गुमाएको कि काम गर्ने समयावधिक घटेर आम्दानी गुमाएको भनेको छ । दोस्रो चरणको लकडाउनमा यसको स्थिति झन् भयावह बन्न सक्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
एलिजा उप्रेती
एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् ।
तपाईको ईमेल गोप्य राखिनेछ