मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

खै चेतना हामीमा ? महामारी भुलेर गाईजात्रामा दर्शक ! (फोटो/भिडियो)

मङ्गलबार, २० साउन २०७७, १८ : ३८
मङ्गलबार, २० साउन २०७७

भक्तपुर । देशभरका नेवार समूदायले आज गाईजात्रा पर्व मनाएका छन् । विश्वमा कोरोना भाइरसको महामारी रहेको वर्तमान समयमा त्यो त्रासलाई भुलेर जात्रामा दर्शक हुनेहरुको भीड भक्तपुरमा देखियो ।  इतिहासका पन्नाहरुमा लेखिएका र किंवदन्तीहरुकाअनुसार यसदिन काठमाडौ उपत्यकाबासीहरूले यम् अर्थात् मृत्युका देवता यमराजलाई पूजा गर्ने गर्दछन् ।

भक्तपुर नगरपालिकाले गाईजात्रा पर्वलाई सामान्य हिसावमा मनाउन आग्रह गरेपनि सर्वसाधरणले त्यो कुरालाई मानेनन् । मध्यपुरथिमि, सूर्यविनायकको कटुन्जेलगायतको स्थानमा बाक्लो संख्यामा गाईजात्रा मनाउन सर्वसाधराणहरु भेला भएका थिए । २५ जनाभन्दा धेरै मानिस जम्मा भएर एक स्थानमा भेला हुन नपाउने नीतिलाई वेवास्ता गर्दै हजारौं मानिसहरु दर्शक भएर गाईजात्रा हेरिरहेका थिए । कतिपयले मास्कको प्रयोग गरेपनि सामाजिक दूरी कायम गर्न सकेको देखिँदैन । 

गाईजात्राको इतिहास 

नेवार समुदायले पनि विशेष किसिमले यो जात्रा मनाउने प्रचलन रहेको छ ।  गाई र जात्रा अर्थात् यसदिन माता र पृथ्वीको रुपमा हिन्दू संस्कारमा पूजनीय गाईको जात्रा पनि हो ।  विक्रम संवत् १६४१ पछि राजा प्रताप मल्लको नाबालक छोराको निधनले उनकी रानीलाई परेको वियोगको शोकका कारण विक्षिप्त बनिन् ।

राजाले आफुले नाबालक छोरा गुमाएको पछि प्रजालाई समेत त्यस वर्षभरिमा राज्यमा मृत्यू भएका आफन्तलाई गाईसहित दरबार अगाडिबाट रानीले देख्नेगरि जात्रा निकाल्न आह्वान गरेको इतिहास रहेको छ ।  उनले छोरा, आमा, बुवा लगायतका अन्य पारिवारिक सदस्य गुमाएको पीडालाई सम्मानसहितको सम्झना गरेको अनुभूति गरिन् । राजाले उक्त जात्रामा बिभिन्न ठट्टा, चटक र ब्यङ्गहरु पनि समावेश गर्न जनतालाई प्रोत्साहन गरेको हुँदा रानीले उक्त कुराहरु हेरेर सम्पूर्ण पीडा बिसाएर फोहोरा छोडेर हाँसेकी समेत थिइन् ।

भक्तपुरमा मनाइने गाईजात्राको प्रमुख आकर्षण भनेको घिन्ताङघिसी नाच हो । भक्तपुरमा आठ दिनसम्म चल्ने यस पर्वको छुट्टै रौनक र आकर्षण छ ।  जहाँ एक वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाको साँचा अर्थात डोकोलाई गाईको रुपमा सिंगारेर नगर परिक्रमा गरिन्छ भने उमेर पुगेका व्यक्तिहरुको ताहामच्चा अर्थात चारवटा बाँस प्रयोग गरी गाईको प्रतिक बनाई नगर परिक्रमा गरिन्छ ।

 घिन्ताङघिसीको साथै माँक प्याखँ अर्थात् बाँदर नाच यहाँको अर्को विशेषता हो । मृतकको सुकीर्ति झल्काउने करुण रसयुक्त गीति लीला रामायणसमेत प्रदर्शन गर्ने चलन छ । तर, यो वर्ष भने यी नाँचहरु देखाइएन् । गाई वा ताःमचा वनाई परिक्रमा गर्ने क्रम रोकिएन् । 

गाई वा ताःमचा वनाई नगर परिक्रममा गराउनेलाई श्रद्धालुहरुले फलफूल, रोटी, चिउरा दहीका साथै अन्न र द्रव्य दान गर्दछन् ।  गाइजात्राको अवसरमा तलेजु स्थानवाट कुखुरा नबास्दै पहिलो तलेजुको ताहामचा वनाई नगर परिक्रमा गराइन्छ । त्यसपछि मृतक आफन्तको सम्झनामा उनीहरुको प्रतिक ताहामचा बनाई नगर परिक्रमा गरिन्छ । 

वर्र्षभरि दिवंगत भएकाहरुको सम्झनामा परिवारजनले बालकलाई गाईको प्रतिकको रुप दिएर शहर परिक्रमा गराउने चलन छ ।  यसो गर्दा दिवंगत व्यक्तिले बैतर्णी सजिलै तर्नसक्ने र परलोकमा मोक्ष मिल्ने धार्मिक विश्वास रहेको छ । पछिल्लो समय गाईजात्रालाई मनोरञ्जनको रुपमा समेत लिईंदै आएको छ । यो पर्वको उपलक्ष्यमा सरकारले उपतयकामा सार्वजनिक विदा दिएको छ । 

हामीमा चेतना खैं ? 

पछिल्लो २४ घण्टामा उपत्यकामा ६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंका ४८, भक्तपुरका १३ र ललितपुरका १ जना रहेका छन् । पछिल्लो २४ घण्टामा उपत्यकाका ६२ सहित २५९ जना संक्रमित  थपिका हुन् । 

मंगलबार मात्र भक्तपुरमा १३ जना संक्रमित थपिएपनि आमसर्वसाधरण भने त्यसलाई कुनै पर्वाह नगरि आज मनाईने गाइजात्राको दर्शक बनेका थिए ।  स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजारका अनुसार सोमबारसम्म भक्तपुरमा ६६ जनालाई कोरोना संक्रमण भइसकेको छ ।  मंगलबारको संख्या थपिदा हालसम्म ७९ जनालाई कोरोना देखिएको हो ।  २९ महिला र २१ पुरुष संक्रमित भने निको भएको छन् । 
तर, स्थानीय समुदायले भने संघीय सरकारले स्थानीय सरकारको निर्देशनलाई उल्लघंन गरिरहेका देखिन्छ । 

शोक परेको घरका मानिसमात्र भएर स्वास्थ्य सुरक्षाका उपाय अपनाउदैं भक्तपुरमा गाईजात्रा मनाउने प्रयास यो वर्ष हुन सकेन । दर्शकको रुपमा जम्मा हुने र विगतमा जस्तै गरेर जात्रा मनाउँदा भक्तपुरका कोरोनाको जोखिम झन् बढ्ने देखिन्छ । धर्म संंस्कृतिलाई जोगाउन हामीले ध्यान दिँदैं महामारीको समयमा सचेत हनुपर्दछ । कोरोना संक्रमण फैलिन नदिने दायित्व राज्यको मात्र नभएर हामी आम नागरिकको पनि हो । यसतर्फ सबैले ध्यान दिन जरुरी छ । 

भिडियोः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप