शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा बाढी-पहिरोः ५ जिल्लामा अनुमानित ८ करोड ९० लाख क्षति

मङ्गलबार, २० साउन २०७७, १७ : ५२
मङ्गलबार, २० साउन २०७७

पोखरा । अविरल वर्षाका कारण आएको बाढी पहिरोले गण्डकीका ५ जिल्लामा अनुमानित ८ करोड ८० लाख बराबरको क्षति भएको छ । बाँकी ६ जिल्लाको क्षति विवरण भने आईसकेको छैन ।  भूमि, कृषि तथा सहकारी मन्त्रालय गण्डकीका निमित्त सचिव गंगालाल पोखरेलका अनुसार गण्डकीका पाँच जिल्ला पर्वत, तनहूँ, गोरखा, लमजुङ र म्याग्दीमा अविरल वर्षाका कारण आएको आएको बाढीपहिरोले पुरिएर बाली नष्ट भएको छ । 

उनका अनुसार अविरल वर्षाका कारण आएको बाढीले पर्वतको कुश्मामा १ दशमलव २७ हेक्टर क्षेत्रफलमा लगाइएको धान बाली नष्ट गरेको छ । कृषि ज्ञान केन्द्रमार्फत आएको विवरणअनुसार बाढीले पर्वतमा अनुमानित १ लाख २८ हजार ९ सय ३० रुपैयाँ बराबरको क्षति पु¥याएको छ ।

यसैगरी, तनहूँको म्याग्दे गाउँपालिका, भीमाद, व्यास, शुक्लागण्डकी नगरपालिकाको  ६ सय हेक्टरमा लगाइएको धान बालीमध्ये ६ सय हेक्टरमा लगाइएको धान बाली  पूर्ण रुपमा क्षति पुगेको छ भने बाँकी २ सय हेक्टर आंशिक रुपमा क्षति भएको छ । वर्षाका कारण तनहूँमा लगाइएको धान बाली पुरिदा अनुमानित ६ करोड ३१ लाख ६८ हजार रुपैयाँ बराबरको क्षति भएको उनले सुनाए । 

गोरखामा गोरखा नगरपालिका वडा नम्बर १०, ११, १२ मा १०१.७४ हेक्टर जमिनमा लगाइएको धान बालीमा क्षति  पुगेको छ । नगरपालिकाका ३ वटा वडामा लगाइएको धान बाली वर्षाका कारण पुरिँदा १ करोड ७ लाख ११ हजार १८७ रुपैयाँ बराबरको अनुमानित क्षति भएको उनले बताए ।

यसैगरी, गोरखाकै सहिद लखन गाउँपालिकाको वडा नम्बर २, ६ र ९ मा ७६.३१ हेक्टर जमिनमा लगाइएको धान बाली वर्षाका कारण पुरिँदा  अनुमानित ७७ लाख ४९ हजार ६६० रुपैयाँ बराबरको क्षति भएको छ । पालुङटार नगरपालिकामा वडा नम्बर ९ र १० पनि ७६.३१ हेक्टर जमिनमा लगाइएको धान बाली पुरिँदा ७७ लाख ४९ हजार ६६० रुपैयाँ बराबरको अनुमानित क्षति भएको छ । 

लमजुङको बेशिंसहर नगरपालिका वडा नम्बर ३ मा ०३ हेक्टर मा लगाइएको धान बाली पुरिँदा ३ लाख १५ हजार ८४० र मस्र्याङ्दी नगरपालिकामा ०२ हेक्टर क्षेत्रफलमा लगाइएको धान बाली पुरिदा अनुमानित २ लाख १० हजार ५६० रुपैयाँ बराबरको क्षति भएको छ । लमजुङकै सुन्दरबजार नगरपालिकामा ०३ हेक्टर क्षेत्रफलमा लगाइएको धान बाली नष्ट हुँदा अनुमानित ३ लाख १५ हजार ८४०, मध्यनेपाल र राइनासमा ०२ हेक्टर अनुमानित क्षति २ लाख १० हजार ५६० रुपैयाँ बराबरको क्षति भएको छ । 

म्याग्दीको धवलागिरी नगरपालिका ०६ र ७ मा ०७ हेक्टर, मालिका गाउँपालिका वडा नम्बर ५ मा ०८ हेक्टर क्षेत्रफलमा लगाइएको कोदो, मकै, धान, सुन्तला र  केरा बाली नष्ट भएको उनले सुनाए । यसबारे क्षतिको अनुमानित विवरण भने आइसकेको छैन । 

प्राप्त विवरणअनुसार ९५५ हेक्टर जमिनमध्ये १ हजार हेक्टर खेतीयोग्य जमिनमा क्षति पुगेको उनले सुनाए । बाँकी जिल्लाका खेतीबालीमा बाढी पहिरोले पु¥याएको क्षतिको विवरण पनि लिने प्रयास भइरहेको उनले बताए । 

सार्वजनिक विकास तथा लेखा समितिले मंगलबार भूमि, कृषि तथा सहकारी मन्त्री सहितको सहभागीतामा डाँकेको छलफलमा उनले यो विवरण पेश गरेका थिए ।  मन्त्री लेखबहादुर थापामगरले आफ्नो मातहतका कार्यालयबाट क्षति विवरण लिएर सक्दो चाँडो किसानहरुलाई राहत वितरण गर्ने बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप