शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

देवदहको शरन खोलामा पुल नहुँदा स्थानीयवासीलाई वर्षामा आपत्

मङ्गलबार, २० साउन २०७७, १५ : ४९
मङ्गलबार, २० साउन २०७७

बुटवल । प्रदेश ५ को राजधानी बुटवलबाट नजिकै रहेको रुपन्देहीस्थित देवदह नगरपालिकाको शरनटाँडीमा वर्षा लागेसँगै आपतका दिन सुरु हुन्छन् ।
देवदह–६ को शरनटाँडी गाउँ पुग्न देवदह घोडाहबाट दुईवटा बाटा छन् । तर ती दुवै बाटामा शरन खोला पर्दछ । उक्त खोलामा पुल नहुँदा वर्षा याममा स्थानीय बासिन्दाको दैनिकी नै प्रभावित हुने गर्दछ ।
हिउँदमा खोला सानो भए पनि वर्षामा भेल आउने हुँदा शरनटाँडीवासीको आवतजावत नै रोकिन्छ । अर्थात् वर्षाको समयमा शरनटाँडीवासीको सडक सम्पर्क बुटवल र देवदहसँग टुट्न पुग्छ । पुल नबन्दा वर्षौंदेखि वर्षायाममा यस्ता आपत व्यहोरिरहनु परेको स्थानीयबासीको गुनासो छ । 

वर्षायाम शुरु भएसँगै उक्त खोला हुँदै सवारी साधन चल्न नसक्दा बिरामी हुँदा उपचार गर्न वा सामान किनमेलका लागि बजार जान समस्या हुने गरेको स्थानीय युवा क्लबका संयोजक लोकेन्द्र जर्घा मगरले बताए । 
पुरानो बस्ती भए पनि पुल निर्माणमा सरकारी निकायको ध्यान नजाँदा बर्षाको समयमा अत्यावश्यक पर्दा जोखिम मोलेरै हिँड्नु पर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ । बेला–बेलामा खोला तर्दा मान्छे र गाईबस्तु समेत बगाउने गरेको स्थानीय दुर्गा आले मगरको भनाइ छ ।

देवदहको घोडाहादेखि उत्तरमा पूर्व–पश्चिम राजमार्गबाट तीन किलोमिटरको दुरीमा रहेको शरनटाँडीमा डेढ सय बढी घरधुरीको बसोबास छ । एउटा विद्यालयसमेत रहेको उक्त ठाउँलाई कृषि अर्ग्यानिक पकेट एरिया बनाउन विभिन्न निकायले पहल गरेसँगै स्थानीयहरु बेमौसमी तरकारी, फलफुल खेतीमा ध्यान दिन थालेका छन् ।
स्थानीय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका धनबहादुर राना भन्छन्, ‘धेरै सम्भावना रहेको ठाउँमा राज्यले सानो भए पनि पुल बनाइदिनु पर्छ, पुल नहुँदा वर्षामा सारै दुःख पाइन्छ ।’ आपत–विपद् पर्दा पुलिस प्रशासनसमेत वर्षामा जान नसक्ने, औषधोपचारका लागि बाहिर जानुपर्दा वर्षामा भेल तर्न नसक्ने अवस्था रहेको उनको भनाइ छ ।  
पक्की पुल नभएकै कारण खोला तर्ने क्रममा चार वर्षअघि बगेर गाउँकै एक महिलाको ज्यान गएको स्थानीयवासी बताउँछन् ।

स्थानीय युवा क्लवका संयोजक लोकेन्द्र जर्घा मगरले खोलामा पक्की पुलको योजना पार्न पटकपटक आग्रह गरे पनि सफल हुन नसकेको गुनासो गरे । स्थानीय तह, प्रदेश वा संघमध्ये जुन तहबाट भए पनि पुल छिटो बनाइदिन उनले आग्रह गरे । 

शरनटाँडी गाउँलाई देवदह नगरपालिकाले अर्गानिक तरकारी उत्पादनको पकेट क्षेत्र घोषणा गरेको छ । शरनकाली कृषि सहकारी संस्थाका अध्यक्ष मानबहादुर गाहा पुल नहुँदा वर्षायाममा उत्पादन हुने तरकारी बिक्री गर्न कठिन हुने बताउँछन् ।

उनले हालै पनि कटहर टिपेर बजार लैजाने बेला खोला बढेपछि गाउँमै गाईबस्तुलाई खुवाउनु परेको बताए । 
देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले चालु आर्थिक वर्षमा प्रदेश सरकारले शरन खोला र वडा नं. ११ को महाउ खोलामा गरी दुई वटा पक्की पुल बनाउन प्रकृया अगाडि बढाएको बताए । उनले स्थानीयवासीको समस्याप्रति नगरपालिकाको ध्यान गएकाले छिटै पुल बन्ने जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप