शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युवा दिवस साताव्यापी रुपमा मनाइने

मङ्गलबार, २० साउन २०७७, १५ : २३
मङ्गलबार, २० साउन २०७७

काठमाडौं । राष्ट्रिय युवा परिषद्ले साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी यस वर्ष अन्तरराष्ट्रिय युवा दिवस देशभरि नै मनाउने भएको छ ।  युवा नेतृत्व विकास गर्नका लागि साताव्यापी विभिन्न कार्यक्रम गरी दिवस मनाउन थालिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले आज आयोजित भर्चुअल पत्रकार सम्मेलनमा जानकारी दिए ।

कोभिड–१९ का कारणले दिवसको मुख्य दिन भने भर्चुअल रुपमा संसारभरिका युवालाई समेट्ने गरी दिवस मनाइने उनले बताए । ‘विश्व अभियानका लागि युवा सहभागिताः रोजगारी प्रवद्र्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने मूल नाराका साथ यही साउन २८ गते दिवस मनाउन थालिएको छ । 

दिवस मनाउनका लागि युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको संयोजकत्वमा २०१ सदस्यीय मूल समारोह समिति र परिषद्का कार्यकारी उपाध्यक्ष ढुङ्गेलको संयोजकत्वमा नौ सदस्यीय सचिवालय गठन गरिएको छ ।  दिवसका दिन हुने कार्यक्रममा संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि एवं चीन भारत, श्रीलङ्का तथा बङ्गलादेश युवा संस्थाका पदाधिकारीले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको परिषद्का सूचना अधिकारी ध्रुवराज पौडेलले बताए ।

दिवसकै दिन ‘दिगो विकासका लक्ष्य र युवा’ विषय तथा ‘युवा राजनीति र रोजगारी’ विषयमा युवा नेतृत्वसँग  संवाद कार्यक्रम राखिएको छ ।  यस्तै सोही दिन राष्ट्रिय कलाकारले सांस्कृतिक कार्यक्रमसमेत गर्ने छन् । दिवसका अवसरमा साउन २३ गते निबन्ध लेखन प्रतियोगिता, २४ गते रक्तदान (चाबहिल र कलङ्की) र वृक्षरोपण (सूर्यविनायक), २५ गते भिजन प्रतियोगिता, २६ गते भोजन सेवा कार्यक्रम (चाँगुनारायण) र कोभिड–१९ लक्षित स्वयंसेवकलाई अभिमुखीकरण कार्यक्रम राखिएको  परिषद्का सूचना अधिकारी पौडेलले जानकारी दिए ।

राष्ट्रिय जनगणना २०६८ का अनुसार नेपालको कूल जनसङ्ख्यामध्ये ४०.३ प्रतिशत युवा छन् । युवाका विषय सम्बोधन गर्ने हेतुले  राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्ष अगष्ट १२ (यस वर्ष साउन २८) लाई अन्तरराष्ट्रिय युवा दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सोही घोषणासँगै युवासम्बन्धी विभिन्न चेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरी सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवस मनाउन थालिएको हो । 

नेपालमा भने सन् २००४ देखि युवाका क्षेत्रमा काम गर्ने विभिन्न गैरसरकारी संस्थाको आयोजनामा कार्यक्रम मनाउन थालिएको हो । परिषद्ले सन् २०१६ देखि दिवस मनाउन थालेको हो ।  परिषद्का प्रशासकीय प्रमुख डा.बाबुराम ढुङ्गानाले सात प्रदेशका सामाजिक विकास मन्त्रालय र सबै स्थानीय तहलाई दिवस मनाउन निर्देशन दिइएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप